मत बदरको जोखिम

स्थानीय तहको निर्वाचन हुने दिन आउन एक साता पनि बाँकी छैन । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । तर यसपटक न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्‍यो न त उम्मेदवारहरूले नै मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराएका छन् । थुप्रै मतदातालाई बदर नहुने गरी कसरी भोट हाल्ने भन्ने अन्योल छ । राजनीतिक दल र उम्मेदवारले भने मतदाता शिक्षामा भन्दा मत माग्नमै बढी जोड गरेको पाइन्छ । विगतमा निर्वाचन अघि घर–घरमा टोलि खटाएर मतदाता शिक्षा दिँदै आएको निर्वाचन आयोगले समेत यसपालि उक्त कार्यक्रम नै राखेन । मतदाता शिक्षा सबैको बेवास्तामा परेपछि मतदाताहरू कसरी भोट हाल्ने भन्ने अन्योलमा परेका छन् ।

विगतका वर्षहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा समेत ठूलो संख्यामा मत बदर हुने गरेका थिए । यसपटक झनै बदर हुने मतको संख्या बढ्न सक्ने बताइएको छ । मतपत्रको आकार र उम्मेदवारको संख्याका कारण पनि मत बदर हुने देखिएको छ । त्यसका साथै स्थानीय तह निर्वाचनमा केही पार्टीहरूबीच चुनावी तालमेल भएको छ । एक पदमा एउटा दलको उम्मेदवार र अर्कोमा अर्कै दलको उम्मेदवार हुँदा कुन चिन्हमा मतदान गर्ने भन्ने अन्योलमा मतदाता देखिन्छन् । संयुक्त रूपमा उठेका उम्मेदवारको चुनाव चिन्ह एउटै हो कि फरक–फरक भनेर मतदाताहरू दुविधामा पर्ने गरेका हुन् । चुनावी तालमेलले मत बदर हुने सम्भावना बढेर गएको जानकारहरूको आकलन छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा सुर्खेतमा झन्डै पाँच प्रतिशत मत बदर भएका थिए । यो अवस्थालाई न्यूनीकरण गर्नुपर्नेमा राजनीतिक दल र उम्मेदवारहरू भने चुनावी प्रचार–प्रसारमा मात्रै केन्द्रित छन् । सुर्खेतमा शुक्रवार गरिएको नमुना मतदानमा ३३ प्रतिशत मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको नमुना मतदानमा एक तिहाइ मत बदर भएका हुन् । ३६ जनाले मतदान गरेकोमा १३ मत रद्ध भएका थिए । त्यसमध्ये तीन मत पूर्ण तथा १० मत आंशिक रूपमा रद्ध भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले यसपटकको सम्पूर्ण तयारी सकिएको बताए पनि धेरै मतदातामा मतदान कसरी गर्ने अन्योल भने कायमै छ । स्थानीय तह निर्वाचन नजिकिसँगै मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो सुनिन थालेको हो । स्थानीय सरकारको नेतृत्व चुन्न दिन गनेर बसेका मतदातालाई भोट हाल्न सिकाउन भने कोही गएका छैनन् ।

प्रकाशित मितिः   २६ बैशाख २०७९, सोमबार ०५:०३