मायाको छाप
जीवन बोझ लागेर के गर्नु मृत्यु मागेर पाइन्न
भो, मलाई सानातिना दुश्मनहरू कोही चाहिन्न
मेरो तकदिर नै ठूलो दुश्मन छ,
त्यति भए बाचुन्जेल पुग्छ…. ।
पत्रिकामा छापिएर आएका यी हरफ देख्नेका लागि कविता हुनन्, तर मेरो लागि हृदयमा गड्ने तीखा शब्दबाण हुन् । खबर पढ्न पत्रिका हेर्ने बानी छ, कहिलेकाहीँ पत्रिकाले उनका कविता छापेर ल्याउँछन् र मलाई घायल बनाउँछन् । समयले धेरै टाढा छोडेको अतीतलाई फर्की हेर्दा कहिल्यै आफू बीस÷एक्काईस वर्षको उमेरदार ठिटो पनि त थिएँ ।
उतिखेर केही दिनदेखि रूपाले माइत जान भनी जोडबल गरिरहेकी हुँदा बा–आमासँग स्वीकृति लिइ छोरो बोकेर हिँड्यौ हामी । बिहे गरेको दुई वर्षपछि जन्मेको हाम्रो सन्तानले मलाई नजिकबाट चिन्न थालिसकेको थियोे । मलाई देख्दा ऊ मुस्काउँथ्यो र बात मार्न खोज्थ्यो । सात महिना पुग्दै थियोे नि त । त्यतिबेला टेलिफोन र बिजुली थिएन, गाडी मोटर पनि चल्थेन । मन परेको मान्छेसँग छेड्खानी गर्दै पैदल यात्राको मजा बेग्लै हुन्थ्यो ।
बाटामा पालैपालो बच्चा बोकेर हामी गफिदै हिँडिरहेका थियौँ, खोला पारीको मोडमा अचानक जमुनासँग जम्काभेट भयो । म असमञ्जस्यतामा परेँ, मानौँ ऋण तिर्नु बाँकी थियो त्यसैले भागी हिँडेको हुँ । मानौं, भाका सारेको थिएँ फेरि भेट भयो तब केही बहाना खोज्दै थिएँ । उनी मसँग बोल्न संकोच मानिन् म मात्रै पो कसरी बोल्नु ! बरु रूपासँग गफ गर्न थालेपछि म केही छिन अप्ठ्यारै अप्ठ्यारोमा उभिरहेँ, छातीमा टाँसी समाएको बच्चासँग भुलेको बहानाले । बच्चा हेर्न उनी मेरो सामु आइन् गाला र चिउँडो मुसारिन । हेरिरहेँ, म निशब्द भएँ । आफ्नो हातमा मुठी पारेको दस रूपैयाँ बच्चाको मुख हेरेर छातीमा घुसारिदिइन् । त्यतिबेला एक रूपैयाँको पनि ठूलो मूल्य थियोे । फेरि उनी रूपातिरै आकर्षित भइन्, मैले सुस्त–सुस्त दुई/चार पाइला कदम बढाएँ । थोरै पर पुगेर फर्की हेर्दा पनि स्कुल पढ्दाका ती दुई सहेलीहरू आपसमा अल्झिरहेका थिए । म घुम्तीबाट ओझेल परेर अगाडि चौतारीमा कुरि बसेको थिएँ, केही छिनमा आइन् रूपा ।
‘के कुरा भयो त यति लामो ?’
‘त्यस्तै त हुन आफ्ना मनका कुरा ।’
‘कस्तो भनन ?’ म उठेँ ।
‘भाग्यमा नलेखेपछि आँखाले हेरेर मात्र पुग्दो रहेनछ रूपा, निर्धाका लागि त भाग्य पनि शत्रु रहेछ, भनी ।’
‘तिमीले के भन्यौ त ?’, बात मार्दै फेरि हिंड्यौँ ।
‘बा आमाले गोडा धोएर कन्यादान गरेपछि मेरो बिहे भएको हो । मलाई भाग्य खोसेको आरोप नलाए है जमुना, भने ।’
‘अनि ?’
‘त्यस्तो होइन । उनलाई जसरी पनि बिहे गर्नु थियोे, तिमी नभए अर्को कोही त अवश्य बिहा गर्थे नै गर्थे । भैगयो अब तिनि बितेका कुरा, भनी । मामाघर पुग्नु छ भन्दैथिइ गै ।’
भएको के भने, बिहेको लागि चिनामा नाम राशि सबै जुरि सकिएकोले केटा केटीको मनपेट मिलेमा मात्र पक्का गर्ने भन्ने कुरा केटी पक्षले गरेछन् । बा र पुसाजुसँग म जानुपर्ने भयो पक्का गर्न । केटीका बाले मेरो पढाइ लेखाइ र अरु पनि केही सोधे मैले जानेजती भने । हामी बसेको ठाउँमा केटीलाई बोलाइयो । बा पुसाजु र अरु मान्छेका उपस्थितिमा मैले केटीलाई सिधा हेर्न त सकिन, तर पनि देखेँ उनी उज्यालो बर्णकी दोहोरो जिउडाल भएकी लामो कपाल गरेगी राम्री युवती थिइन् । कठै, त्यतिबेला लाज कति लाग्ने ! केटो मन प¥यो कि परेन भनेर पुसाजुले सोध्नुभयो । टाउको निहुराएर भुतुक्क लजाइन् र धेरै पछि मन प¥यो भन्ने संकेतमा टाउको हल्लाइन्,जसको कारण मेरो हृदयमा खुसी छचल्कियो । केटी पक्षबाट मलाई पनि त्यसरी नै सोधियो केटी मन प¥यो या परेन । मैले दबाउन सकिन हृदयबाट आएको आफ्नो मुस्कान । त्यही मुस्कान नै मेरो जवाफ थियोे ।
केटीलाई चिनेको थिइनँ, तर कतै देखेको हो । म गाउँबाट फर्केका बखत बुटामा चढेर अम्बा खाँदा होकि घट्ट जाँदा हो या कतै मेलापर्वमा हो । कतै न कतै आँखा जुध्यो, विपरीत लिङ्गीप्रतिको गुरुत्वले तानेर अन्जानमा अलिअलि माया बस्यो । उता पनि त्यस्तै पो भयोकी भन्ने लाग्छ । त्यतिबेला हाम्रा दौंतरीले चिठीमा भावना पोखेर माया जताउँथे । चिठी लेखेर दिनु पनि ठूलो साहस चाहिन्थ्यो, आफूसँग त्यो ज्ञान र अभ्यास दुवै थिएन ।
गहनापात बनाउनु दुना टपरी गास्नु र चामल पिठो कुटान पिसान गर्नु धुमधामले बिहेको तयारी भैरहेको थियोे हाम्रो घरमा । उताबाट एक्कासी खबर आयोकी केटीका वृद्ध हजुरबाको देहान्त भएकोले बिहेदान वर्ष दिन अगाडि हुन नसक्ने । कस्तो दुःखद !
‘घटना घट्यो भवितव्यताको कुरा भयो । एक वर्ष त हो कुरौँलानी ।’ मैले भने ।
‘कसरी कुर्नु एक वर्ष ? उल्का छ त्यसपछि साढे सातिको दशाले छुन्छ । त्यसपछि पाँच वर्षसम्म छैन तेरो लगन, बिहा त यही साल नगरी हुँदैहुन्न ।’ आमाले भन्नुभयो ।
‘तपाईं त्यस्ता रुढीबादी कुरा नगर्नुस् ।’ आमालाई सम्हाल्दै थिएँ । बा र पुसाजु पनि मेरो विपक्षमा गएपछि ममाथि दैव लागे झैं भयो । किन अक्करे भीरमा आएर अडिन्छ समय परिस्थिति ? मेरो संघर्ष कर्कलो झैं फतक्क गल्यो, तब हारेँ आफैसँग । बिहे हुन बाँकी थियोे, तर मनले जीवन साथीको रूपमा स्वीकारी सकेको थियोे । हृदयमा माया फुटेर सिमल भुवा झैं उडिरहेका थिए रंगीचंगी कल्पनाहरू । असिना परेर मासियो मेरो सुन्दर सपना ।
पछिल्लो चोटि त म केटी हेर्न, मञ्जुरी लिन र दिन पनि गइनँ । भाग्य चिट्ठा जे जस्तो होला स्वीकारौंला भनेँ चित्त बुझाएँ । यता रूपासँग बिहा भैसकेपछि उताको आशा पूरै मेटियो । रूपाले यो वृतान्त थाहा नपाउने पनि कुरै थिएन । उनीहरू वारिपारी गाउँका दौंतरी थिए । चासो राख्ने हुँदा रूपालाई त यो पनि थाहा थियो कि, मृत्यु शोकको वर्षदिन पछि दोस्रोपटक कोही केटो माग्न जाँदा, जमुनाले अब जीवनमा बिहा गर्ने इच्छा नै छैन पो भनिन् अरे । त्यसपछि बिहाको अरु प्रस्तावलाई पनि निरन्तर अस्वीकार गरिन् अरे । सुन्दा पनि कति दिकदार लाग्यो । मेरो हृदयमा के माया नभएको होर, परिस्थितिले मञ्जुर गरेन त कसको के लाग्यो । जानेर बुझेर पनि उनले मलाई धोखेबाज ठानिरहेकि छन् । कोही योग्य केटासँग बिहादान भैदिएको भए यो मन कति शीतल हुनेथियो !
एक वर्ष पछि अकस्मात एउटा चिठी आयो एकान्तमा रुनि बनायो । गुप्ती रूपमा जतनले राखेको त्यो चिठी हजारौं चोटि पढेँ हुँला, तब त मन्त्र झैं कण्ठ छ । सम्झना आउँदा मनको पाना उघारेर पढ्ने गरेको थिएँ कण्ठस्थ व्यहोरा ।
जीवन खेलाँची ठान्ने पुरुष !
लुगामा दाग लागे धोएर जान्छ इज्जतमा दाग लागे कसै गरि जान्न, त्यसमाथि अँझ नारी । तनमा घाउ लागे मलम घस्न मिल्ने मनमा लागे कतै देखाउनै नमिल्ने । जीवनका इच्छा आकांक्षा र रहरहरू अँध्यारो सुरुङ्गतिर पस्दै गए । भाग्यबाट यसरी ठगिनका लागि मात्र जन्मिएकी रहेछु म ।
एक वर्ष कुर्न नसक्ने केले बनेको होला त्यो हृदय ! प्रेममा त्याग हुन्छ भन्छन् मान्छेले जुनिभर कुर्छन्, यो धोकालाई मैले प्रेमको उपहार सम्झने छु आजीवन ।
बिहा भएकोमा बधाई छ, दाम्पत्य जीवन सुखद रहोस् ।
प्रिय दुश्मन तराजुमा जोखेर छोड्यौ मेरो जीवन ।
बिदा हुन्छु ।
अभागिनी जमुना
त्यो चिठीले मलाई हजार चोटि रुवायो होला । एकान्तमा रोइरहेँ तर मनमा उर्लेका भावनालाई उनेर जवाफ कहिल्यै लेखिन किन कि उनको इज्जतको ख्याल राख्नुपर्ने विषय सम्झे, सफल जीवनको कामना पनि गरिरहेँ ।
समय उडेर टाढा गयो समाज र भूगोल पनि परिवर्तन भयो । नयाँ आउँछन् पुराना बिलाउँछन् । मेरो जीवनको फिक्री गर्ने बाआमा परमधाम भए । मसिना छोराछोरी बढेर लक्का जवान भए । बाको इच्छा बमोजिम जीवनलाई गतिशीलता दिन मैले सेनामा जागिर खानुपर्ने थियोे तर म त निजामती सेवामा जोडिएँ । बिहेदान त्यागी कानुन पढेकी जमुनाले वकालत छोडेर कलेजतिर प्रध्यापन गर्न थालिन् । सहरबाट गाउँ–गाउँसम्म मोटरबाटो पुग्यो । घर घरमा टेलिफोन जोडियो, टेलिभिजन राखियो । टेलिभिजनमा समाचार वाचन गर्ने एउटी कोही वाचिकाले पनि जमुनाकै झल्को बोकि ल्याउँछिन् । सम्झनाले नसताउने कुनै परिवेश छैन ।
मागि बिहेका लागि केटी हेर्न जाँदैमा अनिवार्य बिहे गर्नै पर्ने परम्परा र सामाजिक बन्धन केही रहेन छ । बिहे नहुँदा पनि कोही बिटुलोपर्ने हुँदो रहेनछ । मेरी आमाको भनाइअनुसार आमालाई पनि धेरै ठाउँबाट माग्न हेर्न आएका रहेछन् । अन्तमा मेरा बाको भाग्य जोडिएछ । भाग्यमा नभएपछि नाम राशि र चिना टिप्पन जुराएर, मनपेट मिलाउँदैमा पनि कर्म सफल हुँदो रहेनछ । नहुने कुरामाथि मनभित्र अभिमान पालेर नराखे हुन्थ्यो । मलाई हैरानी दिने त्यो घाती अभिमानले आफैलाई पनि त क्षेती दिइरहेको छ, त्यो बुझिदिए हुन्थ्यो ।
सबथोक त संसारमा कसलाई पो पुग्छर कतै न कतै थोरै सन्तोष पनि लिनुपर्छ । सन्तोष लिएको थिएँ, सन्तोषले सब पुगेकै थियोे । बस् त्यही एक थोक थियोे अपुरो, जो कहिल्यै पुगेन र बाचुञ्जेल सताउन पनि छोड्ने भएन । अदृश्य भित्री घाउले सताएर जीवनका धेरै रातहरू अनिदो पारेको थियो । निदाएका कोही रातमा उनी मेरो सपनामा आउँछिन् र उपद्रो गर्छिन् । कहिले अग्लो चुचुराको चौतारीमा, जुनेली रातमा हामीले धक फुकाएर गीत गाएका थियौं । नाङ्लो जत्रो ठूलो जुन आकाशमा हाम्रो नजिकै आउँदा तल फेद र फाँटमा दुनियाँ मस्त निदाएको थियोे । फेरि कहिले घाम ओरालो झर्दा पहाडको थाप्लोबाट हामी निर्जन र अन्जान यात्रामा हिँडिरहेका थियौँ । बाटामुनी एउटै मात्र रातो फुल फक्रेर फुलिरहेको थियोे । मैले टिपेर उनको चुल्ठोमा सिउरि दिएँ । त्यसै बखत वरिपरि आकशमा फन्को मारेर कराउँदै चीलहरूले हामीलाई घेरा हाले । डरले म आत्तिएँ तर उनी मेरो छातीमा टाउको अड्याएर चीलहरूलाई जिस्काइ रहिन् । आँतमा ज्वरो निकालेर मनमा हलचल मच्चाउँदै जान्छन् बुझ्नै नसकिने विचित्रका सपनाहरू । सपना त के आफ्नो मनको बह पनि कसैसँग निर्धक्क कहन नसक्ने लाचार बनायो परिस्थितिले । मलाई जस्तै उता पनि त मनमा अनेकन कुरा खेल्दाहुन, सपनाहरू आउँदाहुन् । ऐना हेरि सिउँदोमा सिन्दुर लगाएको, सुखदुःखमा मेरै हात समाएको, आनन्दमा आँखा चिम्लेको, प्रसव पीडा व्यहोरेको, कलिलो नानीको गालामा गाला जोडी रमाएको जस्ता मिठा मिठा कल्पना पनि त पक्कै मथिङ्गलमा नाची रहँदाहुन् ।
रूपा कहिलेकाही मामुली कारणमा झर्किन्छिन् र नजाती लाग्छ । जीवनमा उनी भएकी भए यसरी त रिसाउन्नथीन् होला भनेर सम्झन्छु । खुसी भएर रूपाले अंगालो हाल्दा पनि उनैलाई सम्झन्छु । उनी मेरो नाता सम्बन्धले कोही पनि त होइन, तर माया उतै उतै बगिदिन्छ । त्यसरी बगेको माया उनीसँग पनि पुग्दैन त्यसै खेर जान्छ । जीवनमा धेरै–धेरै माया त्यसै खेर फालेको छु । उनीसँग घरजम भएको भए पनि छुट्टै पो के हुन्थ्यो र, यसरी नै त चल्दोहो जिन्दगी । सधैँ हाँसी खुसी रहे पनि कहिले कसो कलह कचिंगल पनि त हुँदोहो । यिनै छोराछोरी नभए पनि कुनै छोराछोरी अवश्यै हुन्थे । आफ्नो प्राण जस्तै प्यारा यिनी छोरा छोरीलाई मनले कल्पनामा पनि पर सार्न सक्दैन, न सक्छ यो दोषी मनले लगन गाँठाबाट कसेर जोडेको रूपासँगको पवित्र सम्बन्ध पर्गेल्न । असमझदारीमा लोग्ने स्वास्नी बीच भनाभन त कसको पो हुन्न र ! तर रूपाको रूप, माया, व्यवहार, गुण समर्पणमा कतै केही खोट छैन । यसो भनौंन मेरो जीवन रूपाकै कर्मले सार्थक बनेको छ । हुने भन्दा पनि नहुनेतिर कल्पना उछिटिन्छ बेसरी, आफ्नो लेखान्तमा जस्तो लेखियो त्यो बदलिन्थ्यो कसरी ! सम्झना छ मनभरी भेटघाट छैन, माया छ बोलचाल छैन । मायाको छापले जे सजाय तोकेको छ चुपचाप स्वीकार्नुको विकल्प छैन ।
कोषका कुनाबाट रसाएको पानीले आँखा डम्म भरिएर दृष्टिलाई छेकि अक्षर धुमिल पारेपछि, आँखाको परेलामै लिपि ओभानो पारेर कविताको बाँकी अंश पढेँ ।
…. .मनको बत्ती निभेकोले उज्यालो छैन जगत
मृत्युले छल गर्दा जीवन यतै अल्झिरहेछ फगत ।
पखेटा हालेर खुसी भाग्यो
आशा दिएर भाग्यले ठग्यो,
मिठो सपना जसले देखायो
उसैले निमोठेर लग्यो ।
-उमालाल आचार्य
प्रकाशित मितिः २४ बैशाख २०७९, शनिबार ०५:०३
उमालाल आचार्य ।