मौन अवधिअघि शक्ति प्रदर्शन

सुर्खेत: वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको संघारमा राजनीतिक दलहरूले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् । झन्डै एक महिनादेखि चुनावी अभियानमा होमिएका दलहरूले घरदैलो, सभा र ¥यालीहरूमार्फत जनप्रदर्शन गरेका हुन् । मंगलवार रातिदेखि मौन अवधि सुरु हुने भएपछि त्यसअघि नै पार्टीहरूले अन्तिम चुनावी सभा सकेका छन् ।

नेकपा ‐एमाले) ले मंगलवार वीरेन्द्रनगरमा चुनावी सभा गरेको छ । नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्र)ले भने वीरेन्द्रनगरमा सोमवार नै संयुक्त चुनावी सभा गरेका थिए । यी दुवैका अन्तिम चुनावी सभामा हजारौ कार्यकर्ता र समर्थकहरूको सहभागिता देखिन्थ्यो । दलहरूले सबैजसो स्थानीय तहमा चुनावी जनसभा गरेपनि वीरेन्द्रनरमा भने अन्यत्रभन्दा सहभागिता बढी नै थियो । १६ वटा वडा रहेको वीरेन्द्रनगरको हार–जित राजनीतिक पार्टीहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । त्यसैले पनि यहाँ जनप्रदर्शनमा ठूला राजनीतिक दलको होडबाजी देखिएको हो । प्रदेश राजधानीसमेत भएकाले वीरेन्द्रनगरको चुनावी परिणाम आफ्नो पक्षमा पार्न केन्द्रीयस्तरका नेताहरूसमेत यहाँ केन्द्रित भएका थिए ।

वीरेन्द्रनगरमा सोमवार सम्पन्न गठबन्धनको चुनावी जनसभालाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गरे । पश्चिम र पूर्वी सुर्खेतका सभाहरूमा पनि सहभागी बनेका उनी उम्मेदवारलाई हौसला दिन स्थानीय तहमा आयोजना गरिएका जनसभालाई सम्बोधन गर्न पुगेका हुन् । वीरेन्द्रनगरसहित सुर्खेतका चार पालिकामा नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्र) को चुनावी तालमेल छ । वडाहरूमा भने यी दुवै पार्टी प्रतिस्पर्धा गर्दै छन् । नेता खड्काले पालिकास्तरका संयुक्त चुनावी सभामा गठबन्धन दलका साझा उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गरेका छन् । शान्ति प्रक्रियाका अधुरा काम सम्पन्न गर्न र मुलुकको विकास तथा राजनीतिक परिवर्तनहरूलाई संस्थागत गर्न गठबन्धन दलका उम्मेदवारलाई भोट दिनुपर्ने उनको जिकिर छ । खड्का चुनावी अभियानका लागि केही दिन पहिले सुर्खेत आएका हुन् ।

त्यस्तै, मंगलवार वीरेन्द्रनगरमा नेकपा ‐एमाले) को जनसभालाई पार्टी स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले सम्बोधन गरेका छन् । उनले मुलुकको समृद्धि र समाजवादको आधार तयार गर्न स्थानीय तहमा एमालेका सरकार बन्नैपर्ने जिकिर गरे । चुनावी अभियान र जनसभाहरूको सहभागिता हेर्दा आफ्नो पार्टीका उम्मेदवारको जित सुनिश्चितजस्तै देखिएको उनको दाबी थियो । यसपटक कँडेलले वीरेन्द्रनगरका सबै वडाका घरदैलो कार्यक्रमदेखि पार्टीका पालिकास्तरीय चुनावी सभाहरूलाई सम्बोधन गरेका छन् । एमाले स्थानीय तह निर्वाचनमा सुर्खेतका नौ वटै पालिकामा एक्लै चुनावी प्रतिस्पर्धा गर्दैछ । २०७४ को निर्वाचनमा तीन वटा पालिकाको नेतृत्व जितेको एमाले यसपटक थप पालिका जित्ने रणनीतिमा देखिएको छ । गएको स्थानीय तह निर्वाचनमा ६ वटा पालिका जितेको कांग्रेसले भने यसपटक माओवादी केन्द्रको समेत साथ पाएकाले जित्ने पालिकाको संख्या अझै बढ्ने दाबी गरिरहेको छ । खड्का र कँडेल कर्णालीबाट राजनीतिको शीर्ष स्थानमा पुग्ने कमै नेताहरूमध्ये पर्छन् । यी दुवैको निर्वाचन क्षेत्रसमेत सुर्खेतमै भएका कारण यहाँका हरेक राजनीतिक गतिविधिमा उनीहरूको चासो रहने गरेको छ ।

वीरेन्द्रनगरमा निर्वाचन प्रचार अवधिमा नेकपा ‐एमाले), नेपाली कांग्रेस, नेकपा ‐माओवादी केन्द्र), नेकपा ‐एकीकृत समाजवादी ) र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा र पालिकामा आफ्नो शक्ति प्रदर्शन गरेका छन् । चुनावी प्रचारका क्रममा साना दल तथा स्वतन्त्र उम्मेदवारले भने कोणसभा र घरदैलो कार्यक्रम मात्रै गरेका छन् । विगतका निर्वाचनहरूभन्दा यसपटक चुनावी अभियानमा दलहरूको तामझाम र प्रदर्शन बढी देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी बनेको एकीकृत समाजवादीले पनि वडा र केही पालिकामा चुनावी जनसभा गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले सुर्खेतका केही पालिका र सबैजसो वडामा आफूहरूले चुनावी सभा सम्पन्न गरेको जनाए । ठूला दलहरूले तामझामका साथ शक्ति प्रदर्शन गरिरहेका बेला साना दलका उम्मेदवारहरूले पनि प्रचार–प्रसारमा उत्तिकै जोड दिएको देखिएको हो ।

यसपालिको निर्वाचनमा दल र उम्मेदवारहरूले मतदाता भेट्न घरदैलो गर्नेभन्दा तडकभडकमा बढी जोड दिएको पाइएको नागरिक समाजका अगुवाहरूको टिप्पणी छ । ‘विगतका चुनावहरूको तुलनामा प्रचारको शैली पनि निकै फेरिएको पाइयो,’ मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल भन्छन्, ‘कति कुरा समयको आवश्यकता पनि होला । तर, प्रचार शैली भने भड्किलो नै देखियो ।’ दलहरू निर्वाचनका बेला मात्रै जनताकाबीचमा जाने गर्नाले समेत चुनावी तामझाम बढी देखिने गरेको उनको बुझाइ छ ।
वैशाख ३० गते हुने निर्वाचनका लागि मंगलवार रातिदेखि मौन अवधि सुरु भएको छ । यो अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी प्रचारका कार्यक्रम गर्न नपाइने व्यवस्था छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७९, मंगलवार २१:००