पदक जित्नेलाई पुरस्कार घोषणा

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने कर्णालीका खेलाडीहरूलाई नगद पुरस्कार दिने घोषणा सरकारले गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ । प्रदेश सरकारले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नका लागि एक करोड रूपैयाँ कर्णाली प्रदेश खेलकुद परिषद्लाई उपलब्ध गराउने भएको छ । परिषद्का सदस्य–सचिव विश्वामित्र संञ्यालका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक विजेता खेलाडीलाई दुई लाख, रजत पदक विजेता खेलाडीलाई एक लाख ५० हजार र कास्य पदक विजेता खेलाडीलाई एक लाख रूपैयाँ प्रदेश सरकारले पुरस्कृत गर्नेछ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कर्णालीले गरिरहेकाले अहिलेदेखिनै खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरिएको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्नका लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन पनि प्रदेश सरकारले गर्ने जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३८ वटा खेलकुद प्रतियोगिता हुँदैछन् । कर्णाली प्रदेशले २८ वटा खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छ । खेलाडी, प्रशिक्षक, टीम व्यवस्थापक गरेर प्रतियोगीतामा ६ सय बढी कर्णालीबाट सहभागी हुनेछन् ।

सदस्य–सचिव संञ्यालका अनुसार कर्णालीले एथलेष्टिक्स, कराँते, तेकाण्दो, बक्सिङ, उसु, भारोतोलन, फुटबल, भलिबल, चेस, रग्वी, बास्केटवल, कुस्ती, कवड्डी, हेण्डबल, व्याटमिन्टन, पौडी, क्रिकेट, सुटिङलगायतका खेलमा सहभागिता जनाउनेछ ।

प्रकाशित मितिः   २३ बैशाख २०७९, शुक्रबार ०५:०२