स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, सुर्खेत

कांग्रेससँग एमालेको प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा सुर्खेतमा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले ६ पालिकाको प्रमुख, पाँच उपप्रमुखसहित ४६ वडाअध्यक्ष जितेको छ ।
दोस्रो स्थानको एमालेले भने तीन पालिका प्रमुख, चार उपप्रमुख र ४३ वडाअध्यक्ष जितेको छ । जिल्लाका नौमध्ये कुनै पनि पालिका प्रमुख र उपप्रमुखमा जित हात पार्न नसकेको माओवादीले भने नौ वडाअध्यक्ष जितेको छ । यसरी हेर्दा दुई प्रमुख प्रतिस्पर्धी दल कांग्रेस र एमालेको तुलनामा माओवादी सुर्खेतमा निकै कमजोर छ ।

वडा सदस्यसहितको हिसाब गर्दा कांग्रेसका जम्मा दुई सय ४५ जनप्रतिनिध छन् । एमालेका दुई सय ३७, माओवादी केन्द्रका ४८, राष्ट्रिय जनमोर्चाले एक र स्वतन्त्र पाँच जना छन् ।

जिल्लाको सबैभन्दा पश्चिममा पर्ने चौकुने गाउँपालिकामा एमालेले जितेको छ । तीन हजार दुई सय ४२ मत पाएर एमालेका धिरबहादुर शाही अध्यक्षमा निर्वाचित भए । कांग्रेसका गजराज जोशीले दुई हजार दुई सय ५० र माओवादी केन्द्रका खड्क बिकले दुई हजार ६ सय ३३ मत पाएका थिए । उपाध्यक्षमा एमालेकै निर्मला रानाले तीन हजार तीन सय ५७ मत पाएर निर्वाचित भएकी हुन् ।

पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको छ । प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार एक सय ३४ मत पाउँदा एमालेका मनबहादुर कामीले चार हजार सात सय ३२ र माओवादी केन्द्रका धनबहादुर विकले एक हजार तीन सय ५८ मत पाएका थिए । उपप्रमुखमा कांग्रेसबाट मुक्तिदेवी रेग्मी पाँच हजार दुई सय चार मतसहित निर्वाचित भइन् ।

बराहताल गाउँपालिका अध्यक्षमा कांग्रेसका तेजबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय २१ मत पाएका थिए । एमालेका ताराकेशर गौतमले दुई हजार नौ सय १४ र माओवादी केन्द्रका बलबहादुर कठायतले एक हजार नौ सय ८४ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसका शोभा शर्माले तीन हजार तीन सय १२ मत पाएर निर्वाचित भइन् ।

एमाले बलियो मानिएको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा भने कांग्रेसले बाजी मा¥यो । कांग्रेसका देवकुमार सुवेदी १४ हजार चार सय पाँच मत पाएर प्रमुखमा विजयी भए । एमाले उम्मेदवार बालाराम शर्माले १३ हजार आठ सय ९९ मत पाउँदा माओवादीका रत्न थाहाले पाँच हजार दुई सय ३७ मत पाएका थिए । उपप्रमुखमा एमालेका मोहनमाया ढकाल निर्वाचित भएकी छिन् । उनले १६ हजार ६८ मत पाएकी थिइन् ।

भेरीगंगा नगरपालिका प्रमुखमा पनि कांग्रेसका भुपेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । उनले सात हजार पाँच सय ४३ मत पाएका थिए । एमालेका यज्ञप्रसाद ढकालले सात हजार तीन सय ८४ र माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले एक हजार ६ सय ३७ मत ल्याएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसबाट रेण आचार्य विजयी भइन् ।

चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । अध्यक्षमा देवबहादुर चन्दले दुई हजार नौ सय ४९ मत ल्याएर जितेका हुन् । एमालेका बखत खत्रीले दुई हजार तीन सय ८५ र माओवादी केन्द्रका बोधविक्रम जिसीले एक हजार सात सय २१ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसकी मनमाया आचार्य दुई हजार नौ सय १७ मतसहित विजयी भइन् ।

गुर्भाकोट नगरपालिका कांग्रेसको पकड क्षेत्र हो । उक्त पालिका प्रमुखमा कांग्रेसकै हस्तबहादुर पुनले १० हजार ६३ मत ल्याएर निर्वाचित हुँदा एमालेका देवबहादुर खत्रीले सात हजार एक सय २३ र माओवादी केन्द्रका हिराबहादुर थापा एक हजार पाँच सय ९१ मत ल्याएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसकै मैना विकले नौ हजार नौ सय ७४ मत पाएर विजयी भइन ।

जिल्लाको लेकवेशी नगरपालिका प्रमुखमा एमालेका गगनसिंह सुनार निर्वाचित भएका छन् । सुनारले पाँच हजार सात सय ५३ मत पाए । कांग्रेसका उमेशकुमार पौडेलले चार हजार तीन सय ९९ र माओवादी केन्द्रका खड्गबहादुर घर्तीले एक हजार ६ सय ९६ मत ल्याएका थिए । उपप्रमुखमा एमालेका शान्तिकुमारी छन्तेल निर्वाचित भएकी छिन् ।

सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवै पद एमालेले जितेको छ । अध्यक्षमा कविन्द्रकुमार केसी निर्वाचित भएका छन् । केसीले पाँच हजार तीन सय ५५ मत पाएका थिए । कांग्रेसका खड्गबहादुर पोखरेलले चार हजार ६ सय चार र माओवादी केन्द्रका झुपबहादुर बुढाले ६ सय ६४ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेका चन्द्रकला शाही विजयी भएकी छिन् ।

प्रकाशित मितिः   ६ बैशाख २०७९, मंगलवार ०५:०३