कर्णालीका सात पालिकाको मत परिणाम सार्वजनिक

माओवादीले तीन, समाजवादीले दुई तथा एमाले र कांग्रेसले लिए एक/एक पालिकाको नेतृत्व

सुर्खेत: स्थानीय तह निर्वाचनको आइतवार साँझसम्मको मत परिणामअनुसार कर्णाली प्रदेशमा ७ वटा पालिकामा नेतृत्व चयन भएको छ । निर्विरोध भएका तीनसहित ७ पालिकाको निर्वाचन नतिजा सार्वजनिक भएको हो । प्रदेशका ७९ मध्ये अधिकांश पालिकामा मतगणना जारी छ भने केहीमा मतदान स्थगित भएका कारण गणना सुरु हुन सकेको छैन । प्रदेशका डोल्पा, हुम्ला र दैलेखका केही पालिकाको निर्वाचन नतिजा सार्वजनिक भएको छ ।

डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट यसअघि नै निर्विरोध नेतृत्व चयन भएको थियो । काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध भएका हुन् । यी दुवै २०७४ को स्थानीय तह चुनावमा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए । उनीहरू एमाले विभाजपछि एकीकृत समाजवादी बनेका थिए । त्यस्तै, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पनि समाजवादीकै पेमा वाङ्जु गुरूङ निर्विरोध भइसकेकी छन् । डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्डुक गुरूङ निर्विरोध भएका छन् ।

निर्विरोध नेतृत्व चयन भएकाबाहेक डोल्पाका अरू पालिकामध्ये शनिवार जगदुल्ला गाउँपालिकाको नतिजा सार्वजनिक भएको थियो । जगदुल्लामा माओवादी केन्द्रका उम्मेदवार नारसिं रोकाया सात ७० मतसहित अध्यक्ष निर्वाचित भएका छन् । उक्त पालिकामा उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमृता बोहरा सात सय ५९ मत ल्याएर निर्वाचित भएकी हुन् । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुवेदी निर्वाचित भएका छन् । यो पालिकाको नतिजा आइतवार आएको हो । सुवेदीले तीन हजार दुई सय मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल थियो । २०७४ को स्थानीय चुनावमा जिल्लाभर एउटा सदस्यमात्र जितेको माओवादीले यसपालि कांग्रेस र एमालेलाई हराउँदै नौमुलेमा नेतृत्व लिन सफल भएको हो । नौमुलेको उपाध्यक्षमा समाजवादीका गंगबहादुर शाही निर्वाचित भएका छन् ।

त्यस्तै, हुम्लाको खार्पुनाथमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । अध्यक्षमा कर्णबहादुर रावल एक हजार आठ सय १० मत ल्याएर विजयी भएका हुन् । खार्पुनाथमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल थियो । उक्त पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह निर्वाचित भएका छन् ।

हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का लालकेश जैसी विजयी भएका छन् । उनले एक हजार आठ सय १० मत पाएका छन् । एमालेका अजमल बुढाले नौ सय ९५ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार तीन सय ९१ मतले निर्वाचित भएका छन् ।​ प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले चार सय ७७ मत पाए । ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको थियो ।

यस्तै १, २, ४ र ५ नम्बर वडाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार १९:२८