भयरहित निर्वाचन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको हो । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । कर्णालीका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र स्थलको अनुगमन गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरूले जनाएका हुन् । आम मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको छ । निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापन पनि भइसकेको छ ।

कर्णाली प्रदेशका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच छिटफुट झडपका घटना भएका छन् । त्यसबाहेक शान्ति सुुरक्षाको अवस्था सामान्य रहेको सुरक्षा निकायले जनाएका छन् । निर्वाचन अवधिभर कुनै अवाञ्छनीय गतिविधि हुन नदिन विशेष सुरक्षा रणनीति बनाइएको बताइएको छ । प्रदेशमा केही मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ । सुरक्षासँगै सडकको पहुँच, भौगोलिक अवस्था, टेलिफोन तथा इन्टरनेटको सेवा र राजनीतिक दलको तिक्ततालगायतका कारण ती केन्द्रलाई अति संवेदनशीलमा राखिएको हो । त्यस्ता स्थलमा सुुरक्षाकर्मी बढाएर परिचालन गरिएको छ । निर्वाचनका लागि प्रहरीसहित जिल्लामा एक हजार दुई सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ । आवतजावतमा निगरानी बढाउने, लागुुऔषध नियन्त्रण गर्ने र सीमामा हुुनसक्ने अपराधिक गतिविधि रोक्ने सुरक्षा योजना बनाइएको हो ।

मतदान गर्ने दिन नजिकिँएसँगै मंगलवार रातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उम्मेदवारको पक्ष÷विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन । मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन स्थानीय प्रशासन र सुरक्षा निकायहरूरुलाई गृह मन्त्रालयले निर्देशन गरेको छ । निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउनु सबैको दायित्व हो । यसमा राज्यका सुरक्षा संयन्त्रका साथसाथै राजनीतिक दल र नागरिकको भूमिका पनि महङ्खवपूर्ण हुन्छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७९, बुधबार ०५:०३