फेरि कोरोना त्रास
देशभर स्थानीय चुनावको माहोल छ । यही बेलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास फेरि बल्झिएको छ । केही समययता संक्रमणदर निकै न्यून भएको थियो । छिटफुट रूपमा संक्रमित भेटिन्थे । निको हुनेको संख्या बढ्दै थियो । त्यसैले पनि महामारीको त्रासबाट बाहिर निस्किएर आम गतिविधि सञ्चालले गति लिन थालेको थियो । एकातिर निर्वाचनको रापताप बढ्दै गएको बेला सरकारले कोरोना संक्रमण दर पनि बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले नेपालमा पनि त्यसको प्रभाव पर्नसक्नेतर्फ सचेत गराइएको छ । त्यसैले पूर्ण रूपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको हो ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित भेटिन थालेका छन् । भारतसँग नेपालको सिधा सम्पर्क छ । रोजगारीका लागि नेपालीहरू आउजाउ गरिरहन्छन् । जसका कारण संक्रमण सजिलै भित्रिने जोखिम रहन्छ । यसलाई मध्यनजर गर्दै आवश्यक सावधिान अपनाउनुपर्ने भएको छ । नेपाल भित्रिने नाकामा पनि आवश्यक जाँच र त्यसपछि क्वारेन्टिन, आइसोलेसन गर्ने व्यवस्था गर्न आवश्यक छ । सरकारले भेरियन्टको फैलावट रोक्नलाई आवश्यक पर्ने सबै उपायहरू अपनाउन पर्ने, त्यसपछि संक्रमण देखिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाउने, धेरैभन्दा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लगायतका काम गर्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ । तर आवश्यक सतर्कता भने अपनाएको देखिँदैन । त्यसो त सरकारले मात्रै सतर्कता अपनाउने होइन, आम नागरिकले पनि सतर्कता अपनाउन उत्तिकै जरुरी छ । तर्सिनेभन्दा पनि सर्तक हुन आवश्यक रहेको विज्ञहरूको सुझाव छ । संक्रमणबाट जोगिन आम नागरिकले मास्क लगाउने, भिडभाडमा नजाने, भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुनेलगायतका जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्न आवश्यक छ । यसले संक्रमण हुने र अरुमा सर्ने जोखिम कम गर्दछ ।
कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरूले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेका छन् । अब स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक देखिएको छ । निर्वाचनको समय भएकाले भिडभाडजन्य गतिविधि बढी नै हुने गर्दछन् । यसले संक्रमणको थप जोखिम बढाउँछ । त्यसैले चुनावी प्रचार अभियानहरूमा पनि विशेष सावधानी अपनाउनेतर्फ सचेत हुन जरुरी छ । मास्कको प्रयोगलाई अनिवार्य गरेको खण्डमा पनि संक्रमणको जोखिमबाट सुरक्षित रहन सकिन्छ ।
प्रकाशित मितिः २० बैशाख २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।