स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, सल्यान

सल्यानमा त्रिपक्षीय प्रतिस्पर्धा

सल्यानमा प्रमुख तीन राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । २०७४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै चुनावी प्रतिस्पर्धा भएको थियो ।

जिल्लाका दश वटा पालिकामध्ये एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडाअध्यक्ष जितेको छ ।

त्यसैगरी नेपाली कांग्रेसल तीन प्रमुख, तीन उपप्रमुख र २३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले तीन प्रमुख, चार उपप्रमुखसहित ३२ वडाअध्यक्ष जितेको छ ।

शारदा नगरपालिकाको प्रमुखमा सुरेश अधिकारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार हुन् । अधिकारीले चार हजार दुई सय १४ मत पाएका छन् ।

सोही पदमा एमालेका रामकुमार खड्गीले तीन हजार तीन सय ४४ मत पाएका थिए भने माओवादीका प्रमोदकुमार श्रेष्ठले दुई हजार पाँच सय ७० पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोजकुमार प्रधानले दुई हजार चार सय मत पाए ।

उपप्रमुखमा कांग्रेसकै सावित्रा बस्नेत निर्वाचित भएकी छिन् । वडामा पनि कांग्रेस नै अगाडि छ । उसले नौ वडाअध्यक्ष जितेको छ । एमालेले चार तथा माओवादी र राप्रपाले एक/एक वडाअध्यक्ष जितेका छन् ।

बागचौर नगरपालिका माओवादीले जितेको छ । पालिका प्रमुखमा पाँच हजार एक सय २१ मत पाएर लोकमान बुढा विजयी भएका छन् । एमालेका लोकप्रसाद डाँगीले तीन हजार ६ सय ८० र कांग्रेसका गोरखबहादुर खत्रीले तीन हजार पाँच सय ६५ मत पाए । उपप्रमुखमा माओवादीकै कल्पना पुन निर्वाचित भएकी छिन् । पालिकाका १२ वडामध्ये आठ वडाअध्यक्ष माओवादीले जित्दा कांग्रेस र एमालेले दुई÷दुईमा जित हात पारेका छन् ।

ढोरचौर गाउँपालिका अध्यक्षमा एमाले चित्रबहादुर चलाउने निर्वाचित भएका छन् । उनले एक हजार नौ सय २५ मत पाएका थिए । माओवादीका नरवीर चलाउनेले एक हजार पाँच सय ३८ मत पाए । कांग्रेसका उम्मेदवारले एक हजार तीन सय १३ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै पुष्पाकुमारी बोहोराले विजयी हात पार्दा दुई÷दुई वडाअध्यक्ष माओवादी र एमाले तथा एउटामा कांग्रेसले जितेको छ ।

त्रिवेणी गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । भुवबहादुर डाँगीले दुई हजार सात सय ६५ मत ल्याएर अध्यक्ष चुनिएका हुन् । एमालेका लोकेन्द्र सिंहले दुई हजार तीन सय १७ मत पाए । उपाध्यक्षमा कांग्रेसका करुणा खड्का छिन् ।

उक्त गाउँपालिकाको चार वडाअध्यक्ष कांग्रेस र दुईमा एमालेले जितेका छन् ।

कुमाख गाउँपालिकाको अध्यक्षमा माओवादीका दिलमाया बुढामगर विजयी भइन् । उनले तीन हजार ६ सय ७३ मत पाउँदा एमालेका भैरव शाहले दुई हजार एक सय २८ र कांग्रेसका विवेकसिंह राठौरले एक हजार नौ सय ३९ मत पाए । उपाध्यक्ष पनि माओवादीकै डिल्लीराज जैसीले जितेका छन् । पाँच वडाअध्यक्ष माओवादी तथा एक/एकमा कांग्रेस र एमालेले जितेका हुन् ।

कपुरकोट गाउँपालिकामा एमालेका भिमबहादुर सेन तीन हजार एक सय ५२ मत पाएर अध्यक्षमा निर्वाचित भए । कांग्रेसका दुर्गाबहादुर गिरीले एक हजार चार सय ६७ र माओवादीका प्रकाश भरारीले दुई हजार एक सय ३५ मत पाए । एमालेका तिला बुढा उपाध्यक्षमा निर्वाचित भइन् । कपुरकोटको तीन वडाअध्यक्ष एमाले, दुई माओवादी र एकमा कांग्रेसले जितेका छन् ।

कालिमाटी गाउँपालिकामा एमालेका दानबहादुर खत्री विजयी भएका हुन् । उनले दुई हजार नौ सय १२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी माओवादीका पुरुषोत्तम भट्टराईले दुई हजार तीन सय ६३ र कांग्रेसका भरत पुनले एक हजार नौ सय २९ मत पाए । उपाध्यक्षमा एमालेका सनसिल्ता वली निर्वाचित भएकी छिन् । त्यस्तै पाँच वडाअध्यक्ष एमालेले जित्दा माओवादी र कांग्रेसले एक/एकमा जितेका छन् ।

दार्मा गाउँपालिकाको अध्यक्षमा माओवादीका निमबहादुर केसी विजयी भएका छन् । केसीले तीन हजार ६ सय ९४ मत पाएका थिए । कांग्रेसका रामचन्द्र केसीले दुई हजार सात सय ७१ मत पाए भने उपाध्यक्षमा माओवादीकै टिका ओली निर्वाचित भएकी छिन् । पाँच वडाअध्यक्ष माओवादीले जित्दा एमालेले एउटा जितेको छ ।

छत्रेश्वरी गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तोष केसी दुई हजार नौ सय २२ मत पाएर निर्वाचित भए । एमालेका ओजबहादुर बुढाथोकीले दुई हजार सात सय दुई र माओवादीका चित्रबहादुर केसीले दुई हजार एक सय ७२ मत पाएका थिए । उपाध्यक्षमा सिता केसी छिन् । छत्रेश्वरीका तीन/तीन वडाअध्यक्ष कांग्रेस र एमालेले जितेका छन् भने एउटामा माओवादीले जितेको छ ।

बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा एमालेका गोविन्दबहादुर पुन निर्वाचित भएका छन् । उनले पाँच हजार ७७ मत पाएका थिए । माओवादीका कर्णबहादुर बुढाथोकीले चार हजार नौ सय ८४ पाए । उपप्रमुखमा उपप्रमुखमा भने माओवादीका मञ्जु यरी चार हजार आठ सय ६२ मत पाएर निर्वाचित भएकी छिन् । बनगाडका सात वडाअध्यक्षमा माओवादी, चारमा एमाले र एकमा कांग्रेसले जितेका छन् ।

प्रकाशित मितिः   १ बैशाख २०७९, बिहीबार ०५:०४