हुलाक सेवा सुधारमा जोड

सुर्खेत, २० फागुन । (साबिस)
परम्परागत शैलीमा सञ्चालन भएकाले हुलाक सेवा प्रभावकारी हुन नसकेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको आयोजनामा बिहीवार भएको क्षेत्रीय गोष्ठीका सहभागीहरूले हुलाक सेवा सुधारमा जोड दिएका हुन् । गोष्ठीको प्रमखु अतिथि हुलाक सेवा विभागका निर्देशक बद्रीनाथ गैरेले परम्परागत सेवालाई आधुनीकरण नगरेसम्म सेवाग्राहीलाई सेवा दिन नसकिने बताए ।  हुलाक बचत बैंक र टेली सेन्टरबाट हुलाकलाई आधुनिकरण गर्न सकिने भन्दै गैरेले सरकारले आवश्यक बजेट व्यवस्था गर्नुपर्ने माग गरे । हुलाक कार्यालयहरूमा जनशक्तिको व्यवस्थापनमा देखिएको चुनौती अब समाधान गर्नुपर्नेमा जोड दिए । उनले यस्ता चुनौतीहरूको समयमा नै समाधान गर्नुपर्ने बताए । 
क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत शोभा अधिकारीले यस्ता गोष्ठीले मूल्याङ्कन तथा अवसर सृजना गर्ने बताइन् । यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्षले दीपक बुढाले क्षेत्रीय सदरमुकामको हैसियतले सुर्खेतमै सूचना विभाग स्थापना गर्नुपर्ने सुझाव दिए । क्षेत्रीय हुलाक निर्देशनालय मध्यपश्चिम सुर्खेतका निर्देशक लोकबहादुर सुनारको सभापतित्वमा कार्यक्रम सम्पनन भएको हो ।
प्रकाशित मितिः   २१ फाल्गुन २०७२, शुक्रबार १०:२९