नेपाल आज माल्दिभ्ससँग भिड्दै

चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनशीपमा दमदार सुरुआत गरेको नेपालले आज (बुधवार) अर्को खेलमा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ८—० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वी होइन । माल्दिभ्सले सन् २०१० मा पहिलो साफ च्याम्पियनसिपमा ६–० ले हराएको नेपालले २०१२ मा पनि ५–० ले पराजित गरेको थियो । पहिलो पटक भेटमा नेपाली टोलीका पूर्व कप्तान एवम् स्ट्राइकर जमुना गुरुङले ह्याट्रिक गरेकी थिइन् ।

नेपाल आत्मविश्वासका साथ ओर्लने तयारीमा छ भने माल्दिभ्स दाबेदारमध्येको नेपालसँग बदला लिने योजनमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक कुमार थापाले माल्दिभ्ससँगको खेलमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । ‘६५ प्रतिशत हामीले खेल जित्ने सम्भावना छ,’ उनले भने, ‘विपक्षी टोलीको खेल हेरेर रणनीति बनाउँछौं, खेल जित्नलाई समस्या छैन ।’ यो प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन । प्रशिक्षक थापाले भने,‘ माल्दिभ्ससँगको खेलमा हामी नै हावी हुन्छौं, खेलाडीले उच्च मनोबलका साथ खेल्छन् भन्ने विश्वास छ । ’

नेपाली टोलीकी कप्तान रेणुका नगरकोटीले माल्दिभ्ससँगको खेलको नजिता आफूहरूकै पक्षमा पार्ने गरी तयारी गरेको बताइन् । ‘यो प्रतियोगितामा हामी तीन पटकसम्म उपविजेता भएका छौं,’ उनले भनिन्, यो पटक विजेता बन्ने गरी नै आएका छौं, टिम वर्क राम्रो भयो भने खेल जित्नेछौं ।’ भुटान भन्दा माल्दिभ्स राम्रो टोली भएकाले सोही अनुसार खेल्ने उनको भनाइ छ । भुटानको खेलमा एक्लै ६ गोल गरेकी सावित्रा भण्डारीले माल्दिभ्ससँगको खेलमा पनि राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । ‘भुटान भन्दा माल्दिभ्स राम्रो छ,’ उनले भनिन्, ‘वरियता र खेलमा पनि हामी नै माथि छौं । विपक्षीलाई कमजोर ठान्नु हुन्न भन्नेमा हामी सचेत छौं ।’

माल्दिभ्स पनि श्रीलंकालाई सोमवार ५–२ ले हराएर उच्च मनोबलका साथ नेपालविरुद्ध उत्रने तयारीमा रहनेछ । समूह ‘बी’ मा आयोजक भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत तीन पटक च्याम्पियन हो । तीनै पटक फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार ११:३८