नागरिक फैसला

आज वैशाख ३० गते, स्थानीय तहको निर्वाचन हुने दिन । देशभरका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले आफ्नो मत दिनेछन् । नागरिक मतबाट सात सय ५३ स्थानीय तहमा ३५ हजार दुई सय २१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । अर्थात् स्थानीय सरकारले नयाँ नेतृत्व पाउनेछन् । पाँच वर्षअघि अर्थात् २०७४ वैशाख ३१ गते पहिलो पटक स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गरे । उनीहरूको कार्यकाल सकिँदैछ । आज हुने निर्वाचनबाट छनोट हुने प्रतिनिधिले अबको कार्यकाल नेतृत्व गर्नेछन् ।

जताततै निर्वाचनको रौनक छ । मतदातामा उत्साह छ । हरेक स्थानीय तहमा हजारौंको संख्यामा नयाँ मतदाता थपिएका छन् । पहिलो पटक मतदानमा सहभागी हुँदै गरेका नयाँ मतदातामा बेग्लै उत्साह छ । अधिकांश भने अघिल्लो निर्वाचनमा सहभागी मतदाता नै हुनेछन् । हुन त स्थानीय निर्वाचन विगतमा पनि हुन्थ्यो । त्यतिबेला स्थानीय निकाय थिए । जसका लागि जनप्रतिनिधि चयन गर्न मतदान गर्नुपथ्र्यो । समयसँगै मुलुकको राजनीतिक व्यवस्था बदलिएको छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासमा मुलुक छ । यसका आफ्नै महङ्खव र विशेषता छन् । केन्द्रीकृत शासन र अधिकार विकेन्द्रीकरण भएको छ । अहिलेका स्थानीय सरकार विगतका स्थानीय निकायकै निरन्तरता होइनन् । स्थानीय सरकार अधिकारसम्पन्न छन् । यिनको संरचनागत र अधिकार क्षेत्रका हिसाबले पनि फरक हुन् । त्यसैले निर्वाचनको ऐतिहासिकता बढेको छ ।

निर्वाचन केवल मतदान प्रक्रिया मात्रै पनि होइन । मतदानको महङ्खव छ । यसले जनप्रतिनिधि त छान्छ नै सँगसँगै सरकार सञ्चालनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय समेत गर्दछ । नागरिकको सेवा गर्ने र विकास निर्माणको पहलकदमी गर्नसक्ने नेतृत्व स्थानीय सरकारमा आवश्यक हुन्छ । त्यसैले नागरिक मत विवेकपूर्ण हुन जरुरी मानिन्छ । विगतका जनप्रतिनिधिहरूको कार्यसम्पादनको मूल्यांकनले पनि नागरिकलाई आफ्नो मतको निर्णय गर्न पक्कै सघाउनेछ । निर्वाचनमा सहभागी हुने, योग्य उम्मेदवारलाई मत दिने जिम्मेवारी नागरिकको हातमा छ । अर्थात् भनौं स्थानीय सरकाराको नेतृत्व गर्ने प्रतिबद्धतासहित उम्मेदवार बनेकाहरूको पक्ष वा विपक्षमा फैसला सुनाउने दायित्व अब नागरिकको हातमा छ । यसको भरपूर प्रयोग र उपयोग गर्नु अपरिहार्य छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७९, शुक्रबार ०५:०३