भोट माग्न आए, मत हाल्न सिकाएनन्
सुर्खेत: वीरेन्द्रनगर–३ कि देवी भट्टराईको घरमा दिनहुँजसो कोही न कोही उम्मेदवार आएकै हुन्छन् । बाजागाजा र ¥यालीसहित घरदैलोमा पुग्ने उनीहरूले भोट माग्छन् । केही पर्चा र कार्ड हातमा थमाउँछन् । यो चिन्हमा मत हाल्नुहोला पनि भन्छन् । तर, मत कसरी हाल्ने भन्ने तरिकाबारे कसैले सिकाउँदैनन् । देवी भन्छिन्, ‘अहिलेसम्म मत माग्ने धेरै आए, भोट हाल्न सिकाउने कोही आएनन् ।’ ४० वर्षीय उनले यसअघि विभिन्न निर्वाचनमा मतदान गरिसकेकी छन् । आफूले दिएको मत सदर भयो या बदर भन्ने उनलाई ढुक्क भने छैन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै देवीको छरछिमेकमा पनि भोट माग्नेको लर्को लागिरहेको छ । ‘हाम्रो घरमा मात्र होइन टोलभरी कतै पनि मत हाल्न सिकाएको देखिँदैन,’ उनले भनिन् ।
वीरेन्द्रनगर–४ का नवराज मगर ७९ वर्षका भए । उनीसँग पनि भोट माग्न पार्टीका नेता र उम्मेदवार आइरहेका छन् । ‘एक हप्ताजति भयो, भोट दिनुहोला भन्ने आइरहेका छन्,’ उनले भने, ‘हामीलाई मत दिनु भनेर जान्छन् ।’ उनी पनि भोट हाल्न सिकाउने भने अहिलेसम्म कोही नआएको बताउँछन् । थुप्रै पटक मतदान गरेको भएपनि उनलाई भोट हाल्ने सही तरिकाबारे जानकारी छैन । ‘मत त उहिल्यैदेखि दिँदै आएको हो । खेर पो गइरहेको छ कि थाहा छैन,’ मगर भन्छन् ।
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा देवी र नवराजजस्ता थुप्रै मतदातालाई बदर नहुने गरी कसरी भोट हाल्ने भन्ने अन्योल छ । राजनीतिक दल र उम्मेदवारले भने मतदाता शिक्षामा भन्दा मत माग्नमै बढी जोड गरेको पाइन्छ । यस पटकको चुनावमा निर्वाचन आयोगले समेत मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम गरेको छैन । विगतमा निर्वाचन अघि घर–घरमा टोलि खटाएर मतदाता शिक्षा दिँदै आएको आयोगले यसपालि उक्त कार्यक्रम नै नराखेको हो । मतदाता शिक्षा सबैको बेवास्तामा परेपछि मतदाताहरू कसरी भोट हाल्ने भन्ने अन्योलमा परेका छन् । ठूला–ठूला आमसभा र तामझामका साथ ¥याली गरेर खर्च गर्ने दलहरूले मतदाता शिक्षामा चासो नदिएको सुशासनकर्मी खिम रेग्मीले बताए । ‘राजनीतिक दलले मतदाता शिक्षा दिएको देखिएन,’ उनी भन्छन्, ‘कम्तीमा राज्यको संरचना र मत हाल्ने तरिकाबारे मतदातालाई सुसूचित गर्नु उनीहरूको पनि दायित्व हो ।’ भोट दिन नसिकाएरै मत माग्नुको अर्थ नहुने उनी बताउँछन् । राजनीतिक दलहरूले आमसभा र ¥याली गर्नुको साटो नमुना मतपत्र लिएर जनताको घरदैलोमा जानुपर्ने उनको भनाइ छ ।
विगतका वर्षहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा समेत ठूलो संख्यामा मत बदर हुने गरेका थिए । यसपटक झनै बदर हुने मतको संख्या बढ्न सक्ने बताइएको छ । मतपत्रको आकार र उम्मेदवारको संख्याका कारण पनि मत बदर हुने देखिएको छ । त्यसका साथै स्थानीय तह निर्वाचनमा केही पार्टीहरूबीच चुनावी तालमेल भएको छ । एक पदमा एउटा दलको उम्मेदवार र अर्कोमा अर्कै दलको उम्मेदवार हुँदा कुन चिन्हमा मतदान गर्ने भन्ने अन्योलमा मतदाता देखिन्छन् । संयुक्त रूपमा उठेका उम्मेदवारको चुनाव चिन्ह एउटै हो कि फरक–फरक भनेर मतदाताहरू दुविधामा पर्ने गरेका हुन् । चुनावी तालमेलले मत बदर हुने सम्भावना बढेर गएको जानकारहरूको आकलन छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा सुर्खेतमा झन्डै पाँच प्रतिशत मत बदर भएका थिए । सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनमा एक लाख ३८ हजार नौ सय २१ मत खसेको थियो । त्यसमध्ये ६ हजार आठ सय ४८ मत बदर भए । यो कूल खसेको मतको चार दशमलव ९३ प्रतिशत हो । यो अवस्थालाई न्यूनीकरण गर्नुपर्नेमा राजनीतिक दल र उम्मेदवारहरू भने चुनावी प्रचार–प्रसारमा मात्रै केन्द्रित छन् । सुर्खेतमा शुक्रवार गरिएको नमुना मतदानमा ३३ प्रतिशत मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको नमुना मतदानमा एक तिहाइ मत बदर भएका हुन् । ३६ जनाले मतदान गरेकोमा १३ मत रद्ध भएका थिए । त्यसमध्ये तीन मत पूर्ण तथा १० मत आंशिक रूपमा रद्ध भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राजनीतिक दलको क्रियाशीलतामा कमी भएकाले मत बदर हुने दर अझै धेरै रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउँछन् । निर्वाचन आयोगले कम खर्चमा निर्वाचन सम्पन्न गर्ने ध्येयले धेरै खर्च कटौती गरेकाले यसपटक घरदैलोमा मतदाता शिक्षा नगरिएको उनको भनाइ छ ।
निर्वाचन आयोगले यसपटकको सम्पूर्ण तयारी सकिएको बताए पनि धेरै मतदातामा मतदान कसरी गर्ने अन्योल भने कायमै छ । स्थानीय तह निर्वाचन नजिकिसँगै मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो सुनिन थालेको हो । स्थानीय सरकारको नेतृत्व चुन्न दिन गनेर बसेका मतदातालाई भोट हाल्न सिकाउन भने कोही गएका छैनन् । निर्वाचन आयोगले यसपालि घरदैलो कार्यक्रम स्थगित गरेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनले भने, ‘यो पटक घरदैलो कार्यक्रम राखिएको छैन् । विभिन्न सञ्चार माध्यमबाट मतदाता शिक्षा भने दिइएको छ ।’ मतदाताले चाहेको चिन्हमा मत राख्न सक्ने र सबै उम्मेदवारको निर्वाचन चिन्ह राखेर मतपत्र छापिएकाले अलमल हुनुपर्ने अवस्था नरहेको चालिसे बताउँछन् । उनका अनुसार वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलमा मतदाता शिक्षाबारे जानकारी दिन सहायता कक्ष स्थापना गरिनेछन् ।
प्रकाशित मितिः २५ बैशाख २०७९, आईतवार ०५:०५
साझा बिसौनी ।