उत्साहजनक निर्वाचन
स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रवार मतदान भयो । देशभर एकसाथ भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखियो । वैशाखको चर्को घाम सहेर मतदाताहरू मतदानको लाइनमा घण्टौ बसे । अर्कोतर्फ मतदानकै समयमा परेको पानी र चलेको हावाहुरीले समेत सतायो । तर मतदाता विचलित भएनन् । मतदान प्रक्रियामा सहभागी भए । प्रतिकूल मौसमका बाबजुद नागरिक सहभागिता र उनीहरूमा देखिएको उत्साहले निर्वाचनप्रतिको आकर्षण देखाउँछ । निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर र महङ्खवपूर्ण प्रक्रिया मानिन्छ । जसमा नागरिक सहभागिता अनिवार्य र अपरिहार्य हुन्छ । यसपटकको स्थानीय तह निर्वाचनमा देखिएको उल्लासमय नागरिक सहभागिताले त्यही सुन्दरतालाई थप पुष्टि गरेको छ ।
मतदान हुनुअघिसम्म अनेक अड्कलबाजी थिए । एकातर्फ राजनीतिक दल र उम्मेदवारहरूप्रतिको वितृष्णाका कारण धेरै नागरिक मतदानमा सहभागी नहुने अड्कल गर्नेको संख्या पनि ठूलै थियो । त्यसमाथि मौसमी प्रतिकूलता । यी दुवै कारणहरूको बीचबाट अहिले अभ्यासरत व्यवस्थाप्रति नागरिक असन्तुष्ट भएका चर्चा र भ्रमहरू पनि फैलाइएका थिए । तर यस्ता सबै अड्कलबाजी र भ्रमहरू चिरिएको छ । यसले व्यवस्थाविरुद्ध बोल्ने र अफवाह फैलाउनेहरूलाई जवाफ पनि दिएको मान्न सकिन्छ । यो व्यवस्था मुलुक हितमा छ । यसको प्रयोगमा भने ध्यान दिनुपर्ने हुन्छ । नागरिक हितलाई सर्वोपरी ठानेर जनप्रतिनिधिहरूले काम गरेको खण्डमा यसप्रकारका भ्रमहरू समाप्त नै हुनेछन् । एकाबिहानैदेखि आधा रात भइसक्दासम्म मतदानका लागि आ–आफ्ना मतदान केन्द्र अगाडि लाइन लागेका मतदाताहरूको दृष्यले त्यही भन्छ ।
मतदान सामान्यतयाः सौहार्द र शान्तिपूर्ण नै रह्यो । केही ठाउँमा भने झडपसहित अप्रिय घटना भए । विवाद देखिए । जसका कारण कतिपय मतदान केन्द्रको मतदान नै स्थगित हुनपुगे । स्थगित भएका मतदान केन्द्रमा निर्वाचन आयोगको निर्णयअनुसार पुनः मतदान हुने नै छ । मतदान सम्पन्न भएका स्थानीय तहहरूमा भने शनिवार विहानैदेखि मतगणना सुरु भइसकेको छ । केही स्थानको अन्तिम नतिजा समेत आइसकेको छ । अबको हप्तादिनमा सबै पालिकाको नतिजा आउनेछ । यो नतिजासँगै आगामी पाँच वर्ष स्थानीय सरकारको नेतृत्व नयाँ जनप्रतिनिधिमार्फत हुनेछ । नेपालको संविधानले अधिकार सम्पन्न स्थानीय सरकारको परिकल्पना गरेको छ । किनभने पालिकामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अभ्यास हुन्छ । त्यसैगरी बजेट बनाउने, कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार पनि छ । नजिकका सरकारका रूपमा हेरिएका स्थानीय तह नागरिकको सबैभन्दा नजिकका सरकार समेत हुन् । त्यसैले आगामी नेतृत्वले जनअपेक्षा बमोजिम काम गर्न प्रतिबद्ध हुनु जरुरी छ ।
प्रकाशित मितिः १ जेष्ठ २०७९, आईतवार ०५:०३
सम्पादकीय ।