सुर्खेत उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । आइतवार भएको निर्वाचनबाट अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार हर्षविक्रम खड्कालाई ४८ मत अन्तरले पराजित गरेका हुन् ।

अध्यक्षमा निर्वाचित कँडेलले नौ सय ११ मत पाउँदा खड्काले आठ सय ६३ मत प्राप्त गरे । उनीहरू दुवै नेपाली कांग्रेस निकट व्यवसायी हुन् । कँडेल संस्थापन इतर समूहका हुन् भने खड्का संस्थापन समूहका हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले नौ सय ४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले सात सय ३७ मत पाए । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावतले नौ सय २० मत ल्याएर विजयी भए । उद्योग उपाध्यक्षमा निर्वाचित सिंहराज वमले आठ सय ६७ मत पाए ।

महिला उपाध्यक्षमा तारा रावत आठ सय ८२ मतसहित विजयी हुँदा महासचिवमा भद्र भण्डारीले आठ सय ७२ मत पाएर विजय हात पारे । उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री निर्वाचित भएका छन् ।

सदस्यमा कृति गुभाजु शाक्य, लक्ष्मीकुमारी तिवारी, अजय गुरुङ, अर्जुनजंग शाही, गणेश खड्का, दिपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुषाल, जनकबहादुर थापा र सन्तोषकुमार बराइली निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुँदा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले खड्का प्यानललाई सघाएका थिए भने नेकपा (एमाले) निकट व्यवसायीले कँडेल समूहसँग तालमेल गरेका थिए ।

प्रकाशित मितिः   ६ बैशाख २०७९, मंगलवार १९:३८