फेरिए मत माग्ने माध्यम

सामाजिक सञ्जालको प्रयोगले चुुनावी प्रचार सहज

सुर्खेत: केही वर्ष अघिसम्म उम्मेदवारलाई मत माग्न मतदाताका घरमै पुग्नुपर्ने बाध्यता थियो । निर्वाचनका बेला पार्टीका घोषणा–पत्र र आफ्ना प्रतिबद्धता लिएर उम्मेदवार हरेक मतदातालाई भौतिक उपस्थितिमै भेट्थे । मतदाताले आफ्ना समस्या राख्थे, उम्मेदवार आश्वासन दिएर फर्कन्थे । अहिले परिस्थिति केही बदलिएको छ, उम्मेदवारलाई आफ्ना चुनावी एजेन्डा भन्न घरदैलोमै पुग्नु पर्दैन । मतदाता नभेटेरै जनमत निर्माण गर्न सकिने भएको छ । सामाजिक सञ्जालका माध्यमबाट उम्मेदवारहरू एकैपटक धेरै मतदातासम्म सहजै जोडिने गरेका छन् । प्रचारमा प्रविधिको प्रयोग बढेसँगै दलहरूका घरदैलो अभियान औपचारिकतामा सीमित हुँदै गएको देखिन्छ ।

दलहरूले उम्मेदवारसहित यसपटक पनि घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । तर, विगतका वर्षहरूजस्तो दृश्य भने यसपालि छैन । चुनावी प्रचारको नाम घरदैलो कार्यक्रम राखिए पनि उम्मेदवारहरू नेता कार्यकर्ता र समर्थकहरू लिएर सडकमा ¥याली गर्दै हिँडेका भेटिन्छन् । पार्टीहरूले उम्मेदवार अगाडि लगाएर आफ्नो शक्ति प्रदर्शन गर्ने गरेका हुन् । ‘विगतका चुनावहरूमा उम्मेदवार घरमै पसेर मतदातालाई फकाउथे । अहिले बाटोबाटै हात हल्लाएर जान्छन्,’ वीरेन्द्रनगर–९ का अशोक शाही भन्छन्, ‘सामाजिक सञ्जालले गर्दा मत माग्ने तरिका नै बदलियो ।’ उनले उम्मेदवारहरूले तिनै ¥याली र कोणसभाहरूको भिडियो फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा राखेर प्रचार गरिरहेको जनाए ।

राजनीतिक पार्टी र उम्मेदवारहरूले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मिडिया परिचालनको योजना बनाएर समेत काम गरिरहेका छन् । प्रचार कार्यलाई व्यवस्थित गर्न विभिन्न समितिहरू बनाइएका छन् । सुर्खेतमा नेकपा ‐एमाले)ले वैशाख ३० को स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी झन्डै एक महिना अघिदेखि पार्टी कार्यालयमा मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । पार्टी र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्न निर्वाचन परिचालन र प्रचार समिति बनाएको छ । विभिन्न प्रविधि र फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगलाई पनि उत्तिकै जोड दिइएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । ‘समय सीमाका कारण पनि सबै मतदाताको दैलोमै पुग्न कठिन देखिएको छ,’ उनी भन्छन्, ‘सकभर घरमै पुग्ने र सम्भव नभएका ठाउँमा सामाजिक सञ्जालहरूमार्फत पार्टीका एजेन्डा र उम्मेदवारहरूका प्रतिबद्धता पु¥याउने काम भइरहेको छ ।’

पार्टी तथा उम्मेदवारले सहरी क्षेत्रमा बढी नै सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । वीरेन्द्रनगरमा चुनावी प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अन्य पालिकाभन्दा बढी भइरहेको हो । चुनाव लक्षित गरेर नेपाली कांग्रेस सुर्खेतले पनि प्रचारलाई तीव्रता दिएको छ । कांग्रेस स्रोतका अनुसार जिल्ला पार्टी कार्यालयमा प्रचार डेस्क स्थापनाको तयारी भइरहेको छ भने सामाजिक सञ्जालको प्रयोग गरिँदै आएको छ । सुर्खेतमा नेकपा ‐माओवादी केन्द्र), नेकपा ‐एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल र तीनका उम्मेदवारले मत माग्न सामाजिक सञ्जालहरूको प्रयोग गरिरहेका छन् । स्थानीय तहका उम्मेदवारहरू आफूहरूसँग सबै मतदातासम्म पुग्न पर्याप्त समय नभएकाले फेसबुक ट्वीटरजस्ता माध्यमबाट आफ्ना एजेन्डा राख्ने र मत माग्ने काम भइरहेको बताउँछन् । ‘सकेसम्म घरघरमै पुग्ने भन्ने हो । दैनिकजसो घरदैलो गरिरहेकै छौँ,’ एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेका निलकण्ठ खनाल भन्छन्, ‘त्यसका साथै सामाजिक सञ्जालमा पनि हामीले भोट दिन अपिल गरिरहेका हौँ ।’ उनले प्रविधिको प्रयोगले अहिले चुनावी प्रचारमा केही सहजतासमेत भएको बताए । उम्मेदवारहरूले सामाजिक सञ्जालमा मतदानका लागि अनुरोध गरेका भिडियो, स्टाटस्, ब्यानर, पोस्टर तथा चुनाव चिन्ह र झण्डाहरू प्रदर्शन गरिरहेका छन् । छिटै प्रतिक्रिया आउने र एकै पटक धेरैमा सन्देश पठाउन सकिने हुँदा उम्मेदवारहरूका लागि समाजिक सञ्जाल निकै प्रभावकारी बनेको छ ।

वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका उपेन्द्रबहादुर खड्काले घरदैलोसँगै चुनावी प्रचारलाई सामाजिक सञ्जालको प्रयोगमा पनि जोड दिइएको जनाए । वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । उनीहरूको घरदैलो र प्रचार अभियानसमेत संयुक्त रूपमा भइरहेको छ ।

उम्मेदवार मात्र नभइ दलहरूका भातृ संगठनहरूले पनि यतिबेला पार्टीका प्रचार सामग्रीले सामाजिक सञ्जालका भित्ता रङ्गाएका छन् । पार्टीको अनुकूल चुनावी माहोल बनाउन कार्यकर्ताहरू सामाजिक सञ्जालमा उत्तिकै क्रियाशील देखिएका हुन् । पार्टीहरूले आधिकारीक फेसबुक पेजसँगै उम्मेदवारका समर्थक र शुभेच्छुकहरूले पनि पेज बनाएर प्रचारमा जुटेका छन् । चुनाव प्रचारका लागि फेसबुक सशक्त माध्यम बनिरहेको नेताहरूले बताएका छन् । उम्मेदवार र उनका समर्थकहरूले सामाजिक सञ्जालमा राख्ने कतिपय सामग्री भने भ्रामकसमेत भेटिने गरेको छ । यसतर्फ निर्वाचन आयोगले सजग गराउँदै आएको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधिभित्र रही आफ्नो प्रचार–प्रसार गर्न आयोगले सचेत गराउँदै आएको हो । आम सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमा संलग्न नहुन आयोगले भनेको छ । सामाजिक सञ्जालको गलत प्रयोग गरी निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको उजुरीका आधारमा छानविन गरी जो–कोहीलाई कारबाही गरिने आयोगको भनाइ छ ।

प्रकाशित मितिः   २० बैशाख २०७९, मंगलवार ०५:०४