जोखिम न्यूनिकरण गर्न पूर्वतयारी
गर्मीयाम छ । हावाहुरी बढी लाग्ने समय पनि हो । यो समयमा आगलागीको जोखिम बढी नै हुन्छ । हरेक गर्मीयाममा वन तथा बस्तीमा आगलागीजन्य घटना हुने गरेका हुन् । कतिपय ठाउँमा आगलागीका घटना हुन थालिसकेका छन् । थालेका छन् । तर आगलागीलगायतका विपद् व्यवस्थापनमा भने स्थानीय सरकारले कमै चासो दिएको देखिन्छ । विपद्पूर्वका तयारी र क्षति न्यूनीकरणमा अधिकांश पालिकाहरू उदासीन भएका हुन् । आगलागीबाट ठूलो नोक्सानी भइरहे पनि स्थानीय सरकार भने यसप्रति गम्भीर बनेका छैनन् । आगलागीजस्ता विपद्को प्रतिकार्य योजनामा स्थानीय सरकारले बेवास्ता गर्दै आएका छन् ।
सुर्खेत जिल्लाका नौ स्थानीय तहमध्ये तीन वटामा मात्रै अग्नि नियन्त्रक (दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । यसले पनि स्थानीय सरकारको गैरजिम्मेवारीपन देखाउँछ । अन्य ६ पालिकामा भने दमकल छैनन् । ती पालिकाका बस्तीहरूमा आगलागी हुँदा क्षति बढी हुने गरेको हो । दमकल नभएका पालिकाले बस्तीका सबै ठाउँमा सडक नपुगेका कारण प्राथमिकतामा पर्न नसकेको जनाएका छन् । सडक सञ्जाल पुगेका र बजार क्षेत्रका बस्तीमा भने दमकलको महसुस गरिए पनि खरिद गरिएका छैनन् । वीरेन्द्रनगर, भेरीगंंगा र गुर्भाकोट नगरपालिकाले आवश्यकताका आधारमा दमकल व्यवस्थापन गरिएको जनाएका छन् । लेकवेशी र पञ्चपुरी नगरपालिका तथा सिम्ता, गुर्भाकोट, चिङ्गाड र चौकुने गाउँपालिकामा दमकल छैन । यी स्थानीय तहले दमकल खरिदको योजनासमेत नबनाएका हुन् । लेकवेशी र पञ्चपुरी नगर क्षेत्रभित्र थुप्रै बाक्ला बस्तीहरू छन् । त्यहाँ आगलागीको जोखिम रहेका बजारहरू छन् । हरेक वर्ष आगलागीजन्य घटना पनि भइरहन्छन् । नगरपालिकामा नै दमकल नहुँदा आगलागीबाट क्षति बढी हुने गरेको स्थानीयले बताएका छन् । सिम्ता, गुर्भाकोट, चिङ्गाड र चौकुने गाउँपालिकाका धेरैजसो बस्तीमा सडक पुगेको छ । ती स्थानीय तहका बस्तीहरू आगलागीको उस्तै जोखिममा छन् । तर, सबै स्थानमा सडक नभएकै कारण दमकलको महसुस नगरिएको जनप्रतिनिधिहरूको जिकिर छ ।
विगतको तथ्यांकअनुसार खासगरी सुख्यायाममा आगलागीका घटना धेरै बढ्ने गरेका छन् । तर आगलागी नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारी सम्बन्धी योजनाहरू प्राथमिकतामा पर्ने गरेका छैनन् । अहिले अधिकारसम्पन्न स्थानीय सरकार छन् । हरेक वर्ष बजेट खर्च गर्न नसकेर फ्रिज हुने गरेको छ । तर अग्नी नियन्त्रणका लागि आवश्यक साधन खरिदमा ध्यान पुगेको छैन । कुनै पनि विपद्बाट जोगिन पूर्वतयारी अपरिहार्य हुन्छ । आगलागीको जोखिम न्युनिकरणका लागि पनि स्थानीय सरकारले आवश्यक तयारी गर्नु अनिवार्य छ ।
प्रकाशित मितिः ६ बैशाख २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।