निर्वाचन लक्षित सुरक्षा रणनीति सार्वजनिक
सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा रणनीति बनाएको छ । प्रशासनले मतदान स्थलमा खटिने कर्मचारीको सुरक्षादेखि निर्वाचन अवधिमा मदिरा बिक्री तथा सेवनमा कडाइ गर्ने रणनीति सार्वजनिक गरेको हो । निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित घटनाहरू रोक्न प्रशासनले मदिरा बिक्री–वितरणलाई व्यवस्थित बनाउन समय निर्धारण गरेको छ । प्रशासनका अनुसार अबको एक साता साँझ ८ बजेभन्दा पछि मदिरा बिक्रीमा रोक लगाइएको छ । मतदानस्थलमा खटिने कर्मचारीलाई हतोत्साहित गर्ने गतिविधि गरिए जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनेसमेत प्रशासनले जनाएको छ । निर्वाचन अवधिभर लागू हुनेगरी बनाइएको यस्तो सुरक्षा रणनीति प्रशासनले शुक्रवार सार्वजनिक गरेको हो ।
चुनाव अवधिभर साँझ ८ बजेपछि मदिरा बिक्रीवितरणमा रोक
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति बनाइएको जनाए । उनले यसको पालना गर्नसमेत सबैलाई आग्रह गरे । जिल्लामा क्रियाशील राजनीतिक दल, सार्वजनिक पदाधिकारीहरू, सरकारी कर्मचारी तथा सर्वसाधारण व्यक्तिहरूले पालना गर्नुपर्ने गरी निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पनि पालना गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले श्रव्य–दृश्य सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीलाई लक्षित गरी कुनै पनि अवाञ्छित गतिविधिहरू नगर्न अनुरोध गरेको छ ।
प्रकाशित मितिः २४ बैशाख २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।