माओवादी पाँच, एमाले र कांग्रेस तीन/तीन वडामा विजयी
सुर्खेत : कर्णाली प्रदेशका ११ वटा वडाको मतगणना सकिएको छ । दिउँसो १ बजेसम्मको मतपरिणाम अनुसार पाँच वटा वडा नेकपा (माओवादी केन्द्र)ले जितेको छ भने नेकपा(एमाले) र नेपाली कांग्रेसले तीन/तीन मा जित हात पारेका छन् ।
माओवादीले जितेका वडा
दैलेखमा नेकपा (माओवादी केन्द्र)ले पहिलो पटक वडा अध्यक्ष जितेको छ । डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका माओवादीका उम्मेदवार श्याम राना विजयी भएका हुन् । उनले सात सय ८१ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का लोकबहादुर डाँडीले पाँच सय २४ मत पाए । यहाँ माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । पाँच सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनले २८१ मत आएको छ । उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।
यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् ।
हुम्लाको दुई वटा वडा माओवादीले जितेको छ । ताँजाकोट गाउँपालिका वडा नं. १ र ५ को मतगणना सम्पन्न भएको हो । दुवै वडामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भए । वडा नं. १ को अध्यक्षमा मनलाल रिठाल विजयी भएका छन् । चार सय ५७ मत खसेकोमा उनले दुई सय २३ मत पाए । वडा नं. ५ मा तीन सय ८० मत खसेको माओवादीका मंगल नेपालीले तीन सय सात मत पाएर विजयी भए ।
कांग्रेस तीन वडामा विजयी
नेपाली कांग्रेसले अहिलेसम्म तीन वटा वडा जितेको छ । दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस विजयी भएको हो । वडाअध्यक्षमा कांग्रेसका रुपेशकुमार थापा विजयी भए । उनले चार सय मत पाए ।
दैलेखकै गुराँस गाउँपालिका–१ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल पाँच सय ९५ मत पाए । नेकपा (एमाले)का जंगबहादुर क्षेत्रीले तीन सय ३९ मत प्राप्त गरे ।
त्यसैगरी जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर कठायतले तीन सय १४ मत पाएर निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका लोकबहादुर कठायतले दुई सय ४३ र नेकपा एमालेका विरमान सार्कीले ८६ मत पाएका छन् ।
एमाले पनि तीनमा विजयी
नेकपा(एमाले)ले पनि तीन वटा वडा जितेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका कणर्बहादुर थापाले चार सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यसैगरी दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा सर्वराज सार्कीले ६ सय ९२ मत ल्याएर विजयी भए । कांग्रेसका सूर्यराम सावदले ६ सय ३६, माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएका छन् ।
यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–९ मा पनि एमालेको प्यानलनै विजयी भएको छ । गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले तीन सय ७७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेद्वार कर्णबहादुर मताराले दुई सय ६२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मितिः ३१ बैशाख २०७९, शनिबार १३:०७
साझा बिसौनी ।