ह्‍याप्पी चुनाव !

लोकतान्त्रिक पद्दतिको सबैभन्दा सुन्दर र महŒवपूर्ण पाटो भनेको चुनाव हो । चुनाव लागेपछि आफुले दिएको पदमा जिम्मेवारीपूर्वक काम गरी अपेक्षित नतिजा दिन सक्षम छु भन्ने व्यक्तिहरू मैले जितेको खण्डमा यो–यो गर्छु भन्ने योजनहरू लिएर दलको उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा भाग लिन पाउने व्यवस्था संविधानले गरेको छ । चुनावमार्फत जनताले आफूले विश्वास गरेको र आफूले सम्भावना देखेको पात्रलाई आफ्नो अमूल्य भोट दिएर विजयी गराउने मौका पाउछन् र चुनाव जितेका पात्रहरूले पूर्व घोषित योजनहरूको कार्यान्वयन र आफू निर्वाचित पालिकाको समग्र हितका लागि काम गर्छन् ।

निर्वाचित पदको कार्यकाल सकिँदा पदमा रहेको व्यक्तिले आफुले गरेका प्रतिबद्धताहरू कत्तिको पूरा ग¥यो भनेर मूल्याङ्कन गर्ने काम फेरि जनताले नै गर्छन् र अर्को कार्यकाल फेरि निर्वाचित गर्ने कि, सोही व्यक्तिको दलको अर्को उम्मेद्वारलाई निर्वाचित गराउने कि, अघिल्लो भन्दा धेरै नतिजा दिने सम्भावना बोकेको अर्को दलिय वा स्वतन्त्र उम्मेदवारलाई जिताउने भन्ने फैसला गर्छन् । एउटा आदर्श चुनावमा हुन पर्ने यत्ति हो ।

पाँच वर्षपछि फेरि चुनाव आएको छ । हाम्रोतिर चुनाव आउन लागेको छनक तब मात्र पाइन्छ, जब देशका टाउके नेताहरूले ‘चुनाव हुन नदिने षड्यन्त्र हुँदैछ’ भनेर उद्घोष गर्न थाल्छन् । अनेक तिकडम, घम्साघम्सीपछि चुनावको मिती तोकिन्छ । सामान्यतया तोकेको मितिमा चुनाव हुँदैन, एक–दुइ लट मिति सर्छ । कतिपय बेला त चुनाव गराउन सकेन भनेर एउटा सरकार ढल्छ र अर्को बन्छ, केबल चुनाव गराउनका लागि ।

धौ–धौ गरेर अब चुनाव हुने पक्का भयो भनेपछि सुरु हुन्छ अझ रमाइलो खेल । अघिसम्मको खेलमा टाउकेहरू मात्र भिडिरहेका हुन्थे भने, अबदेखिको खेलमा टाउकेहरू प्राय टाउको जोडेरै बसेका हुन्छन् उनीहरूलाई राम्रोसँग थाहा हुन्छ, आफ्नो अस्तित्व कसरी जोगाउने वा भनौँ आफ्नो दबदबा कसरी कायम राख्ने । अब भिड्ने पालो आउँछ जनताको । त्यसो त, मलाई हाम्रोतिर कोही जनता बाँकी छन् जस्तै लाग्दैन । हामीलाई बोल्न सक्ने हुँदादेखि रटाइएको हुन्छ ‘भोट के मा ? फलानो मा ।’ त्यो हिसाबले हुर्केर भोट दिन योग्य हुँदासम्म ३–४ चुनाव भोगिन्छ र त्यसले हाम्रो दिमागमा अमेट छाप बसिसकेको हुन्छ, ‘भोट के मा ? फलानो मा ।’ त्यसैले एउटा भोट दिन योग्य व्यक्ति नेपालमा जनता होइन कुनै चिन्हको स्थायी भोटर भइसक्छ । त्यति भइसकेपछि टाउकेहरूलाई हिसाब मिलाउन सजिलो । घर–घर, व्यक्ति–व्यक्ति गनेर कसले–कसलाई भोट दिन्छ पहिले नै भन्न सकिने अवस्था हुन्छ । अनि उम्मेदवार खडा गर्ने भनेको त केबल भागबण्डा मिलाउने खेलो मात्र हुन्छ ।

भागबन्डा मिलाउन न एजेन्डा मिल्न पर्छ, न उद्देश्य । न सिद्दान्त मिल्न पर्छ, न त पद्दती मिल्न पर्छ । बस् स्वार्थ मिले पुग्यो । अनी जन्मिन्छन् अनौठा राजनीतिक समिकरणहरू । उग्र पुरातन्पथीहरू उग्रवामपन्थीहरूसँग मिल्छन, उग्र राजावादीहरू उग्रगणतन्त्रवादीहसँग मिल्छन् । को राइटिस्ट को लेफ्टिस्ट भन्ने कुराहरू एक महिनालाई गौण बन्न जान्छन् र पूरा ध्यान कसलाई जिताउने, अझ कतिपय ठाउँमा त कसलाई हराउने भन्ने कुरा सबैको प्रमुख एजेन्डा बन्न जान्छ । यस्तो एजेन्डा लिएर रचिएको चुनावको परिणामले आम नागरिकको जीवनमा सकारात्मक असर गर्नेगरी केही परिवर्तन ल्याउला भनेर आश गर्नु सपनाका पोका बुन्नु मात्र हो । चेतनाको घन्टीले निद्राबाट ब्युझिएपछि यसरी हुने चुनावबाट आशा राख्न छोडिने रहेछ ।

नतिजा जेसुकै होस्, देश चुनावमा होमिसकेको छ । देशले चुनाव उद्घोष गरिसकेपछि गएर भोट खसाल्नु नागरिकको कर्तव्य हुन जान्छ । स्थायी चिन्ह लिएर भोट खसाल्न जाने नागरिकहरूलाई यो पालिको चुनाव साह्रै अलमलिन पर्ने अवस्था छ । ‘रुख’ बाहेक अन्यत्र हातै नसर्ने टोलीलाइ योपाली ठाउँ हेरी ‘हसिया–हथौडा’देखि लिएर अरु ३–४ वटा चिन्ह चिनेर जानुपर्ने अवस्था छ । ‘घाम’मा छाप नहाने माम नै नरुच्ने एउटा समूह अनौठो चिन्हलाई घामै सोचेर छाप हान्न बाध्य छन् । साइबरदेखि भाईबरसम्म थर्काउने टोलिहरूलाई पनि चैन छैन, आफ्ना मिलाएर भन्दा अरु भड्काए जितिने सम्भावना छ, नत्र उही हो ।

सरसर्ती हेर्दा यसपालिको चुनावमा स्थायी भोटरहरूलाई साह्रै गाह्रो पर्ने अवस्था छ । परीक्षामा गाइड रटे जस्तै एक नम्बरमा यो छाप, दुई नम्बरमा यो छाप भनेर रटेर गए त हो, नत्र सजिलो हिसाबको नतिजा आउन चै गाह्रो छ । फेरि छाप हान्दा–हान्दै टाउकेहरूले कुनमा हान्न अह्राएका थिए बिर्सियो भने के गर्ने ? अनी मेरो आँकडाअनुसार त कतिले उम्मेदवार नै नउठेको आफ्नो स्थायी चिन्हमा भोट ठोकेर बदर मतको संख्या पनि ५–१० उम्मेदवार जिताउन पुग्ने मत संख्या आउला कि जस्तो लाग्छ । अरु जे भए पनि यो चुनाव सुझबुझले प्रतिबद्धता–पत्र हेरेर, उम्मेदवारको क्षमता हेरेर भोट खसाल्ने मतदाताहरूलाई फेरि नैरास्य मात्र दिने खर्चिलो पर्व नबनोस्, ह्याप्पी चुनाव !


-अभिषेक पौडेल

प्रकाशित मितिः   २७ बैशाख २०७९, मंगलवार ०५:०२