बालविवाह विरुद्ध किशोरी भेला
सुर्खेत, २० फागुन । (साबिस)
‘सक्षम किशोरी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ बालविवाह विरुद्ध किशोरी सम्मेलन बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय र सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) को आयोजना तथा अक्सफामको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
किशोरी सम्मेलनमा विभिन्न विद्यालयबाट सहभागी भएका किशोरी विद्यार्थीहरूले सम्बन्धित निकाय वा सरोकारवालालाई प्रश्न राखेका थिए । भेरीगंगा नगरपालिका–१५ की देवी शाहीले राजनीतिक दलहरूले बालबालिकालाई आन्दोलनमा हतियारको रूपमा प्रयोग गर्ने गरेको गुनासो गरिन् । पढाइ छुटाएर आन्दोलनमा बालबालिकाको प्रयोग गर्ने गरे पनि बालबालिकाका सवालमा दलहरू गम्भीर बन्न नसकेको आरोप उनको थियो । बालविवाह न्यूनीकरणका लागि दलहरूले पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । त्यस्तै खानीखोलाकी प्रतिभा थापा मगरले बालविवाह न्यूनीकरणमा प्रहरीको भूमिकाबारे जिज्ञासा राखेकी थिइन् । उनले जिल्ला शिक्षा कार्यालयले मावि र निमावि तहमा अध्ययन गर्ने विद्यार्थीले नै बालविवाह गरिरहँदा कुनै ध्यान नदिएको समेत बताइन् । उनले भनिन् ‘विद्यालयमा बालविवाह गरी सिन्दुर लगाएर आउनेलाई किन कारवाही गर्न सकिँदैन ?’ कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले सहभागीहरूले सोधेको प्रश्नको जवाफ दिँदै बालविवाह न्यूनीकरणमा बालबालिका नै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । बालअधिकार र बालविवाह न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनको भनाइ थियो । उनले भने, ‘बालविवाह न्यूनीकरणमा एक्लो व्यक्ति र एक्लो संस्था मात्र अग्रसर भएर हुँदैन यो अभियानलाई सबै मिलेर अगाडि बढाउन जरुरी छ, त्यसको लागि हाम्रो कार्यालय सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।