पाँच पालिकामा कांग्रेसको अग्रता

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेशका पाँच वटा पालिकामा सुरुवाती अग्रता बनाएको छ । दिउँसो १ बजेसम्मको नतिजाअनुसार कांग्रेसले अग्रता लिएका पालिका यसप्रकार छन् :
१) सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । एक हजार चार सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार लालवीर नेपालीले पाँच सय ५८ मत पाउँदा एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् ।

२) दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ सय ५८ मत गणना हुँदा प्रमुखमा कांग्रेसका गणेशबहादुर शाहीले दुई सय ७० मत प्राप्त गरेका छन् । दोस्रोमा नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा छन् । उनले दुई सय ३० मत पाएका छन् । नेकपा एमालेका सूर्यबहादुर शाहीले एक सय ८० मत पाएका छन् । उप्रमुखमा कांग्रेसका मनसराकुमारी शर्माले दुई सय १६ र एमालेका नन्दाकुमारी विष्टले दुई सय ६ मत ल्याएका छन् ।

३) हुम्लाको खार्पुनाथमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को ७७ मत गणना गर्दा कांग्रेसका अध्यक्ष उम्मेदवार कर्णबहादुर रावलले ६३ मत ल्याएका छन् । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश शाहीले १४ मत पाएका छन् ।

४) रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस–नेकपा एमालेको गठबन्धनले अग्रता कायम राखेको छ । आठ सय ९२ मत गणना हुँदा नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले चार सय ७८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार बसन्त शर्माले तीन सय ३३ मत प्राप्त गरेका छन् । यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल छ ।

५) दैलेखको गुराँस गाउँपालिकामा पनि नेपाली कांग्रेस अगाडि छ । वडा नं. १ को मतगणना सकिँदा कांग्रेसकाका पालिका अध्यक्ष उम्मेदवार खेमराज ओलीले पाँच सय ६४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार टोपबहादुर बिसीले तीन सय ४९ मत पाए ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार १३:०१