स्थानीय निर्वाचनमा महिला: प्रमुख पदमा चर्चा न सिफारिस

दैलेखको आठबिस नगरपालिकामा उम्मेदवार छनोटका लागि नेकपा (एमाले) को छलफल

सुर्खेत: स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न राजनीतिक दलहरूले यतिबेला स्थानीय कमिटीहरूमा बैठक र छलफल चलाइरहेका छन् । कतिपय वडा र पालिकाका उम्मेदवारका नाम सिफारिस भएका छन् भने केहीमा छनोटको प्रक्रिया जारी रहेको बताइएको छ । वैशाख ३० गते हुने निर्वाचनमा वडा र पालिकाका प्रमुख पदमा भने महिलाको उम्मेदवारी न्यून हुने देखिएको छ । सत्तारुढ गठबन्धन दलमा उम्मेदवारको सिफारिसमा अन्योल कायमै छ । नेकपा (एमाले) ले भने धमाधम उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । सोमवारसम्म एमालेले सुर्खेतका ३८ वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जसमा वडा अध्यक्षको उम्मेदवारमा एक जना महिलाको नाम पनि अटेको छैन । नौ वटा स्थानीय तहको पालिका प्रमुखको उम्मेदवारका लागि न्यून महिलाको नाम मात्रै चर्चामा छ । सबैजसो स्थानीय तहमा महिलालाई वडा सदस्य र उपप्रमुखमा मात्रै अघि बढाउने गरी छलफल र तयारी भइरहेको पाइएको हो ।

वडा र पालिकाको नेतृत्वका आंकाक्षी महिलाहरू थुप्रै भएपनि उनीहरूलाई तल्ला कमिटीहरूमै कम आँक्ने गरिएको छ । आफूहरूको नाम छलफलको विषय नै नबनाउने परिपाटी हाबी भएको महिला नेतृहरूको गुनासो छ । बाध्यात्मक परिस्थितिबाहेक महिलाहरूलाई प्रमुख पदका लागि योग्य नठान्ने प्रवृत्ति यसपटक पनि देखिएको उनीहरू बताउँछन् । वीरेन्द्रनगरका १६ मध्ये आठ वटा वडामा एमालेले वडा अध्यक्षका उम्मेदवार सर्वसम्मत टुङ्ग्याएको छ । तर, ती वडामा एक जना महिला पनि अध्यक्षको उम्मेदवारमा परेका छैनन् । बाँकी रहेका वडाहरूमा महिलाहरू अघि बढाउनेगरी छलफल नगरिएकाले पुरुष नै उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ । वीरेन्द्रनगर–८ कि एक एमाले नेतृ भन्छिन्, ‘यसपालि पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइएन । वडामा हामी धेरैले अध्यक्षमा दाबी गरेका थियौँ, सर्वसम्मतका नाममा जसरी पनि पुरुषलाई नै सिफारिस गरियो ।’ उनले एक कार्यकाल वडा सदस्य भएका र वर्षाैंदेखि राजनीतिमा सक्रिय रहेकाले आकांक्षा देखाउँदा समेत त्यस्ता नामलाई छलफलको विषय नै नबनाइएको जनाइन् । २०७४ को स्थानीय निर्वाचनजस्तै यसपटक पनि महिलाहरू वडा सदस्य र पालिकाको उपप्रमुखमा सीमित हुने देखिएको उनको भनाइ छ ।

एमालेले गुर्भाकोट नगरपालिकाका पाँच वटा वडाका उम्मेदवार सिफारिस गरेको छ । ती वडामा महिलालाई वडा सदस्यमा मात्र सिफारिस गरिएको छ । वडा अध्यक्षमा पुरुषका नाम मात्र सिफारिसमा परेका हुन् । एमाले गुर्भाकोट नगर कमिटीका अध्यक्ष देव खत्रीले टोल तथा वडा कमिटीहरूबाटै पुरुषका नाम अध्यक्षका लागि सिफारिस भएर आएको जनाए । महिलाहरूका नाम वडा तहका कमिटीमै छलफल नगरिँदा मुख्य पदका उम्मेदवार बन्नबाटै वञ्चित हुने देखिएको छ ।

गठबन्धन दलभित्र उम्मेदवार भागबन्डाको किचलो छ । त्यहाँ पनि उम्मेदवारको दाबी गर्ने र चर्चामा आउने पात्र पुरुष नै देखिएका छन् । केही वडा र पालिकाबाट माथिल्ला कमिटीमा उम्मेदवारका नाम सिफारिस गरेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले महिलाको नाम आरक्षण सीटमा मात्र सिफारिस गरेका छन् । गठबन्धन दलहरूबीच चुनावी तालमेल हुँदा प्रमुख र उपप्रमुखको उम्मेदवारसमेत पुरुष नै पर्ने सम्भावना उत्तिकै छ । निर्वाचन आयोगले यसतर्फ दलहरूको ध्यानाकर्षण गराए पनि कार्यान्वयनको सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । राजनीतिक दलहरू भने पालिकाका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारलाई अघि बढाउने गरी तयारीमा लागेका छन् । उम्मेदवार छनोटमा महिलालाई प्राथमिकता दिने भनिए पनि चुनावी तालमेलका कारण उनीहरू मर्र्कामा पर्नसक्ने आकलन गरिएको छ । वडास्तरका कमिटीहरूको सिफारिस र चर्चाको अवस्था हेर्दा स्थानीय तहमा महिलाहरू मुख्य पदमा आउनै मुस्किल देखिएको हो ।

महिला जनप्रतिनिधिको प्रमुख पदमा अर्थपूर्ण सहभागिता चुनौतीपूर्ण रहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । प्रमुख पदमा धेरैका आकांक्षा हुने र महिलालाई जिम्मेवारी दिन नचाहने प्रवृत्तिका कारण सिफारिसमा कम पर्ने गरेको उनी बताउँछिन् । वडा र पालिकाका प्रमुख पदमा महिला स्वयम्ले नै कमै चासो दिने गरेको उनको अनुभव छ । ढकालले भनिन्, ‘यी पदमा महिलाले खासै चासो दिँदैनन्, आकांक्षी भइहाले पनि पुरुषसँग खुला प्रतिस्पर्धा गर्नुपर्ने भएकाले बढी चुनौती छ ।’ दलहरूले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गरिरहँदा प्रमुख पदमा महिलाको नाम विरलै भेटिने गरेको छ । ‘अहिलेसम्म खासै महिलाको नाम कतै देख्न, सुन्न पाइएको छैन,’ ढकाल भन्छिन्, ‘लोकप्रियता कमाउनकै लागि दलहरूले मौखिक रूपमा महिला सहभागिता सुनिश्चत गरेको भनेपनि नीतिगत रूपमै निर्णय गर्नुपर्ने आवश्यक देखिन्छ ।’

दैलेखको ठाँटीकाध गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट १२ जनाको नाम सिफारिस भएको छ । त्यसमा एक जना महिलाको नाम सिफारिसमा परेको छ । हाल जिल्ला समन्वय समितिको उपप्रमुखसमेत रहेकी लक्ष्मी शाहले गाउँपालिकाको अध्यक्षका लागि दाबी गरेकी हुन् । उम्मेदवारको आकांक्षी बन्दा र नाम सिफारिस हुँदासम्म निकै कठिनाइ भोग्नुपरेको उनले बताइन् । ‘पुरुष ११ जना आकांक्षी हुँदा स्वाभाविक मानियो,’ उनले भनिन्, ‘म एक जनाले दाबी गर्दा अनेकन दबाब खेप्नुप¥यो ।’ पार्टीले तीन जनाभन्दा बढीको नाम सिफारिस गर्दा एक जना महिला अनिवार्य हुनुपर्ने भनेकाले आफू सिफारिसमा अटाएको बताइन् । शाह भन्छिन्, ‘अझै पनि मलाई नाम फिर्ता लिन दबाब आइरहेका छन्, प्रमुख पदमा महिलालाई स्वीकारेको अवस्था छैन ।’

जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले पनि प्रमुख पदका लागि आफ्नो नाम सिफारिसमा परेको बताइन् । ‘प्रमुख पद महिलाको लागि नभएको जस्तो व्यवहार मैले खेपेँ,’ उनले भनिन्, ‘कुनै हालतमा पछि नहटेपछि मलाई पनि अन्ततः उम्मेदवारका लागि सिफारिस गरिएको छ । नगर प्रमुखमा मेरो सशक्त दाबी छ ।’

दैलेखको दुल्लू नगरपालिका–१० कि सूर्यकुमारी पुरी वडाअध्यक्षको आकांक्षी हुन् । विभिन्न छलफलमा समेत उनले आफ्नो उम्मेदवारीको बारेमा कुरा राखिन् । तर, नेतृत्वले उनको कुरा सुन्न चाहेन । वडा कमिटीबाटै उनी सिफारिसमा परिनन् । ‘राजनीतिमा महिलालाई अघि बढाउनेभन्दा हतोत्साहित गरिँदै आएको छ,’ उनले भनिन्, ‘सर्वसम्मत गर्ने कुरामा समेत महिलाको नाम कत्तै आउँदैन ।’ काम गर्ने इच्छाशक्ति, योग्यता र कार्यक्षमता हुँदाहँुदै पछि हट्न बाध्य गराइएको उनले जनाइन् ।

प्रकाशित मितिः   ६ बैशाख २०७९, मंगलवार ०५:०५