निर्वाचनको तयारी पूरा
सुर्खेत: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको हो । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । कर्णालीका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र स्थलको अनुगमन गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरूले जनाएका हुन् ।
दुई सय ९१ मतदान केन्द्र रहेको सुुर्खेतमा निर्वाचन सुुरक्षालगायतका सबैजसो तयारी पूरा भएको प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘आम मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ,’ उनले भने, ‘निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापन पनि भइसकेको छ ।’ कर्णाली प्रदेशको राजधानीसमेत भएकाले पनि यहाँ अन्य जिल्लाभन्दा राजनीतिक गतिविधि बढी हुुन्छन् । सुर्खेतका केही स्थानमा निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच छिटफुट झडपका घटना भएका छन् । त्यसबाहेक जिल्लाको शान्ति सुुरक्षाको अवस्था सामान्य रहेको भन्दै प्रजिअ रिजालले निर्वाचन अवधिभर कुनै अवाञ्छनीय गतिविधि हुन नदिन विशेष सुरक्षा रणनीति बनाइएको बताए । सुर्खेतमा तोकिएका मतदान केन्द्रमध्ये २० वटा भने सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको उनले जनाए । सुरक्षासँगै सडकको पहुँच, भौगोलिक अवस्था, टेलिफोन तथा इन्टरनेटको सेवा र राजनीतिक दलको तिक्ततालगायतका कारण ती केन्द्रलाई अति संवेदनशीलमा राखिएको हो ।
त्यस्तै, सुर्खेतमा ८५ वटा संवेदनशील र ३३ वटा सामान्य गरी एक सय ३८ वटा मतदान स्थल रहेका छन् । बढी नै संवेदनशील मानिएका स्थलमा सुुरक्षाकर्मी बढाएर परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनका लागि प्रहरीसहित जिल्लामा एक हजार दुुई सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ । प्रशासन कार्यालयका अनुसार प्रदेशको राजधानी भएकाले पनि यहाँको सीमा सुुरक्षामा पनि उत्तिकै ख्याल गरिएको छ । आवतजावतमा निगरानी बढाउने, लागुुऔषध नियन्त्रण गर्ने र सीमामा हुुनसक्ने अपराधिक गतिविधि रोक्ने सुरक्षा योजना बनाइएको हो ।
दैलेखमा निर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाइएको प्रमुुख जिल्ला अधिकारी हरि प्याकुुरेलले बताए । ‘सुरक्षा व्यवस्था मजबुत पारिएको छ’, उनले भने, ‘विगतका निर्वाचनहरूमा जिल्लामा कहिकतै सामान्य घटना भएपनि यसपटक हदैसम्मको सुरक्षा प्रबन्ध मिलाइएको छ ।’ प्रशासन कार्यालय मतदाता र आम नागरिकको जीउधनको सुरक्षामा पूर्णरूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा दुुई सय सात वटा मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ४७ केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने ५५ वटा संवेदनशील र ३४ वटा मतदान केन्द्रलाई सामान्य मानिएको छ । दैलेखमा एक सय ३६ वटा मतदान स्थल रहेका छन् ।
यस्तै, स्थानीय तहको निर्वाचनका लागि यसपटक रूकुुम–पश्चिममा ७६ वटा मतदान स्थल रहेका छन् । जसमध्ये १९ वटा अति संवेदनशील, ४५ वटा संवेदनशील र १२ वटा केन्द्रलाई सामान्य ठानिएको स्थानीय प्रशासनले जनाएको छ । तीन नगरपालिका, तीन गाउँपालिका गरी ६ स्थानीय तह रहेको रुकुुम–पश्चिममा एक सय ३९ मतदान स्थल छन् । यहाँ केही दिनयता प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपका घटना पनि भएका छन् । जिल्लामा राजनीतिक दलका कार्यक्रम जुँुधेकाले सामान्य झडप भएको प्रमुुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । उनका अनुसार जिल्लामा मतदान स्थलको प्रकृति र जोखिम हेरेर त्यसै खालको सुुरक्षा प्रबन्ध मिलाइएको छ । पार्टी–पार्टीबीच सामान्य झडपबाहेक जिल्लामा कुुनै अप्रिय घटना नभएको प्रजिअ घिमिरेले बताए । उनी भन्छन्, ‘निर्वाचन लक्षित एकीकृत सुुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई भयमुक्त बनाउन प्रतिबद्धता जनाएका छन् ।’ कालीकोटमा एक सय १९ वटा मतदान केन्द्र छन् भने एक सय वटा मतदान स्थल तोकिएको छ । जिल्लामा ८८ वटा अति संवेदनशील मतदान स्थल रहेको जनाइएको छ । विगतको अवस्था तथा भौगोलिक विकटतालाई मध्यनजर गर्दै मतदान स्थलको सुरक्षा योजना बनाइएको कालीकोटका प्रमुुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
आज रातिदेखि मौन अवधि
स्थानीय तह निर्वाचनको आज ‐मंगलवार) रातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ ।
मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उम्मेदवारको पक्ष÷विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन । मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन स्थानीय प्रशासन र सुरक्षा निकायहरूरुलाई गृह मन्त्रालयले निर्देशन गरेको छ ।
७२ घण्टा सीमा बन्द
सरकारले अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि आज ‐मंगलवार) रातिबाट सिल गर्ने भएको छ । चीन र भारतसँग जोडिएका सीमा क्षेत्रबाट हुने आवागमन ७२ घण्टा बन्द गर्न लागिएको हो । मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको हो । नेपालको भारतसँग करिब एक हजार आठ सय ८० किमि र चीनसँग झन्डै एक हजार चार सय १४ किमि लम्बाइको सीमा छ । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । जस्तोसुकै स्थितिमा पनि निर्वाचन अवधिभर अत्यावश्यक र अनुमतिबाहेक सीमाबाट आवतजावत गर्न नदिन सम्बन्धित प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सवारी साधन चलाउन मापदण्ड जारी
मतदानका दिनका लागि सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड जारी गरिएको छ । उक्त मापदण्ड कार्यान्वयनका लागि कडाइ गर्न सम्बन्धित प्रशासन कार्यालयहरूले सूचना जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुुसार मतदानको दिन सवारी चलाउन तोकिएको प्रक्रिया पूरा गरी सवारी सञ्चालन अनुमति–पत्र ‐पास) लिनुपर्ने छ । प्रशासनले बिहीवार राती १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि अनुमति विना सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने जनाइएको छ । यो अवधिमा अत्यावश्यक सवारी साधन भने चल्नेछन् । एम्बुलेन्स, दमकल, अस्पताल, दुरसञ्चार, विद्युतजस्ता सेवाका सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छैन । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिएर प्रमुख जिल्ला अधिकारीमार्फत सवारी सञ्चालन पास लिनुपर्नेछ ।
प्रकाशित मितिः २७ बैशाख २०७९, मंगलवार ०५:०४
साझा बिसौनी ।