आश्वासनले आजित

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव नजिएपछि यतिबेला राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । केही दिनयता टोल–टोल र घर–घरमा चहलपहल देखिन्छ । उम्मेदवारहरू दैनिकजसो भोट माग्न मतदाताका आँगनमा पुगिरहेका छन् । अरु बेला नजिक नपर्ने नेताहरू चुनावताका भने मतदाता खोज्दै हिँड्छन् । उनीहरूका सुख–दुःख बुझ्न घरमै पुग्छन् । अहिले यसरी धाउनेहरू जितेपछि भने हराउने गरेका छन् । नेताहरू अर्को चुनावमा फेरि उस्तै आश्वासन लिएर मात्रै बस्तीमा छिर्ने गरेको आम मतदाताको आरोप छ । निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलो कार्यक्रमअन्तर्गत दिनैपिच्छे मतदाता भेट्न गइरहेका छन् । उनीहरू चुनावी प्रतिबद्धता हात–हातमा बोकेर जनताको दैलोमै पुग्ने गरेका हुन् । मतदातालाई उम्मेदवारका आश्वासन सुन्नमै ठिक्क छ ।

यसपालि भोट माग्न जानेहरूमध्ये अधिकांश अघिल्लो स्थानीय तहको चुनावमा पनि मतदाताका घरदैलोमा पुगेका थिए । तीमध्ये कतिपयले चुनाव जिते । तर, पाँच वर्षसम्म धेरैले फर्केर मतदाताका आँगनमा टेकेनन् । मतदाताहरू गुनासो गर्छन्, ‘अहिले फेरि चुनाव आयो, बल्ल नेताहरू देखिए ।’ राजनीतिक पार्टी र नेताहरूको व्यवहारका कारण चुनाव भनेको जनता झुक्याउनु मात्रै रहेछ भन्ने मतदातामा परेको छ । नेताले दिइरहने आश्वासनबाट उनीहरू दिक्क भएका छन् । राजनीतिक दलहरूले पाँच वर्षअघि मत माग्न जाँदा गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको विकास गर्ने वाचा गरेका थिए । तर, यो अवधिमा निर्वाचित जनप्रतिनिधिले गरेका प्रतिबद्धता पुरा नभएपछि मतदाता निराश छन् । फेरि फकाएर मत माग्ने मेसोमा नेताहरूले घरदैलो गरिरहेको मतदाताको बुझाइ छ ।

चुनावका बेला उम्मेदवारहरूको नजर सबैभन्दा पहिले विपन्न समुदायमा पर्छ । ती ठाउँमा आश्वासन दिएर भोट प्रभावित पार्न सकिन्छ भन्ने मान्यता पार्टी र नेताहरूको छ । त्यसैले नेताहरू निर्वाचन आयो कि विपन्न बस्तीमा केन्द्रित हुने गरेका छन् । वडा, गाउँ र नगरमा उम्मेदवार बनेकाहरू धेरैजसो स्थानीय तहको दोस्रो कार्यकालका लागि फेरि चुनावी मैदानमा छन् । यो अवधिमा राम्रो काम गरेकाहरू त्यसैलाई देखाएर भोट माग्दैछन् भने नयाँ अनुहारहरू आफूले जिते बस्तीको मुहारै फेरिदिने आश्वासन बाँडिरहेका छन् । विगतको जस्तो अवस्था अहिले छैन । पछिल्ला वर्षहरूमा मतदाता निकै सचेत भइसकेका छन् । सधैँको आश्वासनबाट आजित उनीहरू अब भने उम्मेदवारका एजेन्डा हेरेर मात्र मत दिने पक्षमा देखिन्छ । त्यसैले राजनीतिक दल र उम्मेदवारले मतदाताको मन जित्न आफ्नो व्यवहार, कार्यशैली र प्रतिबद्धताहरूलाई व्यवस्थित गर्न आवश्यक छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७९, बिहीबार १३:११