पीडितलाई बेवास्ता
यतिबेला देशभर चुनावी चहलपहल बढेको छ । राजनीतिक दल र उम्मेदवारहरू भोट माग्न मतदाताको घरदैलोमा पुग्दैछन् । तर वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रस्थित बाढीपीडितहरूको अस्थायी शिविर भने सुनसान छ । यसअघिका चुनावमा भने यो शिविरमा निकै चहलपहल हुन्थ्यो । नेताहरू आउजाउ गरिरहन्थे । हरेक पार्टी र नेताहरू उम्मेदवार लिएर शिविरमा पुग्थे । उचित बसोबासको व्यवस्था गरिदिने आश्वासन दिन्थे, भोट माग्थे । यसपालि भने बाढीपीडित परिवारलाई भेट्न कोही उम्मेदवार गएका छैनन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले सबैतिर सरगर्मी बढिरहेका बेला यो ठाउँ सुनसान छ । यहाँ चुनावी चहलपहलले छोएको छैन ।
बाढीपीडित अस्थायी शिविरमा अहिले १७ घरधुरीका ८५ जना बस्छन् । शिविरमा ३५ जना मतदाता छन् । बाढीपीडितहरू यही स्थानमा आठ वर्षदेखि त्रिपालमुनी बस्दै आएका छन् । गाँस बासको व्यवस्थापन नहुँदा उनीहरूको अवस्था अहिले झनै विजोग छ । स्थानीय सरकार बनेपछि आफूहरूको व्यवस्थापन हुनेमा बाढीपीडित परिवारले ठूलो आस गरेका थिए । तर, पाँच वर्षे कार्यकाल सकिएर उनै नेता फेरि भोट माग्न हिँड्दासमेत बाढीपीडितको अवस्था ज्युँका त्युँ छ । कर्णाली प्रदेश सरकारले केही पीडित परिवारका लागि राहत स्वरूप रकम उपलब्ध गराए पनि सबै परिवारको उचित प्रबन्ध अझै हुन सकेको छैन । सरकारले दिएको न्यून राहत रकमले आफूहरूको घरबासको व्यवस्थापन नहुने उनीहरू बताउँछन् । यो शिविरमा वीरेन्द्रनगर ७, १० र १२ का बाढीपीडित परिवार बस्दै आएका छन् । २०७१ सालको बाढीले जायजेथा गुमाएका उनीहरूको अहिले पनि उस्तै विचल्ली छ । बाढीपीडित परिवारलाई चुनावको मुखैमा स्थानीय सरकारले अर्को पीडा थपेको छ । जसोतसो भ्याङ परेकै त्रिपालमा भएपनि ओत लागेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिकाले यही वैशाख २५ गतेभित्र ठाउँ छोड्न भनेको हो । तर बसिरहेको ठाउँ छोडेर कहाँ जाने, के गर्ने कुनै ठेगान छैन । व्यवस्थापन गर्नुको साटो नगरपालिकाले आफूहरूलाई बल प्रयोग गरेर हटाउन लागेको उनको पीडित परिवारको आरोप छ ।
सुर्खेतमा आठ वर्ष अघिको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । उतिबेला विस्थापित भएका सयौँ परिवार अहिले पनि विभिन्न ठाउँमा अस्थायी शिविरमा बस्दै आएका छन् । तर उनीहरूको पुनस्र्थापना भने अझै हुन सकेको छैन । यसतर्फ सम्बन्धित पक्ष गम्भिर हुन जरुरी छ । नागरिकलाई त्रिपालमा राखेर अन्य विकास र समृद्धिको नारा लगाउनु पक्कै सुहाउँदैन ।
प्रकाशित मितिः २५ बैशाख २०७९, आईतवार ०५:०३
सम्पादकीय ।