गन्जागोल तालमेल
सुर्खेत: सुर्खेतका केही पालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई दलबीचको सहमतिअनुसार पालिकास्तरमा संयुक्त उम्मेदवार बनाइएको छ । तर, वडामा भने यी दुवै दलले आ–आफ्नै उम्मेदवार उठाएका छन् । नगरको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा भागबन्डा गरिए पनि वडामा सोहीअनुरूपको तालमेल नभएको हो । नेताहरूले वडा तहमा तालमेलको कसरत भने अझै जारी राखेका छन् । तालमेल सम्भव हुने देखिएका ठाउँमा सहमतिअनुसार केहीको उम्मेदवारी निष्क्रिय बनाउने प्रयासमा नेताहरू लागे पनि सफल हुन सकेका छैनन् । एकले अर्को पार्टी ‐कांग्रेस–माओवादी) का उम्मेदवारलाई समर्थन गर्नेगरी प्रयास भइरहेका हुन् । उम्मेदवारहरू भने आ–आफ्नै चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुगिसकेका छन् । मतदानको एक साता मात्रै बाँकी रहँदासम्म वडामा तालमेलको सहमति हुने छाँट देखिएको छैन ।
कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले पालिकामा गठबन्धन भएपनि वडाहरूमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । उनले भने, ‘तालमेलको सहमतिका लागि जिल्ला तहमा छलफल भयो, कुरा नटुुङ्गिएपछि वडाबारे स्थानीय कमिटीलाई नै जिम्मेवारी दिइएको छ । सम्भव भएका केहीमा तालमेल पनि भएको छ ।’ उनले वडामा छिटफुट रूपमा तालमेल भएको जनाए । वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख र उपप्रमुख पदमा भागबन्डा गरेका छन् । नगरका १६ वटै वडामा भने यी दुवै पार्टीले प्रतिस्पर्धा गर्दैछन् । वीरेन्द्रनगरको दुई दलीय चुनावी गठबन्धनबाट नगर प्रमुखमा कांग्रेसका उपेन्द्रबहादुर खड्का र उपप्रमुुखमा माओवादी केन्द्रकी शान्ति ढकाल उम्मेदवार छन् । उनीहरू घरदैलो अभियासमेत संयुक्त रूपमा गरिरहेका छन् । वडामा यी पार्टीका उम्मेदवारले अलग–अलग चुनावी कार्यक्रम गरिरहेका हुन् । तालमेलमा भद्रगोल हुँदा उम्मेदवारदेखि मतदातासम्म अलमलमा रहेको कांग्रेस सुर्खेतका एक नेता बताउँछन् । ‘अहिलेको चुनाव निकै गन्जागोल हुनेभयो, हाम्रा मतदातासमेत अन्योलमा छन्,’ उनले भने ।
नगरमा मनोनयन दर्ता गर्दा कांग्रेस र माओवादी केन्द्रले प्रमुख उपप्रमुखमा छुुट्टाछुुट्टै उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रले प्रमुखमा राजेन्द्र गिरीको मनोनयन दर्ता गराएको थियो भने कांग्रेसबाट उपप्रमुखमा रामकुुमारी थापाको उम्मेदवारी परेको थियो । तालमेल गर्ने सहमति भएपछि गिरी र थापाले उम्मेदवारी फिर्ता लिएका थिए । वीरेन्द्रनगरमा चुनावी तालमेल भएपछि खड्का र ढकालको उम्मेदवारी कायम रहेको हो ।
सुुर्खेतका नौ स्थानीय तहमध्ये चार वटामा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको छ । ती सबैजसो पालिकामा वडामा भने एकअर्काबीच प्रतिस्पर्धा छ । पालिकामा गठबन्धन गर्ने सहमति भएको भएको एक÷दुुई दिनमा वडामा पनि तालमेल गर्ने भनिए पनि सम्भव नभएको हो । कांग्रेस सुर्खेतका सचिव सुवेदीले अहिले उम्मेदवारहरू आ–आफ्नै तरिकाले चुुनावी प्रचार–प्रसारमा जुुटिसकेको बताए । संयुक्त रूपमै उम्मेदवारी नपरे पनि कांग्रेस बलियो भएका ठाउँमा माओवादीले र माओवादीको जनाधार रहेको ठाउँमा कांग्रेसले आपसी सहयोग गर्ने उनी बताउँछन् । ‘वडा तहमा उम्मेदवारलाई अलमल भएकै छ,’ उनी भन्छन्, ‘तैपनि आ–आफ्नै तरिकाले चुुनावी प्रचारमा लाग्नु भएको छ ।’ वडा र बाँकी पालिकामा पनि अन्तिम समयसम्म तालमेलको प्रयास रहने सुवेदीको भनाइ छ ।
माओवादी केन्द्र सुर्खेतका सचिव टोपबहादुर दर्लामीले वडा तहमा आ–आफ्नै उम्मेदवार रहेको बताए । ‘हामीले जिल्लाका चार पालिकामा कांग्रेससँग तालमेल गरेका छौँ । वडाहरूमा दुवै दलका उम्मेदवारहरू छुट्टाछुट्टै रूपमा चुनाव प्रचारमा लाग्नु भएको छ ।’ उनले भने अब वडा र बाँकी पालिकामा तालमेल हुने सम्भावना जीर्ण हुँदै गएको बताए । वीरेन्द्रनगरका वडाहरूमा कांग्रेसले चाहेको अवस्थामा अझै पनि तालमेल हुनसक्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् । कांग्रेसले वडामा आफ्नो बलियो पकड रहेको भन्दै तालमेलमा इच्छा नदेखाएको उनीहरूको भनाइ छ । तालमेल भएका चार पालिकामध्ये चौकुने गाउँपालिका अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा उपप्रमुख माओवादी केन्द्रले लिएको छ भने सिम्ता गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीको भागमा परेको छ । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा प्रमुख तथा सिम्ता गाउँपालिकाको अध्यक्ष र चौकुने गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार कांग्रेसबाट उठेका छन् ।
स्थानीय तहको चुनाव नजिकै आइसक्दा पनि तालमेलबारे नेता र मतदातामा अन्योल देखिएको छ । यसले गर्दा सत्तारुढ दलहरूका चुनावी कार्यक्रमसमेत प्रभावित बनेका छन् । सुर्खेतमा नेकपा ‐एमाले) ले चुनावी प्रचार सुरु गरिसक्दा गठबन्धन दलहरूले उम्मेदवारी नै टुङ्ग्याउन सकेका थिएनन् । ढिलागरी केही पालिकामा सहमति भएपनि अझै उम्मेदवारबारे अन्योल भने कायमै छ । गठबन्धनका दलहरूले केन्द्रीय गठबन्धनको निर्णयको पर्खाइमा आफू अनुकुलको तयारी समयमै गर्न नपाएका हुन् । सत्तारुढ गठबन्धनको एक घटक नेकपा ‐एकीकृत समाजवादी) भने सुर्खेतका सबै पालिका तहमा एक्लै चुनाव लड्दै छ । जिल्लाका कतिपय पालिकाका वडामा कांग्रेस, माओवादी केन्द्र र समाजवादी बीच पनि तालमेल भएको नेताहरूले बताएका छन् । वडा तहमा केही ठाउँमा तीन दल र कतै दुुई दलबीच तालमेल भएको माओवादी केन्द्रका जिल्ला सचिव दर्लामीले जनाए ।
प्रकाशित मितिः २४ बैशाख २०७९, शनिबार ०५:०५
रजनी याेगी ।