स्थानीय निर्वाचन २०७४ः फर्केर हेर्दा, जुम्ला

पालिकामा कांग्रेस, वडामा माओवादी

एउटा नगरपालिका र सात वटा गाउँपालिकासहित जुम्लामा आठ स्थानीय तह छन् । २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका आठमध्ये चार पालिकामा नेपाली कांग्रेसले जितेको थियो । सबैभन्दा धेरै पालिका प्रमुख जितेको कांग्रेसले उपप्रमुख र वडाअध्यक्षमा भने कम सिट पाएको छ ।

दुई वटा पालिकाको उपप्रमुखसहित १५ वडाअध्यक्ष कांग्रेसले जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले भने तीन वटा पालिकाको प्रमुख, पाँच उपप्रमुख र २५ वडाअध्यक्ष जितेको छ । एमालेले भने एउटा पालिका प्रमुख, एक उपप्रमुखिसहित १७ वडाअध्यक्ष जितेको तथ्याङ्क निर्वाचन आयोगको छ ।

जुम्लामा नेपाल मजदुर किसान पार्टीको पनि उपस्थिति देखिन्छ । उसले दुई वटा वडा जितेको छ भने केही पालिकाका प्रमुख र उपप्रमुखमा पनि उल्लेख्य मत पाएको छ ।
कनका सुन्दरी गाउँपालिका प्रमुख तीन पार्टीबीच प्रतिस्पर्धा हुँदा कांग्रेसका नरवीर रावतदुई हजार एक सय १३ मतसहित अध्यक्षमा निर्वाचित भए । माओवादीका राजजंग हमाल एक हजार आठ सय चार मतसहित दोस्रो र एमालेका गोपाल रोकाया तेस्रो स्थानमा रहे । उनले एक हजार तीन सय ५० मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै उर्मिला खत्री निर्वाचित हुँदा पाँच वडामा कांग्रेस, दुईमा माओवादी र एकमा एमालेले जितेका छन् ।

गुठिचौर गाउँपालिकामा भने माओवादीका हरिबहादुर भण्डारी अध्यक्ष निर्वाचित भएका छन् । भण्डारीले एक हजार पाँच सय ९६ मत पाउँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार चार सय ६७ र कांग्रेसका दानबहादुर बुढाले ६ सय ७९ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादीकै जानदेवी ऐडी विजयी भएका छिन् । वडामा भने कांग्रेस शून्य छ । एमालेले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेको हो ।

महिला नेतृत्व पाएको नगरपालिका हो, चन्दननाथ । उक्त नगरपालिकाको प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी हुन् । उनले दुई हजार आठ सय ६ मत पाएकी थिइन् । एमालेका शान्तिलाल महतले दुई हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले दुई हजार १५ मत पाएका थिए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने निर्वाचित भएकी छिन् । नगरपालिकाका १० वडामध्ये चार वटामा माओवादी, तीन वटामा एमाले र दुई वटामा कांग्रेसका उम्मेदवार विजयी हुँदा एउटामा भने स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए ।

तातोपानी गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपानेले दुई हजार तीन सय ९१ मत ल्याएर विजयी भए । एमालेका सुरतबहादुर शाहीले दुई हजार ७० मत पाएका थिए ।

उपाध्यक्षमा माओवादीकै गंगादेवी उपाध्याय निर्वाचित भइन् । यो पालिकाको वडाअध्यक्षमा पनि माओवादीकै बर्चस्व छ । उसले ६ वडाअध्यक्ष जितेको छ भने बाँकी दुई वटामा एमालेले जितेको छ ।

जुम्लामा एमालेले जितेको एउटा मात्रै पालिका हो, तिला गाउँपालिका । त्रिपक्षीय प्रतिस्पर्धा हुँदा अध्यक्षमा रतननाथ योगी एक हजार सात सय ६८ मतसहित विजयी भए । दोस्रो स्थानमा रहेका माओवादीका जंगबहादुर बस्नेतले एक हजार सात सय ४४ र तेस्रो स्थानमा कांग्रेसका कल्से रावतले एक हजार पाँच सय ५५ मत पाएका थिए ।

उपाध्यक्षमा भने माओवादीकी विष्णुमाया बुढा निर्वाचित भएकी छिन् । पालिकाका नौमध्ये चार वडाअध्यक्ष माओवादी, तीन एमाले र दुई कांग्रेसले जितेका छन् ।

पातारासी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । अध्यक्षमा दुई हजार तीन सय ११ मत पाएर लक्षीमान बोहोरा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादीका गौरी बुढाले एक हजार नौ सय २२ र एमालेका हंसबहादुर रोकायले पाँच सय ७० मत पाएका थिए ।

उपाध्यक्षमा पुन्नकली महतराले जितेकी छिन् । कांग्रेस र माओवादीले तीन÷तीन वडाअध्यक्ष जित्दा एमालेले एउटा मात्रै जितेको छ ।

सिंजा गाउँपालिकामा नेपाली कांग्रेसलाई नेपाल मजदुर किसान पार्टीले चुनौती दिएको थियो । अध्यक्षमा कांग्रेसका देवलसिंह रावलले एक हजार चार सय ३० मत ल्याएर निर्वाचित हुँदा एक हजार दुई सय तीन मतसहित नेमकिपाका पूर्णप्रसाद धिताल दोस्रो स्थानमा रहे ।

माओवादीका हिक्मत खत्रीले एक हजार एक सय ६३ र एमालेका नन्दराम रोकायले एक हजार एक सय ४० मत पाएका थिए । उपाध्यक्षमा भने एमालेकी जन्मकन्या खत्रीले एक हजार पाँच सय चार मत पाएर निर्वाचित भएकी छिन् ।

सिंजामा दुई÷दुई वडाको अध्यक्ष एमाले र नेपाल मजदुर किसान पार्टीले जितेका छन् भने माओवादी र कांग्रेसले एक÷एकमा जितेका छन् ।

हिमा गाउँपालिकाको अध्यक्षमा तीन मतको अन्तर छ । माओवादीका रजबहादुर शाहीले एक हजार तीन सय १७ मत ल्याएर अध्यक्ष निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले तीन मत कम अर्थात् एक हजार तीन सय १४ मत पाएका थिए । कांग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार दुई सय २२ मत पाएका छन् । उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकाया छिन् । सात वडामध्ये चारमा माओवादी, दुईमा एमाले र एकमा कांग्रेसका उम्मेदवारले निर्वाचत जितेका थिए ।

 

प्रकाशित मितिः   २५ चैत्र २०७८, शुक्रबार ०५:०४