नेतालाई बालुवाटारबासीको सन्देश: यसपालि झुठा आश्वासन दिन नआउनु

सुर्खेत: स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूले चुनावी प्रचारका कार्यक्रम सुरु गरेका छन् । सबैजसो दलका नेता यतिबेला बस्ती–बस्तीमा मतदाता फकाउँदै छन् । फेरि पनि दलहरूको आश्वासन बाँड्ने ठाउँ बनेका छन्, विपन्न बस्ती । गरिबीले थलिएका नागरिकलाई प्रभावित बनाउने प्रयासमा नेताहरू छन् । मतदाता रिझाउने कसरतमा नेता लागिरहेका बेला वीरेन्द्रनगरको एउटा भूमिहीन दलित समुदाय भने आफूहरूको उचित व्यवस्थापनमा बेवास्ता गरिएको भन्दै असन्तुष्ट छ । वीरेन्द्रनगर–११ मा रहेको बालुवाटार बस्ती राजनीतिक पार्टी र नेताहरूप्रति आक्रोशित देखिएको हो । यहाँका बासिन्दाले नेताहरूलाई झुठा आश्वासन ल्याएर गाउँमा नआउन भनेका छन् ।

बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्छन् । वर्षाैंदेखि भोगचलन गर्दै आएको जमिन उनीहरूका नाममा छैन । भूमिहीन यो बस्तीको विगतदेखिकै मुख्य माग लालपुर्जा हो । तर, हरेक पटक लालपुर्जा दिलाउने नेताहरूका झुठा आश्वासनले उनीहरू आजित छन् । चुनावताका फकाउन बस्तीमा पुग्ने नेताले जितेपछि फर्किएर आफूहरूका समस्या सुन्न नआएको गुनासो बालुवाटारबासीको छ । बालुुवाटारमा बादी समुदाय बसोबास गर्न थालेको तीन दशकभन्दा बढी समय भयो । रोग, भोक, गरिबी र अनेक खालका अभावले जेलिएका यहाँका बासिन्दा सधैँ आश्वासन मात्रै पाउँछन् । दशकौंदेखि बस्दै आएको जमिन आफ्नो नाममा नहुँदा उनीहरू आधारभूत सेवा लिनबाट पनि वञ्चित छन् ।

शुक्रवार बस्तीमै भेटिएका बालुवाटारका रङ्गवीर गन्दर्भले नेताहरूप्रति आक्रोश जनाए । उनी भन्छन्, ‘हामीलाई नेताहरूले सधँै कठपुतली मात्र बनाए, चुनावअघि बोलेका कुरा कहिल्यै पूरा गरेनन् ।’ ६५ वर्षीय रङ्गवीर अब भने लालपुर्जा नपाएसम्म कसैलाई भोट नहाल्ने बताउँछन् । ‘म मात्रै होइन, हाम्रो यो बस्तीले भोट दिन्न,’ उनले भने, ‘चुुनावमा मात्र घर–घर धाउने अरुबेला वास्ता नै नगर्ने नेतालाई विश्वास गर्नु छैन ।’ यसअघिको चुनावमा निर्वाचित वडाअध्यक्षले भोट माग्न जाँदा बालुुवाटारलाई सुविधायुक्त बनाइनेछ भनेको रङ्गवीरले बिर्सिएका छैनन् । २०७४ को स्थानीय निर्वाचनमा मत माग्न जानेले मोटरबाटो, बस्ती नजिकै विद्यालय, बिजुली र स्वास्थ्यचौकी पु¥याउँछौ भनेका थिए । ‘एक पटक फर्किएर हाम्रा पीडा सुन्न त आएनन्, के–को विकास गर्थे,’ उनले भने ।

बालुवाटारमा यसपटक फेरि चुनावी चलहलपहल सुरु हुन थालेको छ । नेताहरू आश्वासन बोकेर बस्तीमा पुग्न थालेका हुन् । समुदायका अनुगवाहरूका अनुसार त्यहाँ अहिले पनि लालपुर्जा दिलाउँला भन्दै भोट माग्न थालिएको छ । पार्टी प्रवेश गराउन र समुदायलाई प्रभावित गर्न नेताहरूको दौडधुप हुने गरेको हो । विगतमा धेरै नेताले बसेको जमिन तिम्रै नाममा हुन्छ भने पनि कसैले आफूहरूलाई लालपुर्जाका लागि पहल नगरेको नन्नकली वैगारले सुनाइन् । ‘लालपुर्जा आउँछ–आउँछ भन्दाभन्दै कयौं वर्ष बिते,’ उनी भन्छिन्, ‘अब त आश पनि मरिसक्यो ।’ बालुवाटार बस्ती खोला किनारमा छ । ऐलानी यस बस्तीमा जीविकोपार्जनका लागि निकै संघर्ष गर्नुपर्छ । आफ्नो नाममा नभएकाले जग्गा धितो राखेर बैंकिङ वा अन्य कुनै काम गर्न पाइँदैन । सुरुमा आठ÷दश घरधुरी रहेको बस्तीमा पछिल्ला वर्षमा घरहरू थपिएका छन् । ‘हामीलाई अभावै अभाव छन्,’ नन्नकलीले बस्तीका टहरा देखाउँदै भनिन्, ‘नेता चुनावताका आउँछन्, सपना मात्रै देखाउछन् ।’ रङ्गवीरजस्तै उनलाई पनि यसपटक कसैलाई भोट हाल्नै मन छैन ।

स्थानीय तहको निर्वाचन आउन झन्डै एक महिना बाँकी छ । यसपालि भने बालुवाटारबासी जुर्मुराएका छन् । आफ्ना समस्याको सम्बोधन नगर्ने पार्टी र नेतालाई बहिष्कार गर्ने चेतावनी उनीहरूको छ । ‘लालपुर्जा दिलाउने आश्वासन दिन थालेको ३० वर्ष भयो,’ रङ्गवीरले सुमदायका पीडा सुनाउँदै भने, ‘अघिल्लो चुुनावमा भोट दिनुहोस्, तपाईंको दुःख देख्छौं भने खै त हाम्रो अवस्था जहाँको त्यहीँ छ ।’ स्थानीय सरकार बनेपछि उक्त बस्तीका नागरिकलाई ठूलो आश थियो । आँगनको सरकारले बस्तीमा सेवादेखि रोजगारीसम्म पु¥याउने ठानिएको थियो । तर, पाँच वर्ष हुनै लाग्दा पनि न बस्तीमा विकास पुग्यो न त त्यहाँका बासिन्दाको मुहारमा खुसी नै ।

बालुवाटार जीविकोपार्जनका लागि रोजगारी नपाएर छटपटाएको छ । घर नजिक विद्यालय नहुँदा बालबालिकाले पढ्न पाएका छैनन् । स्वास्थ्य उपचारको समस्या त्यस्तै छ । स्थानीय सरकारबाट पनि निराशाबाहेक केही नपाइएको सोही ठाउँकी कृष्णा योगी बताउँछिन् । ‘अब हामी हाम्रा माग पूरा नभएसम्म कसैलाई भोट हाल्नेवाला छैनौँ,’ कृष्णाले भनिन्, ‘पार्टी र तीनका नेताले अति नै गरे, एकजुट हुनुको विकल्प छैन ।’ बालुवाटारमा रहेका २७ मध्ये चार घर गैरदलित परिवारका छन् । उनीहरूको अवस्था पनि उस्तै नाजुक छ । मजदुुरी गरेर परिवारको गुजरा चलाउन पनि काम नपाइने गरेको उनले बताइन् । बालुुवाटार बस्तीकै हिमा बुढाले यसअघि भएका निर्वाचनका बेला नेताहरूले पटक–पटक बस्तीमा आएर झुक्याएकाले अब काम नगरी भोट नदिने बताइन् । ‘बिहान–साँझ छाक टार्न गिट्टी बालुवाको काम गथ्र्यौं । त्यो पनि ठूला–ठूला मेसिन आएपछि रोकिएको छ,’ उनले भनिन् । बस्तीका अधिकांश नागरिक पेट पाल्नकै लागि भारत जाने गरेको उनी बताउँछिन् ।

राजनीतिक दलहरूले निर्वाचनका बेला मात्रै लालपुर्जाका विषयलाई जोडतोडका साथ चुनावी एजेन्डा बनाउने गरेको आरोप लाग्ने गरेको छ । वीरेन्द्रनगर–११ वडा अध्यक्ष नन्दलाल शर्माले उक्त बस्तीका भूमिहीन नागरिकले छिटै लालपुर्जा पाउने दाबी गर्छन् । उनका अनुसार त्यसका लागि लगत संकलन गरेर राष्ट्रिय भूमि आयोगमा पठाइ सकिएको छ । शर्मा भन्छन्, ‘चुुनाव अघि त हुुँदैन, चुुनावलगत्तै सबैको हात–हातमा लालपुर्जा हुुनेछ ।’ बालुवाटारका २५ घरधुुरीको लालपुर्जाका लागि लगत संकलन भएको उनले जनाए ।

प्रकाशित मितिः   २५ चैत्र २०७८, शुक्रबार १०:१९