शक्ति परीक्षण

स्थानीय सरकारको दोस्रो कार्यकालका लागि शुक्रवार सम्पन्न निर्वाचनको मत गणना कार्य चलिरहेको छ । मतदान स्थगित भएका केहीबाहेक कर्णाली प्रदेशका सबैजसो पालिकामा यतिबेला गणना जारी छ । केही पालिकाको अन्तिम परिणाम पनि सार्वजनिक भइसकेको छ । हालसम्मको मत परिणाम हेर्दा कर्णाली प्रदेशभर त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको हो । प्रदेशका केही पालिकामा दलहरूले चुनावी तालमेल गरेका छन् भने केहीमा एक्ला–एक्लै प्रतिस्पर्धा गरेका छन् । पालिकादेखि वडासम्म मुख्य तीन दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा छ । तथापी केही वडामा भने स्वतन्त्र उम्मेदवारका साथै नेपाल मजदुर किसान पार्टी र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरू पनि विजयी भएका छन् ।

पाँच वर्षअघिको निर्वाचन परिणामलाई आधार मान्दा कर्णाली प्रदेशमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को शक्ति बराबरजस्तै छ । २०७४ को स्थानीय तह निर्वाचनमा प्रदेशका ७९ मध्ये एमालेले २७ पालिका र कांग्रेस तथा माओवादी केन्द्रले समान २५÷२५ पालिका जितेका थिए । यसपटकको मतगणनाको सुरुवाती रूझानले पनि कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । वडादेखि पालिकासम्म तीन दलबीच नै तीव्र प्रतिस्पर्धा छ । प्रदेशका तीन वटा पालिकामा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । आइतवार साँझसम्म थप चार वटा पालिकाको परिणाम आउँदा नेकपा (माओवादी केन्द्र) ले तीन, र नेपाली कांग्रेसले एउटा पालिका जितेको छ । एकीकृत समाजवादी दुई र एमालेले एक गरी यसअघि तीन पालिकामा निर्विरोध भएको थियो । हुन त मतगणनाको यो सुरुवाती चरण नै हो । यद्यपि प्रारम्भिक रुझानको संकेत र सन्देश भने विगतकै प्रमुख दलबीचको प्रतिस्पर्धालाई देखाउँछ ।

नेकपा (एमाले) बाट टुक्रिएर बनेको एकीकृत समाजवादी पहिलो पटक चुनावी प्रतिस्पर्धामा छ । कर्णालीमा एमालेका केही प्रभावशाली नेताहरू सहमाजवादीमा गएका कारण स्थानीय निर्वाचनमा उसको बलियो उपस्थिति हुनसक्ने आँकलन थियो । तर सुरुवाती नतिजा भने समाजवादीको पक्षमा आएको छैन । अर्कोतर्फ नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत विगतदेखि नै प्रतिस्पर्धा गर्दै आएका राजनीतिक दलहरू यसपटक पनि कमजोर नै देखिएका छन् । उनीहरूले विगतको कमजोर अवस्थामा सुधार गर्न सकेको देखिँदैन । यसले गर्दा पनि माओवादी, एमाले र कांग्रेसकै वरीपरी निर्वाचन परिणाम केन्द्रित हुने भएको हो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ०५:०३