सुर्खेतमा व्यापारीको निर्वाचन

कांग्रेसका दुई समूहबीच प्रतिष्ठाको लडाइ

नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता, सत्तारुढ गठबन्धन निकट व्यवसायी नै विभाजित

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक पनि नेपाली कांग्रेस निकट व्यवसायीहरू एकजुट हुन सकेनन् । बरु उनीहरूबीचको प्रतिस्पर्धाले सत्तारुढ गठबन्धन दल निकट अरु व्यवसायीहरूलाई नै विभाजित गरिदिएको छ । विगतका निर्वाचनजस्तै कांग्रेस निकट मानिने व्यवसायीहरू दुई कित्तामा बाडिँदा त्यसको असर अन्य व्यवसायी संगठनमा समेत परेको हो । व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघमा कांग्रेस निकटका व्यवसायी छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानको नेतृत्व गरिरहेका छन् । संघको नयाँ नेतृत्व चयनका लागि वैशाख ४ गते तोकिएको निर्वाचनमा अध्यक्षमा हर्षविक्रम खड्का र लक्षमण कँडेलले उम्मेदवारी दिएका छन् । यी दुवै कांग्रेस निकट व्यवसायी हुन् । खड्का पार्टीको संस्थापन समूह नजिक मानिन्छन् भने कँडेल संस्थापन इतर समूहका व्यवसायी हुन् । यसअघि खड्का संघको वरिष्ठ उपाध्यक्ष र कँडेल महासचिव थिए । उनीहरूले सोमवार आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

खड्कालाई संस्थापन समूहका व्यवसायीसँगै नेकपा ‐माओवादी केन्द्र) र नेकपा ‐एकीकृत समाजवादी) मा आवद्ध केही व्यवसायी तथा कतिपय पूर्वअध्यक्षहरूको साथ छ । संयुक्त व्यावसायी नामको प्यानल बनाएका कँडेललाई कांग्रेसभित्र शेखर कोइराला समूहका व्यवसायी, एमाले निकट व्यवसायी र कतिपय पूर्वअध्यक्षहरूले समर्थन गरेका छन् । कांग्रेस नै विभाजित भएपछि टिम घोषणाको अन्तिम समयसम्म अलमलमा परेका माओवादी केन्द्र र एकीकृत समाजवादी पक्षका केही व्यवसायीले कँडेललाई पनि साथ दिएका छन् । केहीले खड्का पक्षलाई साथ दिएका छन् भने कतिपय व्यवसायीले कँडेल टिमबाट उम्मेदवारी दर्ता गरेका छन् । संघको चुनावी तालमेलले आसन्न स्थानीय तहको निर्वाचनसमेत प्रभावित बन्न सक्ने आकलन गरिएका बेला सत्तारुढ दलहरूनै एक हुन नसकेका हुन् ।

संघमा माओवादी केन्द्र र समाजवादी नजिकका मानिने व्यवसायीहरूका मत थोरै छन् । धेरै व्यवसायीको साथ रहेको दाबी गरिएका कँडेल समूहसँग एमाले पनि सँगै छ । विगतका परिणामलाई हेर्दा संघमा एमालेको उपस्थिति पनि कमजोर देखिन्छ । जित–हारका लागि कांग्र्रेस निकट व्यवसायीकै मत निर्णायक हुने जानकारहरू बताउँछन् । सुर्खेत उद्योग वाणिज्य संघमा विगतदेखि नै कांग्रेसकै दुई गुटको प्रतिपस्र्धा हुँदै आएको छ । केन्द्रजस्तै यहाँ पनि कांग्रेसका प्रष्ट दुई गुट सक्रिय छन् । व्यापारीहरूको चुनावलाई समेत नेताहरूले आफ्नो समूहको शक्ति र प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

संघमा अहिले दुई हजार १४ मतदाता छन् । यसअघि चैत २६ मा निर्धारण गरिएको निर्वाचन व्यवसायीहरूको विवादका कारण रोकिएको थियो । सदस्यता नवीकरणमा विवाद चर्किएपछि केही व्यवसायी निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पुगेका थिए । तत्काल निर्वाचन कार्य अघि नबढाउन अल्पकालीन आदेश दिएको अदालतले पछि भने उक्त आदेशलाई निरन्तरता दिएन । अदालतले निर्वाचन गर्ने बाटो खोलिदिएपछि संघले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेर अघि बढेको हो ।

यी हुन् उम्मेदवार

संघको आगामी नेतृत्व छनोटका लागि हुन लागेको निर्वाचन कार्यतालिका अनुसार सोमवार दुवै समूहले मनोनयन दर्तासँगै चुनावी प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । कँडेलको संयुक्त व्यवसायी प्यानलको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल र उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । त्यस्तै, सोही समूहबाट महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भिमप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।

कँडेल समूहबाटै सदस्यमा रमेश बराल, विशाल ढकाल ‐बिन्द्र जैशी), बालकृष्ण हमाल चालिसे, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, सागर भुषाल, बिर्ख बडुवाल, टेकबहादुर थापा, सुरज थापा, गणेश खड्का, लक्ष्मी कार्की, लक्ष्मीकुमारी शर्मा तिवारी, हिमकुमारी उपाध्याय, मिलन पन्त र ज्ञानेन्द्र विकको उम्मेदवारी परेको छ । सदस्यमा खुल्ला, महिला, एसोसियट र आरक्षित कोटमा मनोनयन दर्ता भएको हो ।

त्यस्तै, खड्का नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत र उद्योग उपाध्यक्षमा सिंहराज बलमे मनोनयन दर्ता गरेका छन् । यो टिमले महिला उपाध्यक्षमा कृष्णाकुमारी थापालाई उम्मेदवार बनाएको छ । महासचिवमा रामप्रसाद जैसी, उपमहासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सहकोषाध्यक्षमा सूर्य केसीले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै प्यानलले व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धतासहितका चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन् । कँडेल टिमले महत्वाकांक्षी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सोमवार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले मुख्य ६ वटा विषय उठान गरिएको बताए । उद्योग व्यवसाय प्रवद्र्धन, सहयोग तथा परामर्श, सामाजिक सुरक्षा, पर्यटन, औद्योगिक क्षेत्र पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वका विषयलाई घोषणा पत्रमा समेटिएको हो । यो टिमले उत्पादन, रोजगारी, प्रविधिमैत्री सहर तथा कृषि, पशु, बजारीकरण र जुडिबुटी प्रवद्र्धनका विषयलाई प्राथमिकता दिइने जनाइएको छ । खड्का टिमले पनि आफूहरू नेतृत्वमा आए व्यावसायिक हित, व्यवसायको संरक्षण र विकासमा उल्लेखनीय काम गर्ने दाबी गरेको छ ।

प्रकाशित मितिः   २९ चैत्र २०७८, मंगलवार ०५:०५