मतदाताको अस्त्र
आफूलाई राम्रो लागेकोलाई भोट दिनुहोस्, तपाईंलाई भोट दिन र त्यसको गोपनियता राख्ने अधिकार संविधानले सुनिश्चित गरेको छ, जसको मतलव तपाईंलाई सुरक्षा चुनौति नहोस् । यसपालिको निर्वाचनमा सबैको मानस्पटलबाट पैसाले होइन राम्रो कामले मात्र जित्न सकिने रहेछ भन्ने महसुस गराउन सक्नु नै जनताको जित हो ।
सुनसान बनेका गाउँमा समेत हिजोआज चहलपहल बढेको छ । कारण हो, संघारमा आएको स्थानीय चुनाव । वैशाख ३० गते स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुने दिन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म चुनावी रौनक बढेको हो ।
निर्वाचन आउँदा वास्तवमा नेपाली जनता राम्रो नेतृत्वलाई निर्वाचित गर्ने दिन आयो भनेर खुसी हुनुपर्ने हो तर विडम्बना भन्नुपर्छ राम्रो आर्थिक कारोबार गर्न पाइनेछ भनेर दलका कार्यकर्ता निकै उत्साहित भएको देखिन्छ । जहाँ पनि सबैको एउटै आवाज सुन्छु ‘नेपालमा राम्रो नेता/सफल नेता नै भएनन् ।’ तर हामी जनता कतिको राम्रो र सफल छौ ? राम्रो नेता छान्ने, नेतालाइ कस्तो बनाउने तपाईं–हामी जनताकै हातमा छ हैन र ? तर विडम्बना अहिलेको परिस्थिति र यथार्थ हेर्दा नेपालमा खासमा वास्तविक जनता नै देखिँदैन सबै कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता मात्र देखिन्छ वा अर्को शब्दमा भन्ने हो भने असफल हामी नेपाली जनता । त्यसैले नेतालाई गाली गर्नु भन्दा पहिले आफूले आफूलाई सुधारौं अनि नेतालाई गाली गरौला ।
अहिलेको परिस्थतिमा भ्रष्टाचार नियन्त्रण गर्नु भनेकै नराम्रोमध्येबाट पनि राम्रो नेता छान्न सक्नु हो र यो निकै चुनौतिपूर्ण पनि छ । अब अहिले सायद तपाईसँग कहिल्यै नबोल्ने, नचिन्ने, पहिले पहिले हजुरले नमस्कार गर्दा पनि नमस्कार नफर्काउने, मुन्टो फर्काएर हिँड्ने मानिस तपाईंको मन जित्न ‘सन्चै हुनुहुन्छ ?’ भन्दै आउन थालिसकेका होलान् । नआइसकेको भए पनि अब पक्कै आउनेछन् । तपाईंलाई के को आवश्यक छ नेता र तिनका सहयोगिले पत्ता लाइसकेका छन् । विभिन्न प्रलोभन पनि तयार भैसकेका छन् । कसैलाई विकास गर्छु, बाटो बनाइदिन्छु, कसैलाइ जागिर लगाइदिन्छु, कसैलाइ चामलका बोरा । यस्ता विभिन्न कुरा गरेर भोट मागिसके वा माग्न आउँछन् यसमा कुनै शंका छैन ।
तपाईं–हामीलाई जसले प्रलोभनमा पारेर वा केही दिएर भोट माग्न आउँछ उसले जितेर त्यो पैसा नउठाइ छाड्दैन । त्यो पैसा उठाउन भ्रष्टाचार वा कमिशन खानै पर्छ, अनि दिगो गुणस्तर विकास त सम्झिने पानी छम्किने हो ! चुनाव जित्न वा आफू सत्तामा पुग्न सबैले भन्दैन तर अधिकांशले विभिन्न अस्त्र प्रयोग गरकै हुन जसको उपहार भ्रष्टाचार, अस्थिरता, बेरोजगारी, बलात्कार, हिंसा, विभिन्न क्षेत्रमा विभिन्न विभेद संस्थागत भएको छ । त्यसैले भ्रष्टाचारलाई निरुत्साहित गर्ने तथा समग्र पक्षको अवस्थामा सकरात्मक परिवर्तन गर्न अब जनताले पनि एउटा अस्त्र प्रयोग गर्नै पर्छ । सकेसम्म आर्थिक तथा भौतिक लाभ नलिनु, दल, आफ्नो भन्दा पनि तुलानात्मक रूपमा राम्रोलाई मतदान गर्नु अहिलेको आवश्यकता हो ।
चुनावमा टिकट लिनको लागी सबै तछाडमछाह चलेको समाचारले सबै समचारपत्र भरिएका छन् र टिकट दिँदा पनि पैसा खर्च गर्न सक्नेलाइ आधार मानेर पनि दिने गरिएको आकलन गर्न सकिन्छ । सिधाभन्दा जनता पैसामा वा केही न केहीमा बिक्छन् भन्ने मनशाय रहेको स्पष्ट बुझ्न सकिन्छ । यो कमजोर सोचको हत्या गर्नु र सफल अनि स्वाभिमानि जनता बन्नु नै एक अर्थमा राष्ट्रलाइ योगदान प¥याउनु बराबर हुनेछ । पैसा खर्च गरेर चुनाव जित्छु अनि जितेपछि त्यसको १० गुणा कमाउछु भन्नेले नै हो खर्च गर्ने ।
अब केही उपाय लागेन हामी पनि अस्त्र प्रयोग गराँै, पैसा दिन्छन् वा अन्य केही दिन्छन्, जे दिन्छन् लिनुस् तपाईंको गल्ती पक्कै हुनेछ तर पाप लाग्दैन किन कि कतै न कतै त्यो हाम्रो आफ्नै हो तर तपाईं जो–जसबाट लाभ लिनुभएको छ उसलाई भोट नदिने अर्थात् एक कुशल व्यक्तिलाई भोट दिनुस पाटी, आफ्नो भन्दा राम्रो छान्ने तब मात्र भ्रष्टाचार कम हुन्छ । आफूलाई राम्रो लागेकोलाई भोट दिनुहोस्, तपाईंलाई भोट दिन र त्यसको गोपनियता राख्ने अधिकार संविधानले सुनिश्चित गरेको छ, जसको मतलव तपाईंलाई सुरक्षा चुनौति नहोस् । यसपालिको निर्वाचनमा सबैको मानस्पटलबाट पैसाले होइन राम्रो कामले मात्र जित्न सकिने रहेछ भन्ने महसुस गराउन सक्नु नै जनताको जित हो ।
गाउँमा सामुदायिक विद्यालयमा पढाइ राम्रो भएन भनेर सहर छिरेर निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउने अनि सरकारलाई गाली गर्ने कि स्कुल छाडेर राजनीति गर्दै हिँड्ने शिक्षकको भाषण सुनेर ताली बजाउने कि बाजा बजाउने ? विभिन्न वस्तु ग्रहण गरेर आफ्नो मत बेच्ने कि स्वच्छ छवि भएकोलाई दिने ? आफू सफल भएर नेतालाई सफल बनाउने कि दुवै असफल भइ यस्तै चल्न दिने तपाईं हाम्रै हातमा छ ।
सबै नेता खराब पनि छैनन् । केहि असल र राम्रा पनि छन् । त्यो कुरालाइ मनन गरि आफ्नो व्यवहार प्रदर्शन गर्नु सबै नेपालीको कर्तव्य हो । जस्तालाइ त्यस्तै व्यवहार गर्नु पनि सहि मार्ग ल्याउने एउटा उपाय हो । जब कुनै व्यक्त्तिले आफ्नो मतलाइ क्षणिक व्यक्तिगत फाइदाको लागि सौदा गर्छ भने उसलाई विकास भएन, भ्रष्टाचार भयो, न्याय भएन, गुणस्तर भएन भन्ने अधिकार छैन । अधिकारको आवाज निकाल्न प्रभावकारी ढंगले कर्तव्य निभाउनुपर्छ । पैसाको भरमा चुनाव जित्छु भन्ने आडम्बरको अन्त्य गर्नु, पैसाको लागि आफ्नो अमुल्य मत लिलामि गर्ने प्रवृतिको अन्त्य गर्नु नै दिगो विकासको पहिलो पाइला हुनेछ ।
-चिरञ्जीवी भुसाल
प्रकाशित मितिः ८ बैशाख २०७९, बिहीबार ०५:०४
चिरञ्जीवी भुसाल ।