मध्यपश्चिम विश्वविद्यालयद्वारा पाँच सय विद्यार्थी दीक्षित

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले पाँच सय भन्दाबढी विद्यार्थीलाई दीक्षित गरेको छ । मंगलवार वीरेन्द्रनगरमा दोस्रो दीक्षान्त समारोह आयोजना गरी विभिन्न तह र संकायका पाँच सय १९ विद्यार्थीलाई दीक्षित गरिएको हो ।

मानविकी तथा समाजशास्त्र संकायका ४४ जना, व्यवस्थापन संकायका ५३ जना, शिक्षाशास्त्र संकायका १९ जना, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका एक सय ४५ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका एक सय ८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन् ।

त्यसैगरी विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ । सोही अवसरमा विभिन्न संकायका स्नातकोत्तर तहका नौ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । जसमा मानविकी र सामाजिक शास्त्र संकायका तीन, व्यवस्थापन संकायका तीन, शिक्षा शास्त्र संकायका तीन जना छन् । यस्तै, स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण चार–चार जनालाई उपकुलपति पदक प्रदान गरिएको हो । समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण दुई जना र स्नातक तह उत्तीर्ण तीन जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको छ ।

दोस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महŒवपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न आग्रह गरे । शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए । नेपाल सरकारले समयअनुसारको गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएको शिक्षामन्त्री पौडेलले बताए ।

प्रकाशित मितिः   ६ बैशाख २०७९, मंगलवार १९:४४