ब्लड बैंक स्थापना

सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा ब्लड बैंक स्थापना गरिएको छ । अस्पताल हाताभित्र आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याइएको हो । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै अस्पताल निर्देशक डा. डम्बर खड्काले अस्पतालले आफ्नै ब्लड बैंक स्थापना गरेको जनाए । ‘हामीले अस्पताल हाताभित्र ब्लड बैक स्थापना गरेका छौँ,’ उनले भने, ‘यसले रगत अभावका कारण उपचारमा हुने समस्या टर्ने छन् ।’ अस्पतालमा रगत संकलन गरेर राख्ने व्यवस्था नहुँदा उपचारमा कठिनाइ हुने गरेको थियो । प्रदेश अस्पतालमा आवश्यक पर्ने रगत नेपाल रेडक्रस सोसाइटीले पूर्ति गर्दै आएको थियो । नर्सिङ दिवसका अवसरमा बिहीवार गरिएको बृहत रक्तदान कार्यक्रममा ७० जनाले रगत दान गरेका छन् । अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारीहरूबाट ३४ पिन्ट रगत संकलन भएको हो । संकलित रगत अस्पतालले सञ्चालनमा ल्याएको ब्लड बैंकमा राखिने जनाइएको छ ।

यसैबीच, सुर्खेतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूहरूको पेसागत व्यवस्थापन उचित हुन नसकेको गुनासो गरेका छन् । नर्सिङ दिवसको अवसर पारेर प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । योग्यताअनुसारको रोजगारी र क्षमताअनुसारको पारिश्रमिक नपाउने समस्या रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७९, शुक्रबार ०५:०२