विचार

एसईई दिइसकें, के गर्ने होला ?

तपाईंले परीक्षा दिएर सक्नुभएको छ । यो नितान्त उत्सव मनाउने समय हो । नयाँ–नयाँ ठाउँ घुम्ने यो जस्तो मौका कमै आउँछन् । कक्षा कोठाका पुस्तकहरू धेरै रटियो, घोकियो र पढियो । अब खुल्ला संसारलाई आँखा बन्द र खुल्ला गरेर एकपटक चिहाउनुस् । कक्षा कोठाका पुस्तकहरूले जिन्दगीभर सिकाउन नसक्ने ज्ञान तपाईंको वरिपरि फैलिरहेको छ । त्यसको आनन्द लिनबाट वञ्चित हुनुहोला है ? साच्चिकै प्रकृतिको आनन्द तपाईंको अनुभूतिमा आयो भने पहिले जसरी सोच्नुहुन्थ्यो । त्यो भन्दाभिन्न तरिकाले सोच्नुहुनेछ ।

ए, तपाईं सबैभन्दा पहिले जे पढ्ने सोचिरहनु भएको छ । उक्त विषय पढिसकेको दाइ, दिदीसँग कुरा गर्न जान सक्नुहुन्छ । गएर आफ्नो सपना, आफ्ना गोलहरूका बारेमा जानकारी गराउँदा राम्रो सल्लाह पाउने सम्भावना हुन्छ । त्यसपछि तपाईं तनावमुक्त भएर घुम्न सक्नुहुन्छ । अनि पो घुम्नुको मज्जा आउँछ ।

तपाईंको परीक्षा राम्रो भयो कि नराम्रो भयो । यो महत्वपूर्ण छैन । तपाईंहरूले परीक्षा दिइ सक्नुभएको छ । नतिजाको प्रतिक्षा गरिरहनु भएको छ । नतिजा प्रकाशित नहुञ्जेलसम्म तपाईंले मन लागेको ठाउँमा घुम्न जाने र नयाँ–नयाँ कुराहरू सिक्नमा आफ्नो समय दिनसके उत्पादनशील भइन्छ ।

तपाईंहरूले भर्खर एसईई दिनुभएको छ । ब्याचलर, डिग्री गरेका दाई, दिदीले आफ्नो योग्यता अर्थात् सर्टिफिकेट अनुसारको रोजगार नपाउँदा बारबार नेपालको शिक्षा प्रणाली सुगा रटाईमा सिमित भयो भनिन्छ । त्यसैले यो खालि समयमा केही न केही सिप सिक्नुस् । घरको खाना बनाउने, आफ्नो कपडा आफै धुने जस्ता सामान्य कार्य आफै गर्नुस् । यसले तपाईंको आत्मविश्वास बढाउँछ । तपाईंले गर्न नसक्ने कामको लागि मात्र दोस्रो व्यक्तिबाट सहयोग माग्नुस् । यदि सामान्य काम पनि अरुले गरिदेओस् भन्ने चाहाने । आफूले कत्ति पनि काम नगर्ने अथवा पढ्ने मात्र काम गर्नु भयो भने तपाईं आफ्नो जिम्मेवारी लिनबाट पछाडि हट्नु भयो । जसले तपार्इंलाई कमजोर बनाउँछ ।

म ठूलो जिम्मेवारी एकैपटक लिन्छु भन्नु मुर्खता मात्र हो । जस्तो हामी वर्षभरि नपढेर परीक्षाको अघिल्लो रात पढेर परीक्षामा राम्रो अङ्क ल्याउन खोज्छौं । सानो सानो निरन्तर गरेको प्रयासले अन्ततः ठूलो नतिजा हात पर्छ । त्यसैले यो उमेरबाट नै सानो–सानो कार्यहरू अथवा आफूले गर्न सक्ने कामहरू आफै राम्ररी गरेपछि जिम्मेवारी लिने बानीको विकास हुँदै जान्छ । र, जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने मनस्थिति तयार हुन्छ । जसको परिणामस्वरूप तपाईंको आत्मविश्वास पनि बलियो बन्छ ।

तपाईंको उमेर र अनुभवसँगै आफैमाथि विश्वास गर्न योग्य बनाउने यिनी कुरा हुन् । एकदिनमा, एकक्षणमा केही चाहिएको छ भने त्यो कि दुर्घटना हो कि त्यो मृत्यु हो । नत्र भने केही बनेर देखाउन । सफल हुन समय लाग्छ । निरन्तरको मेहनत छँदैछ । त्यसमा धैर्यता झनै महत्वपूर्ण हुन्छ ।

मानौं तपाईंले कुनै ढुङ्गालाई तोड्नको लागि निरन्तर उनान्सय पटक प्रयास गर्नुभयो र छोडिदिनुभयो । अर्काे कुनै एक व्यक्ति गएर त्यहीँ ढुङ्गा तोड्न कोसिस गर्छ र पहिलो कोसिसमै ऊ सफल हुन्छ । हेर्नुस् त तपाईंले फेरि एकपटक मात्र कोसिस गरेको भए नजिता तपाईंको हातमा हुने रहेछ । यसको मतलब हो । जतिबेलासम्म तपाईंले बनाउनु भएको योजना वा सपना छ । पूरा नहुञ्जेल निरन्तर मेहनतसँगै धैर्यता पनि जरुरी हुनेरहेछ । दुनियाँमा यस्ता हजारौं उदाहरण छन् । जो सपना देख्छन् । योजना बनाउँछन् । कतिपय सुरु गर्दैनन् । केही बिचमा गएर छोडिदिन्छन् । कोही विभिन्न कारण र परिस्थिति देखाएर बाहाना बनाउँछन् । र, अन्ततिर गएर छोडिदिन्छन् । एकदम कम प्रतिशत मान्छे हुन्छन्, जो आफ्नो सपना पूरा नहुञ्जेल लागि रहन्छन् ।

यो समयलाई एक्काईसौं शताब्दी भनिन्छ । बढ्दै गरेको विज्ञान र प्रविधिले दुनियाँ एउटा गाउँ जस्तै बनेको छ । निमेषभरमै विश्वको जुन ठाउँको पनि जानकारी लिन सकिन्छ । कुनै व्यक्ति नयाँ कुरा सिक्न चाहान्छ भने त्यसको लागि जति पनि सन्दर्भ सामाग्रीको रूपमा गुगल र यूटुब सबैभन्दा चर्चित प्लेटफर्म हुन् । यस्ता कयौ साईटहरू छन्, जसबाट व्यक्तिले आफूले खोजेको विषयका बारेमा जानकारी सजिलै हासिल गर्न सक्छ ।

मैले यो कुरा किन यहाँ लेखेँ भने तपाईं पनि आफ्नो रुचि भएको विषयको बारेमा खोजेर थाहा पाउन र हेरेर सिक्न सक्नुहुन्छ । तपाईंको रुचिको विषय सिङ्गर बन्ने, डान्सर बन्ने, पेन्टर बन्ने, वैज्ञानिक बन्ने, असल वक्ता बन्ने, लेखक बन्ने जे बन्न चाहानुहुन्छ । उक्त क्षेत्रसँग सम्बन्धित जानकारी हासिल गरेर त्यसलाई बारबार अभ्यास गरेर सिक्न, जान्न र बुझ्न सक्नुहुन्छ ।

कुनैपनि कुरालाई राम्ररी बुझ्ने तरिका भनेको त्यसलाई बारबार अभ्यास गर्ने हो । जतिबढी तपाईं अभ्यास गर्नहुन्छ । त्यति क्षमतावान बन्दै जानुहुन्छ । के बन्न चाहानुहुन्छ । त्यसका बारेमा पहिले जानकारी बटुल्नु पर्‍यो । त्यसपछि अभ्यास गर्नु पर्‍यो । अनि योजनाले सपनाको गोरेटो समात्छ ।

अब पढाईंका कुरा गरौं । तपाईंले जुन जीपीए ल्याए पनि केही फरक पर्दैन । जति जीपीए आएको छ । उक्त जीपीएबाट अबको दश वर्षपछि कुन क्षेत्रमा राम्रो सम्भावना हुनेछ । त्योसँग सम्बन्धित भएर विषय छनौट गर्नसके राम्रो हुन्छ होला । तपाईंको विज्ञान विषयमा भर्ना गर्न मिल्ने जीपीए आयो रे, तपाईंलाई कानुन विषयमा रुचि छ । यस्तो अवस्थामा के गर्ने के गर्ने भनेर अन्यौल हुन्छ । तपाईंले ११/१२ मा विज्ञान विषय पढेर ब्याचलरमा कानुन पढ्न पनि सक्नुहुन्छ । ११/१२ मा सिधै कानुन पढेरपछि ब्याचलरमा कानुन अर्थात् बिएएलएलबी पनि गर्न सक्नुहुन्छ । यस्तो कुराहरू पहिले नै थाहा हुँदैन । त्यसैले तपाईंलाई जसले राम्रो सल्लाह, सुझाव दिन्छ जस्तो लाग्छ । उहाँसँग गएर समयमै यस्ता अन्यौललाई स्पष्ट पार्नुपर्छ ।

सूचना र प्रविधिको फड्कोलाई हेर्ने हो भने तपाईंले आफ्नो सामाजिक सञ्जालको प्रयोगबारे जागरुक हुनुपर्ने देखिन्छ । यसको सहि प्रयोगबारे थाहा पाएँ । गलत प्रयोग अथवा दुरूपयोगबाट बचिन्छ । सामाजिक सञ्जालमा विभिन्न अवसरहरू पनि आइरहेका हुन्छन् । तिनी अवसरहरूबाट सिकेर आफूलाई सुधार गर्दै अगाडि बढ्दा ठूला अवसरहरूले तपाईंको प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । कलेजमा पढाइ हुने विषयमा मात्र घोत्लिने समय गयो । अब जसले सिर्जनशील कार्य गर्न सक्छ । नयाँ–नयाँ कुराहरू सिकेर जसले आफूलाई क्षमतावान बनाउँछन् । यसपछिको समय उनीहरूको हो । शैक्षिक योग्यता चाहिन्छ । शैक्षिक योग्यता सँगै धेरै अरु कुरा पनि चाहिन्छ ।

मैलेमाथि भनिसकेको छु । एसईई उर्तीण गरिसकेका दाई, दिदीसँग यो खाली समयमा सल्लाह लिनु र रिजल्ट आइसकेपछि सल्लाह लिनु अतिआवश्यक हुन्छ । शैक्षिक योग्यता प्राप्त गरेर बेरोजगार भएका लाखौं युवायुवती छन् । तपाईंले आवश्यक सिप र शैक्षिक प्रमाणपत्र लिनुभएन भने त्यहीँ शैक्षिक बेरोजगारीको संख्या बढ्छ । बढ्दै गएको छ ।

तपाईं जुन विषय पनि पढ्नुस् । उक्त विषयमा अब उत्कृष्ट गर्ने प्रयास गर्नुभएन भने उही नतिजा दोहोरिन्छ । एकपटक गल्ति हुनसक्छ । तर, गल्ति बारबार दोहोरियो भने त्यो गल्ति होइन, अपराध बन्न पुग्छ । मेहनतलाई आदत बनाउन सके, सफलता त्यत्तिपरको कुरा होइन । तपाईंले जुन कुरा पाउने चाहाना राख्नु भएको थियो । त्यो कुरा पाउनमा तपाईंले आफ्नो तर्फबाट शतप्रतिशत दिनु भयो कि भएन यो सबैभन्दा महत्वपूर्ण हो ।

विषय छनौट गर्दा ध्यान दिनुपर्ने कुराः

१. अबको दश वर्षपछि यो विषयको सम्भावना कस्तो हुनेछ ?
२. मैले छनौट गर्न लागेको विषयमा मेरो रुचि छ कि छैन ?
३. घरपरिवार, दाइदिदी र साथीहरूको कुरा सुनिसकेपछि कुन विषय मलाई मन प¥यो ?
४. कसैले भनेर वा साथीहरूको लहलहैमा लागेर म कतै विषय त छनौट गर्न लागिरहेको छैन ?
५. म जुन विषय छनौट गर्छु । उक्त विषयमा उत्कृष्ट हुनको लागि काम गर्न तयार छु ?

प्रकाशित मितिः   २६ बैशाख २०७९, सोमबार ०५:०४