नयाँ वर्षको शुभकामना

वर्ष २०७८ आजदेखि सकिएको छ । नयाँ वर्ष २०७९ को सुरुवात भएको छ । वर्षान्तमा बितेको वर्षको समीक्षा गर्ने र नयाँ वर्षको योजना बनाउने आमप्रचलन विकसित भएको छ । २०७८ साललाई फर्केर हेर्दा निकै उचारचढापवूर्ण रह्यो । राजनीतिक रूपमा हलचलपूर्ण वर्ष भयो । दलिय द्वन्द्वदेखि सत्ता परिवर्तनका अनेक खेल भए । राजनीतिक दल विभाजनसम्म पुगे । केन्द्रीय राजनीतिमा मात्र नभएर प्रदेशको राजनीति पनि अस्थिरतायुक्त रह्यो । कर्णाली प्रदेश त्यसको केन्द्रविन्दुमा थियो । संसद् विघटन र पुनस्र्थापनाको खेल भए । यस्ता यावत घटनाक्रमहरूले मुलुकको राजनीति वर्ष २०७८ मा अस्थिरतापूर्ण भयो ।

मुलुकका दुई ठूला पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै अलग भएन शीर्ष दल नेकपा (एमाले)समेत विभाजन भयो । विभाजनको असर माथिदेखि तलसम्मै पुग्यो । सरकार सञ्चालन प्रभावित बन्यो । एमाले विभाजनका कारण कर्णाली प्रदेश सरकारको सत्तासमीकरण पनि बदलियो । संसद्को प्रमुख दल एमाले प्रतिपक्षमा पुग्यो । मुख्यमन्त्री फेरिए । धेरै कुरा फेरिएपनि नागरिक अपेक्षा पूरा हुन सकेन । राजनीतिक अस्थिरता मुलुकका लागि भने फलदायी हुँदैन । यो वर्ष पनि त्यस्तै भयो । दलिय द्वन्द्व र सत्तास्वार्थको खेलले वर्षभर मुलुक प्रभावित भयो । यसको प्रत्यक्ष असर विकास निर्माणमा प¥यो । संघीय र प्रदेश सरकारले सहज ढंगले कार्यसम्पादन गर्न सकेनन् । बजेट खर्चमा विगतका वर्षहरूमाजस्तै निराशाजनक अवस्था रह्यो । न बजेट खर्च भयो न अन्य महङ्खवपूर्ण योजना र कार्यक्रम कार्यान्वयन हुन सके । यसले विकासको गतिलाई पछाडि धकेल्यो । राजनीतिक स्थिरताका साथ मुलुकले विकासको बाटो समाउने नागरिक अपेक्षा निराशामा बदलियो ।

आजदेखि नयाँ वर्षको सुरुवात भएको छ । नयाँ वर्षमा नयाँ योजना बन्छन् । मुलुकको राजनीति होस् या अन्य क्षेत्रमा नयाँ वर्ष प्रगतिमय हुने अपेक्षा गरिएको छ । विगतका गल्ती र कमजोर सच्याउँदै अगाडि बढ्न सके आउँदो वर्ष पक्कै उपलब्धिमूलक हुनेछ । राजनीति मुलुकको मूल नीति हो । अन्य सबै पक्ष यसैसँग जोडिएका छन् । त्यसैले पनि राजनीतिक स्थिरता अपरिहार्य छ । स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ । निर्वाचनबाट आउन नयाँ जनप्रतिनिधिले नागरिक अपेक्षा सम्बोधन गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने छ । आर्थिक विकासमा ध्यान दिन उत्तिकै जरुरी छ । वर्ष २०७९ मा उल्लेखित मुद्दाहरू सम्बोधन हुने अपेक्षासहित सबैमा हार्दिक शुभकामना ।

प्रकाशित मितिः   १ बैशाख २०७९, बिहीबार ०५:०१