मतदाताको मनसाय

स्थानीय तहको निर्वाचनका लागि मतदान गने दिन नजिकिँदै छ । निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरू जनप्रतिनिधि चुन्न उत्साहित भएका छन् । यो निर्वाचनबाट पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व गर्ने प्रतिनिधि छानिने छन् । यतिबेला चुनावी माहोलले सबैतिर रौनक छाएको छ । उम्मेदवारले घरदैलो कार्यक्रम गरिरहेका छन् । मतदाता समक्ष आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरिरेहका छन् । मतदातालाई कुन उम्मेदवार कस्तो भन्ने मोटामोटी जानकारी भइसकेको छ । कसलाई भोट दिने भन्ने निधो गरिसकेका छन् । यस हिसाबले मतदान गर्ने दिनको पखाई सबैलाई छ । यही वैशाख ३० गते देशभर एकैसाथ मतदान हुँदैछ । यसपटक देशभर नै एकै चरणमा निर्वाचन हुन लागेको हो ।

मतदाताहरूले उम्मेदवाार छनोट गर्ने विभिन्न आधार बनाएका छन् । प्रतिनिधिमूलक मतदाताहरूसँगको कुराकानीलाई आधार मान्दा केही राजनीतिक आस्थाका आधारमा मतदान गर्दैछन् । आफू आवद्ध राजनीतिक दलले उठाएका उम्मेदवारलाई मत दिनेछन् । मतदाताको ठूलो संख्या राजनीतिक आस्थाका आधारमा मतदान गर्ने पक्षमा देखिन्छन् । केही मतदाता भने राजनीतिक दल नभइ उम्मेदवार हेरेर मतदान गर्ने मनसायमा छन् । उम्मेदवारको चरित्र, स्वभाव, क्षमतालगायतलाई आधार मानेर मात्रै भोट दिने बताउँछन् । युवा उम्मेदवारलाई जिताउनुपर्नेदेखि महिला उम्मेदवार जिताउनुपर्नेसम्मका मत देखिन्छन् । यसरी हेर्दा यसपटकको स्थानीय निर्वाचनको परिणाम अघिल्ला निर्वाचनको परिणामका आधारमा आकलन गर्नु गलत ठहरिनेसक्नेछ । त्यसमाथि नयाँ मतदाता पनि थपिएका छन्, जो उम्मेदवारको हार–जितमा निर्णायक हुनेछन् ।

स्थानीय सरकार अधिकारसम्पन्न कार्यकालिका हो । संविधान प्रद्धत्त अधिकारको कार्यान्वयन गर्ने स्थानीय संरचना हो । शासन प्रर्णाली र शक्तिको बाँडफाँट तथा विकेन्द्रीकरण गरिएको छ । त्यसैले स्थानीय सरकारको महङ्खव र गरिमा उच्च छ । जसको नेतृत्व क्षमतावान हुनु अपरिहार्य छ । यसपटक मतदातालाई कस्ता उम्मेदवार छान्ने भनेर निर्णय गर्न अघिल्ला जनप्रतिनिधिको कामले पनि सघाउनेछ । कुन दल वा कुन उम्मेदवारले के कस्ता काम गरे भन्ने कुरालाई पनि मतदाताले नजिकबारे देखेका छन् । अनुभव गरेका छन् । धेरै पालिकामा विगतका प्रतिनिधि नै फेरि उम्मेदवार बनेको अवस्था पनि छ । अघिल्लो चुनावमा बाँडेका आश्वासन र ति आश्वास पूरा गर्न नसक्ने जनप्रतिनिधिहरू नागरिकको रोजाइमा पर्ने छैनन् । यसपटक क्षमतावान व्यक्ति र उनीहरूको योजनाका आधारमा मतदान गर्ने मतदाताको मनसाय बुझिन्छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७९, मंगलवार ०५:०१