स्थानीय तहमा उम्मेदवार चयन: गठबन्धनमा अन्योल, कांग्रेसमा असन्तुष्टि

सुर्खेत: स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धन दलहरूमा उम्मेदवारी चयनमा अन्योल बढ्दै गएको छ । केन्द्रमा भएको गठबन्धन दलहरूको पछिल्लो सहमतिले उम्मेदवारी छनोटमा थप सकस भएको हो । गठबन्धन दलहरूका स्थानीय कमिटीहरू उम्मेदवारका आकांक्षीको सिफारिस गर्न जुटिरहेका बेला केन्द्रले नै एकमुष्ट उम्मेदवार टुङ्ग्याउने गरी सहमति गर्नुपर्नेमा जोड दिएको छ । जसले नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ भने अन्य दलहरू पनि अनिर्णित बनेका हुन् । यसअघि गठबन्धन दलहरूले आ–आफ्ना स्थानीय कमिटीलाई वडा र पालिकाका उम्मेदवारका नाम सिफारिस गर्न भनेका थिए । सोहीअनुसार स्थानीय कमिटीहरूले उम्मेदवारका नामावली माथिल्ला कमिटीमा पठाउने प्रक्रिया थालेका थिए । तर, उम्मेदवारको भागबन्डा निश्चित नहुँदा मुख्यगरी कांग्रेस, नेकपा ‐माओवादी केन्द्र) र नेकपा ‐एकीकृत समाजवादी) मा अन्योल भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले पनि चुनावी तालमेलका लागि केन्द्रको अन्तिम निर्णयमै निर्भर रहेको जनाएका छन् ।

स्थानीय चुनावमा तालमेल गर्ने निर्णयमा कांग्रेसको संस्थापन इतर समूहले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको छ । आवश्यकता र औचित्यका आधारमा स्थानीयस्तरमा तालमेल गर्न सकिने भनिए पनि यसमा कांग्रेसका दुई समूहबीच विभाजित मत छन् । आन्तरिक बेमेल रहेको कांग्रेसभित्रबाट तालमेलामा धोका हुनसक्ने आशंका नेताहरूले गर्दै आएका छन् । गठबन्धन दलको पछिल्लो सहमतिले उम्मेदवारी छनोटमा झनै संकट हुन सक्ने कांग्रेस नेताहरूको आकलन छ । यतिबेला कांग्रेसमा पार्टीको महाधिवेशनको तिक्तता पनि देखिन थालेको छ । कर्णालीका सुर्खेत, सल्यान, कालीकोट, जुम्ला र दैलेखलगायतका जिल्लामा स्थानीय निर्वाचनमा उम्मेदवार सिफारिसका छलफलमा असन्तुष्टिहरू बाहिर आउन थालेका हुन् ।

सुर्खेतमा शेखर कोइराला समूहले पार्टीमा आफूहरूले ४० प्रतिशत हिस्सा पाउनुपर्ने भन्दै यसअघि नै आवाज उठाइसकेको छ । नेताहरूका अनुसार स्थानीय तह निर्वाचनमा सुर्खेतका नौमध्ये कांग्रेसको कोइराला समूहले पार्टीभित्र तीन वटामा प्रमुखका लागि दाबी गरिरहेको छ । आफ्नो पक्षको बलियो उपस्थिति रहेका ठाउँमा कोइराला समूहले नेतृत्व लिन केन्द्रीय नेताहरूसँग लविङ थालेको बुझिएको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका ६ वटा पालिका कांग्रेस एक्लैले जितेको थियो । गठबन्धन दलहरूबीच तालमेल हुँदा भागबन्डाका कारण आफ्नो समूहलाई मर्का पर्ने ठानेको कोइराला समूहले नेतृत्वको ध्यानाकर्षण गराइसकेको छ । त्यस्तै, सल्यान कांग्रेसमा पनि किचलो छ । स्थानीय चुनावका प्रतिवेदन केन्द्रमा पठाउनेदेखि जिल्ला कमिटीमा मनोनित गर्नेसम्मका निर्णय एकलौटी गरेको भन्दै पार्टीमा विवाद चुलिएको छ । उक्त असमझदारी बढ्दै जाँदा जिल्ला कार्यसमितिले कुनै निर्णय गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।

यस्तै, कांग्रेस जुुम्लाले सकभर चुनावी तालमेल गरेर नजाने बताएको छ । जिल्ला पार्टी उपसभापति कार्मा बुुढाले अन्य जिल्ला, प्रदेश र केन्द्रमा तालमेल भएपनि जुम्लामा त्यस्तो सम्भावना न्यून रहेको जनाए । ‘अहिलेसम्म गठबन्धन गरेर चुनावमा नजाने भन्ने नै छ,’ उनी भन्छन्, ‘तालमेलबारे केन्द्रको निर्णय अझै प्रष्ट आइसकेको छैन । हामी के गर्ने भन्नेमा नै छौँ ।’ उनले जुम्लामा कांग्रेसको मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र भएकाले पनि उसैसँग चुनावी तालमेल गर्नुको औचित्य नहुने जनाए । उपसभापति बुढाले भने, ‘हाम्रो चाहाना सकेसम्म एक्लै चुुनावमा जाउँ भन्ने हो ।’

गठबन्धन दलहरूबीच निर्वाचनमा कसरी जाने भन्ने सामान्य आधार तय भए पनि अन्योल भने कायमै रहेको कांग्रेस सुर्खेतका जिल्ला सभापति खड्ग पोखरेल बताउँछन् । उनका अनुसार यस विषयमा पार्टीभित्र भने असन्तुष्टि देखिएको छ । ‘यहाँ गठबन्धनबीच चुनावी तालमेल हुने सहमति भइसकेको छ,’ उनले भने, ‘कांग्रेसले केन्द्रको निर्णय पर्खेको हो, पार्टीभित्रैको असमझदारी हल गर्नु अर्को चुनौती बनेको छ ।’ पोखरेलले असन्तुष्टि समाधान गर्न आन्तरिक छलफलहरू जारी रहेको जनाए । उनका अनुसार केन्द्रको ठोस निर्णय नआएकाले वडाहरूबाट उम्मेदवारको सिफारिससमेत आउन सकेको छैन । उनी भन्छन्, ‘अब केन्द्रले जे निर्णय गर्छ त्यसैबमोजिम गतिविधि अघि बढाइनेछ ।’ पार्टीभित्रको आन्तरिक विवादलाई सुुर्खेत कांग्रेसले पहिलो प्राथमिकतामा राखेको संस्थापन पक्षका नेताहरूको भनाइ छ ।

निर्वाचन नजिकिँदै गर्दा पनि गठबन्धन दलहरूबीच भागबन्डाको निश्चित नभएपछि निर्वाचनमा होमिने वातावरण बन्न नसकेको कतिपय नेताहरू बताउँछन् । गठबन्धन दलहरूमा आकांक्षी धेरै भएकाले उनीहरूको व्यवस्थापनमा उस्तै सकस हुने देखिन्छ । स्थानीय तहको उम्मेदवारी टुुँगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिइनुपर्ने कांग्रेसजस्तै गठबन्धन दलका अन्य पार्टीहरूको पनि आसय छ । केन्द्रले निर्णय गर्दा स्थानीयस्तरमा पार्टीमा समस्या हुने उनीहरूको तर्क छ । कर्णालीका १० वटै जिल्लामा उम्मेदवार छनोटको प्रारम्भिक कार्यमै गठबन्धनमा अलमल भएको हो ।

कालीकोट कांग्रेसमा पनि चुनावी तालमेलको विषयले असन्तुष्टि देखिएको छ । जिल्लाका नौ स्थानीय तहका केही वडामा मात्र उम्मेदवारको नामावली छनोट प्रक्रिया थालिएको कांग्रेसले जनाएको छ । जिल्ला सभापति अम्दबहादुुर शाहीले गठबन्धनबारे केन्द्रीय तहमा निर्णय नहुँदा जिल्ला तहमा कामहरू प्रभावित भइरहेको बताए । उम्मेदवार चयनको प्रक्रिया अघि बढाइपनि केन्द्रको निर्णय कुुर्नुुको विकल्प नरहेको उनी बताउँछन् । ‘केन्द्रले तत्काल निर्णय नगर्न भनेको छ,’ उनले भने, ‘गठबन्धनबारे टुँगो लागेपछि आएको निर्देशनअनुसार जान्छौँ ।’ उनका अनुुसार कालीकोटको तिलागुुफा नगरपालिकामा भने कांग्रेसले वडादेखि पालिकासम्मका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ ।’

नेपाली कांग्रेस दैलेखले केही दिनमा उम्मेदवारीबारे टुँगो लाग्ने बताएको छ । जिल्ला सभापति मणिराम रेग्मीले तालमेलको कुराले अलमल भइरहेको भन्दै एक्लै चुनावमा भिड्ने गरी पनि तयारी गरिरहेको जनाए । रेग्मी पनि पार्टी केन्द्रकै निर्णय पर्खिएको बताउँछन् । केही वडाहरूबाट उम्मेदवारको नामावली सिफारिस भएर आएको रेग्मीले बताए । उम्मेदवार सिफारिस गरे पनि गठबन्धनका आधारमा छलफल अघि बढाइएको उनको भनाइ छ । कांग्रेस नेताहरूले पार्टीभित्र र गठबन्धनमा पनि आ–आफ्नै दाबी भएकाले सबैलाई मिलाएर अघि बढ्न निकै सकस हुने देखिएको बताएका छन् ।

प्रकाशित मितिः   ३० चैत्र २०७८, बुधबार ०५:०५