प्रदेश सरकारले यो वर्ष आठ दिन सार्वजनिक बिदा दिने

सुर्खेत: कर्णाली प्रदेश सरकारले २०७९ सालमा आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशले राष्ट्रियबाहेक कर्णालीमा थप आठ दिन सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । ऐतिहासिक दिनका रूपमा चैत १२ गते जुम्लामा मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिइने छ ।

त्यस्तै, कर्णाली सरकारले साउन १ गतेलाई साउने संक्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा हुनेछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरूमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७९, बिहीबार ०५:०१