स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, रुकुम पश्चिम

माओवादीको एकलौटी जित

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) सबैभन्दा बलियो रहेको जिल्ला हो, रूकुम–पश्चिम । यहाँ तीन गाउँपालिका र तीन नगरपालिकासहित ६ वटा स्थानीय तह छन् । ६ वटै पालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।

केही पालिकामा नेपाली कांग्रेसको प्रतिस्पर्धात्मक मत आएपनि नेकपा (एमाले) भने ६ वटै पालिकामा निकै पछि छ । जिल्लाका कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको कांग्रेसले १३ वटा वडाको अध्यक्ष जितेको छ । एमाले भने वडामा पनि कमजोर देखिएको छ । उसले रूकुम–पश्चिमका दुई वटा वडाअध्यक्ष मात्रै जितेको छ ।

आठबीसकोट नगरपालिकाको प्रमुखमा गोर्खबहादुर केसीले पाँच हजार चार सय ८९ मत पाएर निर्वाचित भएका छन् । कांग्रेसका धिरेन्द्रकुमार बटालाले तीन हजार पाँच सय ९६ र एमालेका हरिप्रसाद शर्माले दुई हजार चार सय ५९ मत पाएका थिए ।

उपप्रमुखमा गीता नेपाली पाँच हजार ६ सय १८ मत पाएर निर्वाचि भएकी छिन् । उक्त पालिकाका ११ वडा अध्यक्ष माओवादीले जित्दा कांग्रेसले दुई र एमालेले एउटामा वडा अध्यक्ष जितेका छन् ।

यस्तै चौरजहारी नगरपालिकामा पनि माओवादीकै विशाल शर्मा निर्वाचित भएका छन् । उनले पाँच हजार चार सय २० मत पाउँदा कांग्रेसका बलवीर गोसाईले तीन हजार दुई सय चार र एमालेका शेरबहादुर केसीले दुई हजार दुई सय ८२ मत पाएका थिए ।

उप्रमुखमा राधा रोकाय निर्वाचित भइन् । तीन वडाको अध्यक्षमा कांग्रेस, १० वटामा माओवादी र एउटामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा तीन हजार नौ सय ८० मतसहित झक्कुप्रसाद घर्ती विजयी भएका छन् । कांग्रेसका देवबहादुर वलीले दुई हजार ६ सय ६३ र एमालेका गणेशबहादुर खड्काले ६ सय ५२ मत पाए । उपाध्यक्षमा निर्मला विष्ट छिन् । आठ वडा अध्यक्ष माओवादी र दुई वडामा कांग्रेसले जितेका छन् ।

बाँफीकोट गाउँपालिमा धर्मबहादुर केसी निर्वाचित भएका छन् । उनले तीन हजार पाँच सय ६४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनककुमार बाठा मगरले दुई हजार आठ सय १३ मत पाए । उपाध्यक्षमा माओवादीकै मनकला पुन निर्वाचित भएकी छिन् । पालिकाका दशवटै वडा अध्यक्ष पनि माओवादी केन्द्रले जितेको छ ।

मुसिकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसीलाई दुई सय तीन मतले पराजित गर्दै माओवादीका देवीलाल गौतम निर्वाचित भए । गौतमले चार हजार तीन सय ५० मत पाउँदा केसीले चार हजार एक सय ४७ मत पाएका थिए । एमालेका विमलकुमार पुनले भने दुई हजार तीन सय ५८ मत पाएका हुन् ।

उपप्रमुखमा माओवादीकै प्रेमकुमारी सुनार निर्वाचित हुँदा नौ वडाअध्यक्ष माओवादी र पाँचमा कांग्रेसले जितेका छन् ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित नरबहादुर पुनले चार हजार ६ सय ५० मत पाएका थिए । कांग्रेसका गोरखप्रसाद चन्दले दुई हजार ६ सय १७ र एमालेका मनवीर घर्तीले पाँच सय ५६ मत पाए । उपाध्यक्षमा माओवादीकै इन्दिरा ओली निर्वाचत भइन् । पालिकाका दश वडा अध्यक्ष माओवादी र एउटामा कांग्रेसले जितेको छ ।

प्रकाशित मितिः   ३० चैत्र २०७८, बुधबार ०५:०४