निर्वाचन अधिकृतका कार्यालय स्थापना

सुर्खेत: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै स्थानीय तहमा बुधवार निर्वाचन अधिकृतका कार्यालय खोलिएका हुन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिका बमोजिम जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको जनाएको हो । सुर्खेतमा वीरेन्द्रनगरस्थित जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको उद्घाटन गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुनेछ । उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट गरिने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, छानबिन गर्ने तथा उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने काम निर्वाचन अधिकृतको कार्यालयले गर्नेछन् ।

यस्तै, आचारसंहिताको पालना गराउने, निर्वाचन चिन्ह प्रदान गर्ने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने काम निर्वाचन अधिकृतहरूको हुनेछ ।

प्रकाशित मितिः   ९ बैशाख २०७९, शुक्रबार ०५:०२