मादक पदार्थमा पूर्ण प्रतिबन्ध

सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख २७ देखि ३० गतेसम्म जिल्लाभर मदिरालगायतका अन्य मादक पदार्थको बिक्री–वितरणमा निषेध गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी प्रशासनले तीन दिन मादक पदार्थको बिक्री तथा सेवनमा पूर्ण रोक लगाएको हो । प्रशासनले गएको शुक्रवारदेखि साँझ ८ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाएको थियो । आइतवार पुनः अर्को सूचना जारी गर्दै प्रशासनले २७ गते राती १२ बजेदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि मादक पदार्थमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो अवधिमा जिल्लाभरका सबै क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्यलाई सख्त निषेध गरेको बताए । उनका अनुसार जारी सूचना विपरीत कोही कसैबाट गतिविधि भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०७९, सोमबार ०५:०२