मतदान गर्न मतदाता नामावली अनिवार्य

सुर्खेत: आज हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ । नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाण भएपनि हुने छ ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिलाई प्रवेश दिइनेछ । त्यसैगरी महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ । तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत दिने कुनै वस्तु लैजान नपाइने आयोगले जनाएको छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७९, शुक्रबार ०५:०१