स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, जाजरकोट

एमालेलाई कांग्रेस–माओवादीको चुनौती

 

 

२०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदा जाजरकोट जिल्लामा आठ वटा राजनीतिक दलले उक्त निर्वाचनमा भाग लिएका थिए । तर नतिजा भने आठमध्ये शीर्ष तीन दलको पक्षमा मात्रै गएको छ । अन्य पाँच दल नतिजाशून्य भए ।

पहिलो दल नेकपा (एमाले)ले तीन पालिकाको प्रमुख, तीनमा उपप्रमुख र २९ वडा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित २५ वडा अध्यक्ष जित्दा नेकपा (माओवादी केन्द्र) ले भने दुई प्रमुख, तीन उपप्रमुख र २३ वडा अध्यक्ष जितेको छ ।

जिल्लाका सबै पालिकामा तीन दलबीच नै प्रतिस्पर्धा देखिन्छ । कुशे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् । उनले दुई हजार पाँच सय आठ मत पाएका थिए । अध्यक्ष पदमा एमालेका उम्मेदवार तप्तबहादुर हमालले दुई हजार ४४ र माओवादीका जनकराज गौतमले एक हजार आठ सय १५ मत पाएका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसका रामछायाकुमारी शाही निर्वाचित भएकी छिन् । पालिकाका ६ वडा अध्यक्ष कांग्रेसले जितेको छ भने एमालेले दुई र माओवादीले एक मात्र वडा अध्यक्ष जितेको छ ।

कांग्रेसले जितेको दोस्रो गाउँपालिका हो बारेकोट । उक्त पालिकाको अध्यक्षमा महेन्द्रबहादुर शाहले दुई हजार एक सय ४८ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका मिमबहादुर सिंहले दुइै हजार एक सय सात र माओवादीका तिलकबहादुर रावतले दुई हजार एक सय २९ मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका ओम शाही दुई हजार दुई सय २४ मत पाएर निर्वाचिन भएका छन् । चार वडा वडाअध्यक्षमा माओवादी, तीनवटा कांग्रेस र दुई वटामा एमालेले जितेका छन् ।

छेडागाड नगरपालिकाको प्रमुखमा एमालेका लालबहादुर महताराले पाँच हजार एक सय ३६ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रत्नबहादुर खड्काले चार हजार तीन सय ४७ र माओवादीका चन्द्रबहादुर थापाले दुई हजार ६ सय ६८ मत पाएका छन् । उपप्रमुखमा एमालेकै सरिता वलीले जितेकी छिन् । नगरका १३ मध्ये आठ वटा वडाको अध्यक्ष एमालेले जितेको छ । तीन वटामा माओवादी र दुई वटामा कांग्रेसले बाजी मारेका छन् ।

त्यसैगरी जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादीका कृष्णबहादुर केसी निर्वाचित भएका छन् । उनले दुई हजार सात सय ७० मत पाएका हुन् । एमालेका वेदबहादुर शाहीले दुई हजार दुई सय ७४ र कांग्रेसका सर्वराज रावतले एक हजार नौ सय १८ मत पाए । उपाध्यक्षमा भने माओवादीका शिवा आचार्यले दुई हजार सात सय ७८ मत पाएर विजयी भएकी छिन् । पालिकाका चार÷चार वडाको अध्यक्षमा एमाले र माओवादी तथा तीनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

त्रिवेणी नलगाड नगरपालिकामा पनि माओवादी केन्द्रले जितेको छ । टेकबहादुर रावलले तीन हजार चार सय १८ मत पाएर पालिका प्रमुखमा निर्वाचित भएका हुन् । कांग्रेसका छवि पन्तले दुई हजार आठ सय ९८ र एमालेका नवेन्द्र नेपालीले दुई हजार ६ सय ७४ मत पाएका थिए ।

उपप्रमुखमा पनि माओवादीकै बालकुमारी बस्नेत निर्वाचित हुँदा माओवादीले सात वडा अध्यक्षसमेत जितेको छ । एमालेले चार र कांग्रेसले दुई वडा अध्यक्ष जितेको हो ।
जिल्लाको भेरी नगरपालिकाको प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्तीले चार हजार दुई सय ९२ मत पाएर निर्वाचित भएका थिए । कांग्रेसका सन्तकुमार कार्कीले तीन हजार सात सय ८७ र माओवादीका ढकविर रानाले तीन हजार चार सय ११ मत पाए । उपप्रमुखमा एमालेकै भावना भण्डारी निर्वाचित भइन् । वडा अध्यक्षमा भने कांग्रेस अघि छ । उसले ६ वडा अध्यक्ष जित्दा एमालेले चार र माओवादीले तीनमा जित हात पारेका छन् ।

शिवालय गाउँपालिकाको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् । उनी एमालेका उम्मेदवार हुन् । शाहीले दुई हजार ७३ मत पाएका थिए । सोही पदका उम्मेदवार कांग्रेसका खडकबहादुर बुढाले एक हजार आठ सय ३३ र माओवादीका लालबहादुर थापाले एक हजार दुई सय ५० मत पाए । उपाध्यक्षमा एमालेका कुमारी थापा निर्वाचित भएकी छिन् । नौ वडा रहेको शिवालयका चार वडा अध्यक्ष एमाले, तीन कांग्रेस र दुई माओवादीले जितेका छन् ।


प्रकाशित मितिः   २९ चैत्र २०७८, मंगलवार ०५:०४