कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत: स्थानीय तहको शुक्रवार सम्पन्न निर्वाचनको मत गणना जारी छ । हालसम्मको मत परिणाम हेर्दा कर्णाली प्रदेशभर त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको हो ।

प्रदेशका केही पालिकामा दलहरूले चुनावी तालमेल गरेका छन् भने केहीमा एक्ला–एक्लै प्रतिस्पर्धा गरेका छन् । आइतवार विहानसम्म प्रदेशका दुई वटा पालिका र केही वडाहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जितेको छ । त्यहाँ माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाया विजयी भएका छन् । उनले सात सय ७० मत पाएका छन् । उनका प्रत्यासी एमालेका हेमबहादुर महताराले भने सात सय ४६ मत पाएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमरिता बोहोरा निर्वाचित भएकी छन् । माओवादीकी बोहोराले सात सय ५९ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुँदा एमालेकी चन्द्रावति थापाले सात सय ४९ मत ल्याएकी छन् । ६ वटा वडा रहेको गाउँपालिकामा नेकपा एमालेले तीन, माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडामा अध्यक्ष जितेको छ ।

यस्तै दैलेखमा नेकपा(माओवादी केन्द्र)ले पहिलो पटक पालिका अध्यक्ष जितेको छ । जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का छविराम सुवेदी विजयी भएका हुन् ।

सुवेदीले तीन हजार दुई सय मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले दुई हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् । बुढामगर निवर्तमान अध्यक्ष हुन् । नेकपा (एमाले)का शशीराम विश्वकर्माले एक हजार नौ सय २० मत पाए ।

नौमुलेमा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको थियो ।

पालिका उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय पाँच र एमालेकी गीता चन्दले एक हजार नौ सय १८ मत प्राप्त गरिन् ।

आठ वटा वडा रहेको नौमुले गाउँपालिकामा पाँच वटा नेपाली कांग्रेस, दुई वटा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।

दैलेखमा पहिलो पटक माओवादी विजयी

दैलेखमा माओवादीले पहिलो पटक वडा अध्यक्ष र पालिका अध्यक्ष जितेको हो । नौमुले गाउँपालिका अध्यक्षका साथै डुङ्गेश्वर गाउँपालिका–१ को वडा अध्यक्ष जितेको छ। उक्त वडामा माओवादी केन्द्रका उम्मेदवार श्याम राना विजयी भएका हुन् । यो वडामा माओवादीसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भएको थियो । वडामा अध्यक्षसहित गठबन्धनको प्यानल नै विजयी भएको हो । २०७४ को स्थानीय निर्वाचनमा माओवादीले दैलेखमा कुनै पनि वडा र पालिका जित्न सकेको थिएन ।

वडामा नेमकिपाको जित

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको एउटा वडामा नेपाल मजदुर किसान पार्टीले जितेको छ । नगरको वडा नं. १ मा नेपाल मजदुर किसान पार्टीका उदय कामी विजयी भएका हुन् । उनले तीन सय १७ मत प्राप्त गरेका छन् । आफ्ना प्रस्तिपर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई चार मतले पछि पार्दै उनी वडा अध्यक्षमा विजयी भएका छन् । शाहीले तीन सय १३ मत ल्याएका छन् । उक्त वडामा नेकपा ‐एमाले) का लछिराम केसीले दुई सय ९६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र प्यानल निर्वाचित

रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । अध्यक्षमा सुन्दर ओली विजयी भए । कूल एक हजार एक सय १४ मत खसेकोमा उनले पाँच सय ७७ मत प्राप्त गरे ।

नेकपा (माओवादी केन्द्र) का लक्ष्मण ओलीले चार सय १७ मत पाउँदा नेपाली कांग्रेसका मुस्कान ओलीको पक्षमा ४४ मत मात्र खसेको छ । वडा सदस्यमा पनि स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन् ।

 

तीन दलको शक्ति परीक्षण

पाँच वर्षअघिको निर्वाचन परिणामलाई आधार मान्दा कर्णाली प्रदेशमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को शक्ति बराबरजस्तै छ । २०७४ को स्थानीय तह निर्वाचनमा प्रदेशका ७९ मध्ये एमालेले २७ पालिका र कांग्रेस तथा माओवादी केन्द्रले समान २५/२५ पालिका जितेका थिए ।

यसपटकको मतगणनाको सुरुवाती रूझानले पनि कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । वडादेखि पालिकासम्म तीन दलबीच नै तीव्र प्रतिस्पर्धा छ ।

प्रदेशका तीन वटा पालिकामा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । जसअनुसार डोल्पाको दुई वटा पालिकामा नेकपा (एकीकृत समाजवादी) र एउटामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका हुन् । काइके गाउँपालिकाको अध्यक्षमा समाजवादीका अंगतकुमार राना निर्वाचित भएका हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी निमा बुढा निर्विरोध भइन् ।

छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा पनि समाजवादीका सोनाङ गुरुङ निर्विरोध भए । उपाध्यक्षमा एमालेका कार्मा गुरुङको एकल उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भइन् । जिल्लाकै शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका सुन्दुक गुरुङ निर्वाचित भएका थिए । यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका पेमा गुरुङ निर्विरोध भएकी थिइन् । त्यसबाहेक बाँकी तीन हजार सात सय ४८ पदका लागि शुक्रवार मतदान भएको थियो ।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार ०५:०५