संशोधनसँगै चुनावी विधेयक अघि बढाउने निर्णयमा माओवादी

 सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।
माओवादी हेडक्वार्टरको बुधबार बिहान बसेको बैठकले स्थानीय निकायको पुरानै संरचनाको नभई नयाँ स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएको छ । र, एमाले र मधेसी मोर्चासँग छलफल गरेर एक साताभित्रै स्थानीय तहको चुनाव घोषणा गर्ने माओवादीले निर्णय गरेको छ ।

बैठकले संविधान संशोधन विधेयक र निर्वाचनसम्वधी ऐन कानुनलाई पनि अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

‘एमालेसँग विषयवस्तुमा सहमति गर्ने र नभए प्रक्रियामा भए पनि सहमति गरेर संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको छ’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।

चुनाव घोषणा गर्ने निर्णयसँगै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले बुधबार नै प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा कांग्रेस, एमाले र माओवादीसहित तीन दलको बैठक बोलाएका छन् ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार ११:४२