प्रतिस्पर्धी दलका कार्यकर्ताबीच झडप

सुर्खेत: स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा झडपका घटना बढ्न थालेका छन् । केही दिनयता कर्णालीका विभिन्न जिल्लामा झडप भइरहेका छन् ।

आइतवार रूकुम–पश्चिमको मुसिकोटमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुवै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र कांग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ ।

केही दिनअघि पनि मुसिकोटमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । त्यसैगरी गएको बिहीवार राति ११ बजे सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भयो । प्रहरीले झडप र तोडफोडको अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गर्नुपरेको थियो ।

यस्तै शनिवार हुम्लामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडपको अवस्था उत्पन्न भएको थियो । एमाले कार्यकर्ताहरू आफ्नो निकट कार्यकर्ताको होटलमा तोडफोड, आक्रमण गरिएको आरोप लगाउँदै माओवादी कार्यकर्ता झडपमा उत्रिएका थिए । उनीहरू नारा जुलुस गर्नुका साथै दुवै तर्फका कार्यकर्ताहरू तोडफोडसमेत गरेको प्रहरीले जाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा झडपका घटनाहरू बढ्दै गएका छन् । निर्वाचनका प्रतिस्पर्धी दलका कार्यकर्ताको विवाद–झडपका घटनाहरूलाई नियन्त्रण लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नु परेको छ । घटनाबाट सबै पार्टीका कार्यकर्ताहरू तथा प्रतिनिधिहरू घाइते भएका छन् । चुनावका बेलामा यस्ता खालका घटनाहरू नियन्त्रणको लागि प्रहरीहरू परिचालन गरिएको र प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०७९, सोमबार ०५:०२