नौमुलेमा माओवादीका छविराम सुवेदी निर्वाचित

दैलेख : दैलेखमा नेकपा(माओवादी केन्द्र)ले पहिलो पटक पालिका अध्यक्ष जितेको छ । जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का छविराम सुवेदी विजयी भएका हुन् ।

सुवेदीले तीन हजार दुई सय मत पाउँदा  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले दुई हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् । बुढामगर निवर्तमान अध्यक्ष हुन् । नेकपा (एमाले)का शशीराम विश्वकर्माले एक हजार नौ सय २० मत पाए ।

नौमुलेमा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको थियो ।

पालिका उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय पाँच र एमालेकी गीता चन्दले एक हजार नौ सय १८ मत प्राप्त गरिन् ।

आठ वटा वडा रहेको नौमुले गाउँपालिकामा पाँच वटा नेपाली कांग्रेस, दुई वटा  एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नौमुले गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेश थापामगर, वडा नं. २ मा कांग्रेसका दुर्गप्रसाद शर्मा, वडा नं. ३ मा एमालेका नरबहादुर पुरी, वडा नं. ४ मा कांग्रेसका चन्द्रलाल बस्नेत, वडा नं. ५ मा एकीकृत समाजवादीका कृष्णबहादुर सलामी, वडा नं.  ६ मा कांग्रेसका लालबहादुर चन्द, वडा नं.  ७ मा कांग्रेसका टेकबहादुर सिँजाली मगर र वडा नं. ८ मा एकीकृत समाजवादीका दिपकबहादुर हमाल विजयी भएका छन्।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार ११:०६