पानीको पिर

वैशाखको चर्को गर्मीमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका मत माग्न उम्मेदवारहरू घरदैलो गर्दैछन् । तर सुर्खेतको वीरेन्द्रनगरका मतदाता भने उम्मेदवारहरूसँग पानी माग्दैछन् । खानेपानीको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने भन्दै नागरिकहरू पानीको पिर पोखिरहेका छन् । त्यसो त हरेक निर्वाचनमा यहाँ पार्टी र उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्छ, खानेपानी । यसपटकको स्थानीय तह निर्वाचनमा पनि उपत्यकाको खानेपानी संकट सबैको प्राथमिकतामा परेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले तयार पारेका घोषणा–पत्रमा खानेपानी कतै छुटेको छैन । यो विषय प्रत्येक प्रचार सामग्रीमा अग्रबुँदामै अटाएको छ । खानेपानीको अभाव टार्न आफूलाई मतदान गर्नुपर्ने आह्वानसहितको प्रतिबद्धता जनाउन उम्मेदवारहरू घरदैलोमा पुगेका छन् ।

राजधानीको नगर भएपनि यहाँ खानेपानीको चरम अभाव छ । गर्मीयाममा वीरेन्द्रनगर उपत्यका काकाकुल हुन्छ । त्यसैले नगरका मतदाता उम्मेदवारसँग विकासका ठूलठूला खाका खोज्दैनन्, पानी ल्याउने प्रतिबद्धता मात्रै खोज्छन् । मतदाताको माग बुझेका उम्मेदवारहरू पनि आफ्नो चुनावी एजेन्डामा खानेपानी छुटाउँदैनन् । वीरेन्द्रनगरका सबैजसो वडामा खानेपानीको हाहाकार छ । नगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले आलोपालो गरेर पानी वितरण गर्दै आएको छ । अहिले ९६ घण्टामा एक पटक उपभोक्ताका धारमा पानी पुग्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा करिब २० हजार धारामार्फत खानेपानी सेवा दिँदै आएको छ । नयाँ धाराका लागि चार हजार हाराहारी निवेदन संस्थामा थन्किएका छन् । बढ्दो सहरीकरणले वीरेन्द्रनगरमा पानीको माग अत्यधिक छ । मागअनुसारको आपूर्ति नहुँदा संकट चुदिँदै गएको हो । पाँच वर्षसम्म स्थानीय जनप्रतिनिधिलाई यही समस्या राखेका मतदाता अहिले फेरि उम्मेदवारहरूबाट पानी पाउने आश्वासन पाइरहेका छन् । विगतका कैयन् चुनावमा उम्मेदवारका यस्तै प्रतिबद्धता सुन्दै आएका मतदाता आश्वस्त भने हुन सकेका छैनन् ।

स्थानीय तहका उम्मेदवारले भनेजस्तो उपत्यकामा सहजै खानेपानीको समस्या हल गर्न भने सम्भव छैन । नजिकै पानीका स्रोतहरू छैनन् । उपत्यकाको खानेपानी संकट समाधान गर्न एक मात्र विकल्प भेरी नदीको पानी ल्याउनुपर्ने देखिन्छ । भेरी नदीको पानी उपत्यकामा ल्याउने महत्वाकांक्षी योजनाको चर्चा चलेको पनि वर्षाैँ भएको छ । स्थानीय सरकारले चाहेर मात्र खानेपानी समस्या हल गर्न सम्भव नभएको यस क्षेत्रका जानकारहरू बताउँछन् । राजधानीको आवश्यकतालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या हल गर्न भेरी नदीबाट उपत्यकामा पानी ल्याउने योजना भने अघि बढाइसकिएको छ । भेरी पम्पिङ आयोजना निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । तर यो आयोजना सम्पन्न हुन भने अझै केही वर्ष लाग्ने देखिएको छ ।

प्रकाशित मितिः   २३ बैशाख २०७९, शुक्रबार ०५:०३