पाठ्यपुस्तक बनाउन बेवास्ता

आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय वा मातृभाषा विषयको पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्ने भए पनि स्थानीय तहहरूले यसमा ढिलासुस्ती गर्दै आएका छन् । पाठ्यक्रम विकास केन्द्रको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने गरी पाठ्यक्रम तयार पार्नुपर्ने भनिएको छ । जसमा स्थानीय आवश्यकताको पहिचान गरी अनुकूल हुने विषयहरू समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार पाएका पालिकाहरूले पाठ्यक्रम निर्माण गरेपनि पाठ्यपुस्तक बनाउन बेवास्ता गर्दै आएका छन् । बजेट र दक्ष जनशक्तिको अभावमा पाठ्यपुस्तक तयार गर्न ढिलाइ भइरहेको पालिकाहरूको भनाइ छ ।

कर्णालीका कतिपय स्थानीय तहले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार स्थानीय पाठ्यक्रम निर्माण नै गरेका छैनन् । पाठ्यक्रम निर्माण गरेका केही पालिकाले समेत लागू गर्न ढिलाइ गरिरहेका छन् । दैलेखको दुल्लू नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको लामो समय भइसक्दा पनि लागू गरेको छैन । राष्ट्रिय पाठ्यक्रमको ढाँचाबमोजिम नगरपालिकाले ‘हाम्रो भाषा, हाम्रो संस्कृति’ नामक पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रममा केही परिवर्तन गर्नुुपर्ने देखिएकाले लागू नगरिएको नगरले जनाएको छ । केही स्थानीय तहले भने पाठ्क्रम लागू गरेपनि पुस्तक तयार गर्न सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरेको झन्डै एक वर्ष भयो । चालु शैक्षिक सत्रदेखि नगर क्षेत्रका आधारभूत तहका विद्यालयमा पाठ्यक्रम लागू समेत गरिसकिएको छ । तर, विद्यार्थीका हातमा भने अझै पाठ्यपुस्तक परेका छैनन् । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू भएको लामो समयसम्म पनि नगरले विद्यार्थीलाई पुस्तक दिन नसकेको हो । नगरभित्रका सबै सामुुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएका छन् । सल्यानको बागचौर नगरपालिकाले दुई वर्ष अघिदेखि स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । नगरपालिकाका ६९ विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएका छन् । ‘हामी र हाम्रो बागचौर नगर सेरोफेरो’ नामक पाठ्यक्रम लागू गरेको उक्त नगरपालिकाले अहिलेसम्म पाठ्पुस्तक निर्माण गरेको छैन ।

धेरै पालिकाहरूले पाठ्यपुस्तक निर्माणमा ढिलाइ गर्दा विद्यार्थीहरूको सिकाइ भने प्रभावित भएको छ । विद्यार्थीले स्थानीय पाठ्यक्रममा रूचि दिएपनि किताब नहुँदा सिकाइ सहजीकरणमा समस्या हुने गरेको शिक्षकहरूले बताउने गरेका हुन् । स्थानीय पाठ्यक्रम निर्माण, सोहीअनुसारका पुस्तक तयार र पठनपाठनमा ध्यान दिन जरुरी छ । यसमा ढिलासुस्ती र बेवास्ता गरिनु हुँदैन ।

प्रकाशित मितिः   ४ बैशाख २०७९, आईतवार ०५:०३